मुस्ताङ, १२ जेठ । सेतो र रातो माटोले लिपेको घर । माटोकै छाना र छानामाथि दाउराको चाङ । ढुंगा बिछ्याइएको आँगन र ढुंगैको बाटो । घासाबाट उकालो लागेपछि उपल्लो मुस्ताङको छोसेरसम्म सबैजसो घरको छानामा लस्करै दाउराको चाङ देखिन्छन् ।
‘पहिले गाउँमा अधिक हिउँ पर्थ्यो । महिनौंसम्म घरबाट निस्किन सकिँदैनथ्यो । त्यसैले हिउँदभरीलाई पुग्ने दाउरा पनि बर्खामै जोहो गरिसक्नुपर्थ्यो,’ मुस्ताङ छैंरोका विनोद थकाली आफ्नो विगतको अनुभव सुनाउँदै भन्छन्, ‘हिउँदको लागि दाउरा खोज्न महिनौंसम्म वन धाउँथ्यौं । हिउँ पर्न थालेपछि छानामा थुपारेको दाउरा झिकेर आगो बाल्ने चलन थियो ।’
घरमाथि दाउरा राख्नुलाई मुस्ताङीहरु परम्परागत प्रतिष्ठाको रुपमा हेर्छन् । एक समय छानामा दाउराको खलियो हेरेर विहेवारीका कुरा टुंगिन्थे । थकालीका अनुसार मुस्ताङमा मान्छेको आर्थिक अवस्थाका आधारमा दाउराले छत ढाक्ने छलन छ । उपल्लो मुस्ताङमा चाहीँ घोडा खच्चडको संख्याले सम्पन्नता जाँचिन्छ । ‘धेरै सम्पत्ति हुनेहरुको घरको पूरै छाना दाउराले सजिन्छन् । आम्दानी कम हुनेहरुको चाहीँ दाउराको चाङ पनि सानै हुन्थे,’ उनले थपे, ‘घरको छत हेरेर मान्छेको सम्पत्ति सजिलै बुझ्न सकिन्थ्यो । कतिपय विहे छानाको दाउराले पनि जुराएको छ ।’ छानामा दाउरा सजाउन पहिले-पहिले प्रतिष्पर्धा नै हुने उनले सुनाए ।
घरको छतमा दाउरा सजाउने मुस्ताङीको चलन निकै पुरानो हो । मुस्ताङका घरजति माटो र काठबाट बन्छन् -छाना समेत) । माटोकै छानामाथि दाउराको लस्कर सजाउने चलन अहिले पनि हटिसकेको छैन । छतमा दाउराको खलियो बनाउँदा एकातिर घरको सुन्दरता बढेको छ भने अकोर्तिर छतबाट पानी चुहिने समस्या हुँदैन । दाउरा थुपार्ने सँस्कृतिमा पर्यटकको पनि चासो बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । मार्फाका होटल व्यवसायी कालबहादुर लालचनका अनुसार मार्फा छिर्ने अधिकांश पर्यटकको रोजाइमा पुराना मोडलका घर र दाउराको सजावट पर्ने गरेको छ ।
दाउरे सँस्कृति मुस्ताङको पहिचान हो । ‘पछिल्लो समय मार्फामा पर्यटक खासै छिर्दैनन् । गाडी र प्लेनबाट सिधैँ जोमसोम हुइंकिन्छन्,’ उनले भने, ‘पुराना परम्परा रुचाउनेहरु चाहीँ फर्की फर्की मार्फा आउँछन् ।’ लालचनको घरको छानामाथि पनि ८० वर्षअघि देखिको दाउरा सुरक्षित छ । ‘पहिले पानी पर्दैनथ्यो । हिउँले दाउरा कुँहिदैन,’ उनी भन्छन्, ‘मार्फामा २ सय वर्ष पुराना दाउरा पनि छन् । तर अब पानी पर्न थाल्यो घरै जोगाउने समस्या छ । दाउरा कसरी बचाउँनु ।’
जलवायु परिवर्तनको असर हिमाली जिल्लाहरुमा निकै बढेको छ । उनको अनुभवमा अचेल मुस्ताङमा हिउँभन्दा पानी धेरै पर्छ । ‘शुरुमा विकास देखेको एयरपोर्ट हो । त्यै पनि कहिलेकाहीँ हिउँ धेरै परेर प्लेन आउजाउ नै रोकिन्थ्यो । कति पटक त गाउँले उल्टेर हिउँ फालेको अझै सम्झिन्छु,’ उनले थपे, ‘अचेल त हिउँ निलगिरीको डाँडाबाट तल झर्दैन । पानी धेरै वर्षेर घर भत्किन थालिसके ।’ मार्फा र आसपासमा बोटविरुवा पनि निकै बढेको स्थानीयको भनाइ छ । खासगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले काम गर्न थालेपछि मुस्ताङको माथिल्लो क्षेत्रसम्म विरुवा हुर्किन थालेको उनीहरु बताउँछन् ।
मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीले मुस्ताङ जिल्लाका उपल्लो भागसम्म पनि पानी पर्ने क्रम शुरु भैसकेको बताए । ‘अधिकांश घरहरु सखर माटोले बनेका हुन् । पानी परेपछि घर पग्लिन थालेको छ,’ उनले भने, ‘अचेल सुरक्षाका लागि गाउँलेले ढलान घर बनाउन थालिसके । अब पुराना संरचना जोगाउन निकै मुस्किल छ ।’ जलवायु परिवर्तनकै असरले पुराना घरहरु विस्तापित हुने खतरा बढेको उनले बताए । यद्यपि अहिले पनि ९० प्रतिशतभन्दा धेरै घरहरु माटोकै छन् । मुस्ताङका घरमाथि दाउरा राख्ने चलनबारे अझै पनि स्पष्ट तथ्यांक पाउन सकिँदैन । स्थानीयको अनुभवले चाहीँ यसको इतिहास निकै लामो जनाउँछ । जिल्लाका प्रत्येक गाउँमा गाउँले र वन उपभोक्ता समितिको समन्वयमा वर्षेनी एक सिजन जंगलबाट सुकेका दाउरा जम्मा गर्ने अनुमति पाइन्छ ।
आधुनिकीकरणसँगै मुस्ताङका होटल रेष्टुरेन्टदेखि सर्वसाधारणको घरमा पनि अहिले ग्यास प्रयोग गर्ने दर बढ्दो छ । जसका कारण दाउराको खपत खासै हुँदैन । अहिले कुल उर्जामध्ये ७० प्रतिशत हाराहारीमा दाउराको खपत हुने तथ्यांक छ । दाउरा खोज्ने झण्झट र ढुवानीको समस्याले लामो समयदेखि छानामाथिको दाउरा फेरवदल भएको छैन । मुस्ताङमा एक जोडी झोपाले बोक्ने दाउरालाई ३ हजार रुपैयाँ पर्छ ।
एक जोडी झोपाले चलनचल्तीको ४ भारी दाउरा बोक्छ । आधुनिकीकरण र बढ्दो जलवायु परिवर्तनका कारण विस्तारै मुस्ताङको पहिचान धरापमा पर्न थालेको छ । यसबारे स्थानीयस्तरमा पनि छलफल र बहस भैरहेको अगुवाहरुले बताए ।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९