रूपा गाउँपालिकाको बजेट ३३ करोड

आदर्श समाज सम्वाददाता
असार १०, २०७५

पोखरा, ९ असार । कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका कार्यालयले शनिबार आगामी आवको लागि ३२ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । विभिन्न आकर्षक योजना समेटिएको सो बजेट गाउँपालिका अध्यक्ष नवराज ओझाले सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्च ३ करोड ३५ लाख र पुँजीगत ११ करोड ५ लाख रुपैयाँ रहेको छ ।

आयतर्फ आन्तरिक आम्दानी ५८ लाख, राजश्व बाँडफाँड केन्द्र ४ करोड ४० लाख, राजश्व बाँडफाँड प्राप्त प्रदेश १९ लाख ३२ हजार, अन्य आय १ करोड ८८ लाख रुपैयाँ छ । वित्तीय समानिकरणबाट ६ करोड २१ लाख, सशर्त अनुदान १२ करोड ८७ लाख, प्रदेश सरकारबाट १ करोड १२ लाख, सामाजिक सुरक्षा अनुदान ५ करोड ५० लाख रुपैयाँ छ ।

यस्तै, सशर्त अनुदान १२ करोड ८७ लाख र सामाजिक सुरक्षा भत्तामा ५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

विगतको गाविस तुलनामा नयाँ जनप्रतिनिधिपछि ३ सय प्रतिशतले आन्तरिक आम्दानी वृद्धि भएको र आगामी वर्ष दोब्बर बनाउने लक्ष्य राखिएको छ ।  बजेटमार्फत रुपाको समृद्धिको आधार वर्षको रुपमा उत्पादनमूलक र लगानीमैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिँदै संचित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताए ।

गाउँ छाडी विदेश जाने युवालाई स्वदेशमै आकषिर्त गर्न सहकारीको ढाँचामा न्यून व्याजदरमा ऋण उपलब्ध गराई आवश्यक सीप सिकाउने योजना बजेटले समेटेको छ । जसको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, गाउँपालिकाभित्र कृषियोग्य तर अनुत्पादक रुपमा रहेको बाँझो जग्गा सही सदुपयोग गर्न गाउँपालिकाले भूमिबैंकको अवधारणा ल्याएको छ । जग्गा बाँझो राख्ने कार्य निरुत्साहित गर्न आवश्यक करको संशोधन गरी दोब्बर गरिएको छ भने त्यस्ता बाँझो जग्गा गाउँपालिकालाई निश्चित अवधिको लागि निश्चित दरमा भूमि बैंकमा राख्न सकिने योजना छ ।

यसको लागि लगानीमैत्री वातावरण बनाई उद्योगी तथा व्यवसायीलाई आकषिर्त गरिने नीति सहित २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटकीय क्षेत्रका पूर्वाधार किासको लागि विभिन्न गाउँमा होम स्टे विकास गर्ने योजना छ ।

दुग्ध उत्पादन, मासुजन्य उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाउने, गाउँपालिका भित्र उद्योग ग्राम स्थापना गर्न प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने गाउँपालिका अध्यक्ष ओझाले बजेट वक्तव्यमार्फत उल्लेख गरे ।

यस्तै, एक घर, एक धारा निर्माण गर्न यो वर्षलाई खानेपानीको वर्षको रुपमा मनाउने, नागरिकको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्य चौकीले प्रदान गर्ने सेवामा गुणस्तर कायम गर्ने, स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलाललाई १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने, हरेक नागरिकको स्वास्थ्य बिमा अभ्रि्रेरित गर्ने, बालबालिकाको खोप सुनिश्चित गर्ने योजना समेटिएको छ ।

गाउँलाई शैक्षिक हवको रुपमा विकास गर्ने, प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहित गर्दै ‘एक विद्यालय, एक प्रोजेक्टर’ व्यवस्थापन गर्ने, हरेक वडामा एक खेलकुद मैदान निर्माणका लागि समेत बजेट विनियोजित छ ।

पूर्वाधार विकासतर्फ गाउँपालिकाका रणनीतिक महत्वका मुख्य सडकतर्फ शिशुवा पोल्याङटार, रुपाकोट थुम्की र वेगनास, भोलेटार, रुपा रिङरोड हाङगेबाङगे, शिवचण्डी मोटरबाटो केन्द्र र प्रदेशको योजनामा समावेश गरी यसै वर्षबाट स्तरोन्नति तथा पिचको काम अघि बढाइने, फालभञ्ज्याङ जोड्ने रामकोट मोटरबाटो स्तरोन्नतिको लागि पनि बजेट विनियोजित छ । यो वर्ष नयाँ ट्रयाक नखोल्ने र भएकालाई स्तरोन्नति गर्ने नीति गाउँपालिकाले लिएको छ ।

स्मार्ट गाउँपालिका बनाउने, काठेपोल विस्थापित गर्ने, वैकल्पिक उर्जामार्फत सिचाइ र खानेपानीका योजना संचालन गर्ने व्यवस्था गरिएको छ ।

बजेटमा पर्यटन विकासतर्फ ३० लाख, पशु विकासतर्फ १३ लाख, कृषि विकासतर्फ ४५ लाख, सहकारीतर्फ५५ लाख, उद्योगग्राम स्थापनामा ९ लाख, सामाजिक समावेशीकरण र सुरक्षामा १२ लाख, लैंगिक तथा बालबालिका समावेशीकरणमा ९ लाख, संस्कृति प्रवर्द्धनमा १३ लाख, खानेपानी तथा सरसफाइमा १४ करोड, स्वास्थ्यमा ३० लाख,  युवा तथा खेलकुदमा १५ लाख, शिक्षामा ३० लाख, श्रम तथा रोजगारीसम्बन्धी तालिममा ५ लाख, विज्ञान प्रविधिमा १५ लाख, सिँचाइमा २२ लाख, सडकतर्फ १ करोड ३० लाख, काठेपुल विस्थापनमा ३० लाख बजेट विनियोजित छ ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले बजेट कार्यान्वयनमा जोड दिए । उनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त भइ विकास र समृद्धिको बाटोमा अघि बढेकोले ५ वर्षसम्म आफूहरुलाई ढुक्कसँग काम गर्ने वातावरण दिनुपर्ने बताए । उनले विकास निर्माणका कार्यमा इमान्दारितापूर्वक काम नगर्नेलाई कारबाहीको भागीदार बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश सदस्य दीपक कोइरालाले केन्द्र, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा विकास निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले हरेक स्थानीय तहमा उद्योग ग्राम स्थापना गरी रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष काँग्रेस नेता प्रकाशमोहन खनाल, नेकपाका सभावक्स मियाँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बोर्ड सदस्य टीकाराम पंगेनी, देउरालीका पूर्व गाविस अध्यक्ष हस्तकुमार श्रेष्ठ, काँग्रेस जिल्ला सदस्य नारायण श्रेष्ठ, नेकपा नेतृ निर्मला सुवेदी, रुपा-पोखरा सर्म्पर्क मञ्चका अध्यक्ष रोशन गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङ र सञ्चालन गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत हरिबहादुर भुजेलले गरेका थिए । कार्यक्रमबीच गाउँपालिकाका कुल ७ वडामा विकास निर्माणका काम समयमा नै सम्पन्न गर्ने विभिन्न उपभोक्ता समितिका तर्फबाट संयोजकलाई ५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यस्तै, गाउँपालिका वडा ६ का वडाध्यक्ष नारायण गुरुङलाई उत्कृष्ट वडाध्यक्ष र वडा ५ का वडासदस्य राजन खनाललाई उत्कष्ट वडा सदस्यको रुपमा नगदसहित सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width