मनिपाल अस्पताल : कर्मचारी-प्रशासनको सधैँ किचलो

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७५
manipal

पोखरा, ८ जेठ। कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा इमरजेन्सी बाहेकका अरु सेवा ठप्प छ। अस्पतालको आचारसंहिताविपरीत काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ मोर्चाबन्दी गरेर हड्तालमा उत्रिएका छन्।

अस्पतालको फार्मेसीमा काम गर्ने रमेश बोहरा, उनकी श्रीमती हेलेन पन्त, नीलकण्ठ भट्टराई, टेकबहादुर विक, उनकी श्रीमती मञ्जु विक र लेखा शाखामा काम गरिरहेकी अल्पना ठाकुरलाई प्रशासनमा जानकारी नदिई कम्पनी खोलेर औषधि ब्यापार गरेको आरोप छ।

बोहराकी श्रीमती हेलेन चाहीँ मनिपालकी कर्मचारी होइनन्। उनैलाई देखाएर कर्मचारीले ब्यापार गरेको अस्पतालले जनाएको छ। ‘पहिले पनि कहिलेकाहीँ सुनिएको हो। खासै चासो दिइएन,’ अस्पताल प्रशासन प्रमुख भानु भारध्वजले भने, ‘धेरै नै गुनासो आएपछि स्पेशल कमिटी बनाएर अनुसन्धान गर्‍यौं। वहाँहरुले अरु पनि व्यक्तिहरुसँग मिलेर कम्पनी खोल्नुभएको थाहा भयो।’ कर्मचारी भएर अस्पतालमै नोक्सान हुने गतिविधि मान्य नहुने उनी बताउँछन्। ‘गलत मनसायले काम गर्ने कसैलाई पनि अस्पतालले छुट दिँदैन। आन्दोलनको भरमा पुर्नर्वहाली हुने आश नगरे हुन्छ,’ उनले थपे, ‘आफ्ना व्यक्तिगत स्वार्थका लागि हजारौं बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन। यो सरासर कानूनविपरीत काम भैरहेको छ।’

अस्पतालमै काम गर्ने कर्मचारीले सिण्डिकेटलाई बढावा दिने गरी फार्मेसी चलाएको उनको आरोप छ। प्रतिवेदनका अनुसार निष्कासनमा परेका कर्मचारीहरु मिलेर सन् २०१० मै एनआरटी मेडिसेल्स र एनआरटी सर्जिकल गरी दुर्इवटा कम्पनी चलाएको भेटिएको छ। गलत काम गरेको प्रतिवेदन पाएपछि मनिपालले दुर्इवटै कम्पनीलाई ब्ल्याक लिष्टमा राखेर कर्मचारीलाई जागिरबाट हटायो। मनिपालमा औषधि दिने २५ वटा सप्लायर्स छन्। तर कर्मचारीले चलाएका २ वटा कम्पनीले अरुलाई निषेध गरेर आफ्नो व्यापार बढाएको अस्पताल प्रशासन बताउँछ। वाषिर्क २० करोड हाराहारीमा औषधि कारोबार हुने मनिपालको फार्मेसीबाट उपचार सामग्री किन्दा बजारभाउ भन्दा ५ देखि २० प्रतिशतसम्म बढी मूल्य तिर्नुपरेको गुनासो बिरामीहरुको छ। तर नियमक निकायले ध्यान नदिँदा उपभोक्ता दिनहुँ ठगिने क्रम बढ्दो छ।

औषधि सप्लाईको जिम्मा लिएका रमेश बोहराले चाहीँ कम्पनी अनुसार मूल्य फरक पर्ने सुनाए। सरकारी अस्पतालमा सस्तोमा औषधि ल्याउन टेण्डर हुन्छ। मनिपालमा महँगो कम्पनीको औषधि ल्याइन्छ भन्छन्-सस्तोमा पाइने औषधिमा गुणस्तर हुँदैन। हामीले बेच्ने औषधि गुणस्तरीय हुन्छ। त्यसैले महँगो परेको हो।’ तर बोहराले भनेजस्तो एउटै कम्पनी र उस्तै प्रकृतिको औषधिमा पनि मूल्य एउटै छैन। माग गर्ने र सप्लाई गर्ने एउटै कम्पनी भएकोले बिरामीले महँगो औषधि र उपकरण प्रयोग गर्न बाध्य भएको अस्पतालका डाइरेक्टर विजय सिंघेले बताए। कर्मचारीहरुले अस्पतालभित्रको फार्मेसीको आन्तरिक कुरा बाहिर लगेको र फार्मेसीमा सिण्डिकेट लादेपछि बाध्य भएर कर्मचारी हटाउनुपरेको उनको भनाइ छ। ‘साथीहरु आन्दोलन गर्न लाग्नुभएको छ भन्ने सुनेको छु। फाइदा हुँदासम्म मनलाग्दी गर्ने अनि अनियमित काम गर्न नपाएपछि ट्रेड युनियनको सहारा माग्ने कस्तो चलन हो,’ उनी भन्छन्, ‘हरेक ठाउँमा ट्रेड युनियनको महत्व हुन्छ। गलत कामको लागि युनियन पनि सतर्क रहन्छ भन्ने हाम्रो अपेक्षा छ।’ रचनात्मक सुझाव दिन युनियनसँग उनले आग्रह गरे।

कर्मचारीहरुको आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मनिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपाल र मनिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ।

अस्पताल पक्षले कर्मचारीमाथि ज्यादती गरेको भन्दै बर्खास्त गरिएका कर्मचारी तुरुन्तै पुनःबहालीको माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको हो। सोमबारदेखि अनिश्चितकालका लागि आन्दोलन चलेको आन्दोलनकारी कर्मचारीहरुले बताए। ‘हामीले ५ बुँदे मागपत्र प्रशासनलाई दिएका छौं। सबै माग पूरा भएपछि आन्दोलन स्वतः सकिन्छ,’ आन्दोलनको नेतृत्व गरिरहेका निष्कासित कर्मचारी रमेश बोहरा भन्छन्, ‘बिनाकारण हामीलाई जागिरबाट हटाइयो। अस्पतालले नेपाली कर्मचारीमाथि शोषण गरेको छ। यसविरुद्ध नेपाल सरकार पनि मौन बसेको छ।’ एउटै पदमा काम गर्ने भारतीय कर्मचारीलाई महँगो तलब सुविधा दिने र नेपालीलाई निकै कम मूल्य दिएर श्रममा लगाइएको उनको आरोप छ। कर्मचारीहरुले मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराएका हुन्।

यसबाहेक श्रम ऐन अनुसार बेसिकको १० प्रतिशत सुविधा तत्काल उपलब्ध हुनुपर्ने, खटाइएका इञ्चार्जहरुलाई लिखित नियुक्ति सहित थप सुविधा दिनुपर्ने, १८० दिन बिदा संचित गरिनुपर्ने, अस्थायी कर्मचारीलाई तुरुन्त स्थायी गर्नुपर्ने लगायत माग पनि छन्। मागपत्रमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघका कार्यबाहक अध्यक्ष वीरेन्द्रकुमार यादव, मनिपाल स्वतन्त्र कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष नवराज भण्डारी र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेलले हस्ताक्षर गरेका छन्।

तलब सुविधा माग सहित लामो समयदेखि यहाँका कर्मचारीहरु आन्दोलित छन्। पटक पटक झडप समेत हुँदै आएको छ। तर पुरानो आन्दोलन र कर्मचारी निष्कासन चाहीँ बिल्कुल फरक विषय भएको अस्पतालले जनाएको छ। कर्मचारीहरुले चाहीँ प्रतिशोध साँधेर निष्कासन गरिएको आरोप लगाएका छन्। ‘मागका विषयमा पटकपटक वार्ता भैरहेको थियो। तर वार्ताको निष्कर्ष नहेरी सिधैँ जागिरबाट हटाउनु जायज होइन,’ बोहराले थपे, ‘प्रतिशोध साँध्ने गरी प्रशासन उत्रियो। यसको डटेर सामना गर्नेछौं।’ मनिपालमा नन टिचिङ ६ सय ५० र टिचिङतर्फ १ सय ५० गरी ९ सय हाराहारीमा कर्मचारी कार्यरत छन्।

Related News

सम्बन्धित समाचार

  • लायन्स फेवा वेगनासमा टीका

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को…
  • एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेस प्रशिक्षण सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीले एयरहोस्टेससहितको…
  • धिमे बाजा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खल: को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम…
  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…

hero news full width