देशभर वर्षा, बाढी पहिरोमा १३ को मृत्यु

आदर्श समाज सम्वाददाता
असार १९, २०७५

पोखरा, १८ असार ।  अविरल वर्षापछि आएको बाढीपहिरोमा परी सोमबार देशभर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् । घर पुरिँदा एउटै परिवारका ३ जनाको मृत्यु भएको छ ।

रोल्पाको रुन्टिगढी गाउँपालिका- ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको थियो भने १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

पहिरोका कारण बाँकेमा ४, कैलाली, सिन्धुली, चितवन, पर्सा महोत्तरी र काठमाडौंमा १-१ जनाको ज्यान गएको हो ।

बाँकेमा विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका-३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका-५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका-४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका-२ का चार वर्षीया रिमादेवी यादव छन् ।

गएरातिदेखिको अविरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका-९ धनचौरी गाउँमा घर भत्किँदा १ परिवारको च्यापिएर १ महिलाको मृत्यु भएको हो । अर्का १ जना घाइते भएका छन् ।

गोदाबरी नगरपालिका-९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उनकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । काठमाडौंमा धर्मस्थली खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने बाँके र पर्सा १-१ जना बेपत्ता छन् । पर्साको पर्साढी नगरपालिका-४ मा थनती खोलाको बाढीले बगाउँदा १ किशोरीको मृत्यु भएको छ भने १ बेपत्ता भएका छन् । मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोही खोलाले बगाउँदा १५ वर्षीया संगीता चौरासिया बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै १५ वर्षीय सुमन पासवानलाई बाढीले बगाउँदै गर्दा जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । तीन दिनदेखिको अविरल वर्षाका कारण सो खोलामा बाढी आएको हो । चारै जना बरबाछतौली माविमा कक्षा ९ को परीक्षा दिएर घर र्फकँदै थिए ।

लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिर्द्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् ।

पहिरोले अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुर्इतर्फीरुपमा सञ्चालनमा आएको छ । सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक साँझ ७: ५० बजेबाट सञ्चालनमा आएको हो ।

उता, सिर्द्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा गएराति पहिरो खस्दा अवरुद्ध बनेको बुटवल-तानसेन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आइतबार राति करिब ११ बजे सिर्द्धार्थ राजमार्गको तिनाउ गाउँपालिका-३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहान डोजर लगाएर पहिरो हटाइएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width