पोखरा, ३० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुर्इदिने नेपाल भ्रमण विगतको तुलनामा धार्मिक, सांस्कृतिक, राजनीतिक र पर्यटकीय प्रवर्द्धन हिसाबले फरक रह्यो ।
नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्ध प्रगाढ गराउनुका साथै दुर्इ देशबीच विगतका सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सघाउ त पुग्यो नै साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत निकै टेवा पुर्याएको पर्यटन व्यवसायी बताउँछन् ।
मोदीले यसपालिको भ्रमणमा जानकी, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्नुले धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याएको उनीहरुको भनाइ छ ।प्रदेश ४ अन्तर्गत पर्ने मुस्ताङ भ्रमणसँगै मुक्तिनाथ दर्शनले अन्तर्राष्ट्रियजगत्मा मुक्तिनाथको पहिचान अभिवृद्धिमा गर्न सघाउ पुग्नुका साथै पोखरासँगै मुस्ताङमा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा निकै सहयोग पुग्न गयो । मुक्तिनाथको दर्शन गर्ने अहिलेसम्मकै उच्चस्तरको व्यक्ति भारतीय प्रधानमन्त्री मोदी हुन् ।
पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी गोविन्दराज पहारीले मोदीको मुक्तिनाथ दर्शनले हिन्दू धर्मावलम्बीमा मन्दिरको अझ महत्व बढेको र नयाँ उर्जा प्रदान गरेको बताए । उनले चारधाम जानुभन्दा अगाडि मुक्तिनाथ जानुपर्छ भन्ने आममान्यतालाई यसले थप विकसित गरेको बताए । उनले भने, ‘यसबाट नेपाल-भारतबीचको धार्मिक सहिष्णुता, श्रद्धामा अभिवृद्धि गर्नुका साथै एउटै श्रद्धा र एउटै धर्म-सँस्कृतिको अनपत्व विकास गरेको छ ।’
पोखरामा आउने भारतीयमध्ये ५५ प्रतिशत धार्मिक पर्यटक हुने जानकारी दिँदै उनले यसबाट लुम्बिनी-पोखरा-मुक्तिनाथ सर्किटको विकास र प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश ४ का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी पहारीले भने, ‘मुक्तिनाथ शिर हो, यसको दर्शनसँगै चारधामको दर्शन पूरा हुन्छ । विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक भारतका प्रधानमन्त्री मोदी भ्रमणले पर्यटन क्षेत्रमा नयाँ तरंग उत्पन्न भएको छ। हामीहरुको लागि खुशीको विषय हो ।’
यस्तै पर्यटन परिषद् पोखराका अध्यक्ष केदारनाथ शर्माको मोदीको मुक्तिनाथ दर्शनले नयाँ उत्साह ल्याएको बताए । ‘यसपालि हिमाल, पहाड र तराई तिनै क्षेत्र पुगेका मोदीको लागि कथित व्यक्तिको आडमा भूकम्पपछि गरेको अघोषित नाकाबन्दीको प्रायश्चित गर्ने मौका पनि मिल्यो,’ उनले भने । जनकपुरबाट पसेर मुक्तिनाथ दर्शन गरी पशुपतिको दर्शन गरी फर्केका मोदीको भ्रमणले पोखरा, मुस्ताङ लगायत यसआसपासको क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनलाई गतिशील बनाउन सघाउ पुग्ने उनले विश्वास लिए । उनका अनुसार पोखरामा वाषिर्क करिब ४ लाख जति भारतीय पर्यटक घुम्न आउँछन् । तीमध्ये ६३ प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पाइन्छ ।
परापूर्वकालदेखि नै हामीहरुबीचको भाइचाराको सम्बन्ध प्रगाढ गराउन मोदी भ्रमण फलदायी रहेको शर्माले बताए । मोदीले आफ्नो सम्बोधनमा समेत जति पनि धार्मिक ग्रन्थ उत्पत्ति भए ती सबै नेपाल-भारतमा रहेको बताएका थिए । यता, दुर्इ देशबीच विकास, सहयोग आदानप्रदान, सुदृढ मैत्री सम्बन्धजस्ता विषयमा भ्रमण फलदायी भएको मुस्ताङवासीको भनाइ छ । मुस्ताङबाट निर्वाचित प्रदेशसभाका सदस्य इन्द्रधरा विष्टले मोदी भ्रमणले मुक्तिनाथ दर्शनमा जाने पर्यटकको संख्या ३० प्रतिशतले बढ्ने बताउँछन् ।
उनले भने, ‘असाध्यै राम्रो प्रचारप्रसार भयो । शक्तिशाली नेता हाम्रो गृहजिल्लामा रहेको धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ पुग्नु भनेको धार्मिक पर्यटन प्रवर्द्धनमा साह्रै राम्रो प्रचार हो ।’
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मुस्ताङ होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र तुलाचनले पनि मुस्ताङबासीको लागि साह्रै खुसीको कुरा भएको बताए । उनले यसबाट आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धनमा विकास हुनुका साथै स्थानीय उत्पादनको समेत प्रचारप्रसार हुनेमा विश्वस्त छन् । यस्तै नेपाल-भारत मैत्री संघ मुस्ताङ अध्यक्ष गणेश शेरचनले मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवर्द्धनमा ठूलो महत्व राखेको उल्लेख गरे । गत शुक्रबार नेपालको दुर्इदिने राजकीय भ्रमणमा आएका मोदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर फर्केका हुन् ।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०