भदौमा बिम्स्टेक सम्मेलन

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७५

काठमाडौं, ३२ असार। समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते मुलुकको संघीय राजधानी काठमाडौंमा हुने भएको छ।

नयाँ संविधान जारी भएपछि त्यसैअनुरुप तीनवटै तहका निर्वाचन सम्पन्न भई देश राजनीतिक स्थायित्व र विकासको मार्गमा अग्रसर भएका बेला उपक्षेत्रीय संगठनका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको  शिखर बैठक गराउन समर्थ हुनु नेपालको कूटनीतिक सफलता एवं परिपक्वता हो। चार वर्षअघि म्यान्माको राजधानी नेपिटोमा सम्पन्न तेस्रो शिखर सम्मेलनदेखि बिम्स्टेकको अध्यक्ष रहेको नेपालले लामो राजनीतिक संक्रमण व्यवस्थापनलगायत विविध कारणले आयोजना गर्न सकेको थिएन।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क), बिम्स्टेक र बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन (बीबीआईएन) जस्ता क्षेत्रीय र उपक्षेत्रीय संगठनहरुमा नेपालको सक्रिय सहभागिताले देशको गौरव र गरिमा मात्र बढाएको छैन ती संस्थाले निर्धारण गरेका अर्थपूर्ण सहयोगका क्षेत्रहरु पहिल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिण पूर्र्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको उक्त मितिमा हुने चौँथौ शिखर बैठकमा सहभागी हुन सबै सदस्य देशले औपचारिक सहमति जनाएका छन्। भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुनेछ भने त्यसअघि भदौ १२ गते उक्त संगठनको सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी -एसओएम) को बैठक सुनिश्चित भएको छ। भारत, भूटान, बंगालदेश, म्यान्मा, श्रीलंका, थाइल्याण्ड र नेपाल सदस्य रहेको बिम्स्टेकले सदस्य देशको गरिबी घटाउने तथा जल, स्थल र नवमार्गबाट सर्म्पर्कका सञ्जाललाई घनिभूत तुल्याएर आर्थिक समृद्धिको पथमा अग्रसर हुन विशेष निर्णय गर्ने विश्वास परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली व्यक्त गर्दछन्।

गरिबी निवारण, अन्तरदेशीय अपराध नियन्त्रण, जलवायु परिवर्तन र त्यसका दुष्प्रभाव कम गर्ने तथा विद्युत् प्रसारण लाइन, सञ्चारका साथै रेल र सडक सञ्जालले सदस्य देशलाई समेट्ने विषयमा नै बिम्स्टेकको चौँथौ शिखर सम्मेलन केन्द्रित हुने उनी बताउँछन् ।

राजधानी शहरको साजसज्जा, सम्मेलनका मूलभूत विषय र सम्मेलन स्थल, अतिथि सत्कारलगायत व्यवस्थापकीय कार्य निर्वाध सम्पादन गर्न प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा नेपाल सरकारका सचिवहरुको संयोजकत्वमा विविध विषयगत समिति क्रियाशील भएका छन्।

बिम्स्टेक राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई अब प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष देशका हैसियतमा औपचारिक निमन्त्रणा सम्प्रेषण गर्नुहुनेछ भने एकसाता अघि कोलम्बोमा भएको सदस्य देशका बाहृयमामिला मन्त्रालयका उच्च अधिकारीको बैठकले बैठकको कार्यसूचीलाई अन्तिमरुप दिएको छ।

बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा केन्द्रित रहेर काम गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width