पर्यटनमा साझेदारी बढाउँदै फेवा-रारा

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५

मुगु, १० जेठ । पर्यटकीय नगरी पोखराको फेवातालसँग नेपालको सबैभन्दा ठूलो एवम् सुन्दर ताल राराबीच वातावरण एवम् पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले पर्यटकीय साझेदारिताको पहल शुरु गरेका छन्।

दिगो वातावरण संरक्षण एवम् पर्यटन व्यवसाय लगायतका विषयमा सरोकार राख्ने विभिन्न संघसंस्थाले विगत तीन वर्षयता सञ्चालनमा ल्याएको फेवा-रारा अभियानले पर्यटन साझेदारिताको कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ।

दशकौँदेखिको यथेष्ट प्रचार र आवश्यक भौतिक संरचना तयार भई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको फेवातालको तुलनामा विकटताका कारण पर्यटकीय गन्तव्य बन्न नसकेको रारा ताल पछिल्लो समय आन्तरिक एवम् बाहृय पर्यटकको रोजाइमा पर्न थालेको छ। चारैर्तर्फबाट सल्लाघारीको हरियाली पहाडको घेराभित्र अवस्थित स्र्वर्गकी अप्सराको उपनामले परिचित रारा तालको सुन्दरताले त्यस क्षेत्र पुग्ने जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने गरेको फेवादेखि रारा तालसम्मको स्थानको अध्ययन अवलोकन गर्न उक्त स्थानमा पुगेका सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालीदाश सुवेदीले बताए।

“प्राकृतिक एवम् मानवीय अतिक्रमणका कारण दिनप्रतिदिन खुम्चँदै गएको फेवालगायत मुलुकका जैविक विविधता तथा तालतलैयाको उचित संरक्षणका लागि राराबाट धेरै सिक्न सकिन्छ,” उनले भने, “प्राकृतिक स्रोत, साधन एवम् जैविक विविधता र वातावरण संरक्षणसँगै रारा ताल नजिकै सल्लेरीसम्म मोटर बाटो पुगेका कारण उक्त क्षेत्र आन्तरिक एवम् बाहृय पर्यटकको आकर्षक गन्तव्य त बनेकै छ, यहाँको विकास स्थानीयवासीको जीविकोपार्जनसँग जोडिनु आवश्यक छ।”

समुद्री सतहबाट २ हजार ९ सय ९० मिटरको उचाइमा अवस्थित रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ।

पर्यटकलाई लक्ष्य गरी घरबास

रारा राष्ट्रिय निकुञ्जको संरक्षणमा रहेको सो तालको पूर्वमा रहेको पानीको निकास सँगैको छायानाथ रारा नगरपालिका-९ मा रारा मुर्मा घरबास कार्यक्रम सञ्चालन गरिएको छ। २०७४ माघ देखि सञ्चालनमा आएको यो घरबासका लागि नेपाल पर्यटन बोर्डको रु २० लाख र स्थानीय युवाको रु ३० लाखसहित कूल रु ५० लाखको लागतमा विभिन्न संरचना निर्माण गरिएको रारा मुर्मा होमस्टे सञ्चालक समितिका कोषाध्यक्ष रत्नसिंह रोकाहाले जानकारी दिए।

उनका अनुसार घरबास कार्यक्रमअर्न्तर्गत विद्यमान भौतिक संरचनाअनुसार घरमा ६० र त्रिपालमा २० जना राख्न सक्ने क्षमता छ। घरबासमा हालसम्म स्वीट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलियालगायतका विभिन्न मुलुकका दुर्इ दर्जनसहित करीब १ हजार जना बास बसिसकेका छन्।

रारा ताल किनारामा घोडा सयर

रारा ताल पुग्ने आन्तरिक एवम् बाहृय पर्यटकका लागि गाडी पुग्ने स्थान सल्लेरीदेखि तालका किनारामा रहेका होटल वा घरबास स्थलसम्म पुग्नका लागि घोडा सयर यहाँको अर्को विशिष्टता हो।

हिँड्न असहज हुनेका लागि निकै सहयोगी घोडा सयर मनोरञ्जनको पनि महत्वपूर्ण पाटो बन्नाका साथै स्थानीयवासीको आयआर्जनको माध्यम बनेको मुर्माकी घोडा व्यवसायी १६ वर्षीय हीरा रोकाया बताउँछन् ।

रारा तालमा डुङ्गा सयर

नेपालको सबैभन्दा ठूलो एवम् उच्च स्थानमा रहेको सुन्दर र सफा हुँदाहुँदै पनि नीलो कञ्चन पानीमाथि डुङ्गा सयर गर्न पाउँदा पर्यटकको मन रमाउने गर्दछ। रारा तालको पूर्वपट्टि सञ्चालित दुर्इ वटा होटल र रारा राष्ट्रिय निकुञ्ज रहेको स्थानमा डुङ्गा घाट छ। त्यहाँबाट ४५ मिनेटको डुङ्गा सयर पछि पर्यटकहरू तालको पश्चिमतर्फ आइपुग्छन्। डुङ्गा चढेको प्रतिव्यक्तिसँग रु ५ सय लिने गरिएको डुङ्गा चालक भक्तबहादुर रोकायाले जानकारी दिए ।

पर्यटकको आगमन बढेसँगै ताल किनारा र आसपासका क्षेत्रमा होटेल व्यवसायको आकर्षण देखिएको छ। रारामा बढ्दै गएको पर्यटकीय चहलपहललाई लक्ष्य गरी पोखराका पर्यटनसम्बद्ध संस्थाले साझेदारी बढाए जस्तै अन्य ताल एवम् पर्यटकीय स्थलले पनि आफ्नो पर्यटकीय सम्बन्ध रारासँग जोडिनु आवश्यक रहेको व्यवसायीको धारणा छ।

नेपालगञ्जको कोहोलपुरबाट सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै रारा ताल पुग्न सकिन्छ। सुर्खेत, कालीकोट हुँदै जुम्ला नाङ्मासम्म अधिकांश बाटो पक्की भए पनि सो स्थानदेखि तालसम्मै कच्ची हुँदा आवतजावतमा कठिनाइ भने हुने गरेको छ । रासस

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग