काठमाडौं, २ जेठ । लामो कसरतपछि नेकपा एमाले र नेकपा -माओवादी केन्द्र) बीच अन्ततः बिहीबार पार्टीएकता हुने भएको छ । दुर्इ दलको कार्यदलले तयार गरेको यसअघिको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीरहने, मार्क्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ । गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुर्इ वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टीकेन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टीएकीकरण गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीअध्यक्ष दाहालले पार्टीएकताबारे रिपोर्र्टिङ गरेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्,’पार्टीएकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टीएकता गर्ने निर्णय भएको छ ।’ पार्टीएकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन् ।
यता, एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टीएकता गर्ने विषय पास गरेको छ। बिहीबार नै एकीकृत पार्टीनिर्वाचन आयोगमा दर्ता हुने बैठकमा सहभागी एक नेताले बताए।
त्यस्तै, केन्द्रीय समिति बैठकको पूर्व तयारी र पार्टीएकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रिफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो। बैठकले पार्टीएकताको विषयलाई पास गरेको हो।
स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको वान टु वान बैठकको ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी ती नेताका अनुसार अध्यक्ष ओलीले एकीकृत पार्टीका ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए।
एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ। दुर्इ अध्यक्षले तत्काल पोलिट्ब्यूरो नबनाउने निर्णयसमेत गरेका थिए। वान टु वान बैठकले महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंगायाउने समझदारी गरेको थियो। उनीहरुबीचका समझदारीलाई स्थायी समितिले पास गरेको ती नेताले बताए। बिहान अध्यक्षहरुको बैठकपछि एमालेले स्थायी समिति बैठक बोलाएको थियो। सम्भवत यो एमालेको अन्तिम स्थायी समिति बैठक हुने छ। बिहीबार एमाले माओवादी एकता संयोजन समितिको बैठक बस्ने छ।उक्त बैठक पछि दुर्इ अध्यक्षबीच भएको समझदारी लिखित रूपमा पनि सार्वजनिक हुने जनाइएको छ । यसैगरी, एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी हुने कार्यक्रम छ ।एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रतिको निधन भएको थियो । सो दिनको कहालीलाग्दो घटना स्मरण गरिरहँदा सोही दिन दुर्इ पार्टीको एकताको घडी भने ऐतिहासिक बन्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१