सकियो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

लुम्बिनी विकासका १० बुँदे घोषणापत्र

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७५

लुम्विनी, १६ वैशाख। बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । दुर्इदिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुर्द्धधर्मलाई विश्वशान्तिको मुहानको रुपमा स्वीकार गरेको छ ।

सन् २०१६ को लुम्बिनी घोषणापत्रले लुम्बिनीलाई बुद्धभूमी, बौर्द्धधर्म र विश्वशान्तिको मुहानको रुपमा स्थापित गरेको थियो । सोही घोषणालाई प्राथमिकताका साथ विश्वस्तरमा प्रबर्द्धन गर्ने बौद्ध सम्मेलनको मुख्य निर्णय छ । २३ देशका उच्च ब्यक्तित्व, बौद्ध विद्वान, धर्मगुरु र भिक्षुहरुको सहभागितामा भएको सम्मेलनले बुद्धभूमीबारे फैलाइएका नकारात्मक प्रचारको अन्त्य गरी लुम्बिनीलाई बुद्धको जन्मभूमीका रुपमा स्थापित गर्ने बुँदालाई सर्वमतले पारित गरेको हो ।

यस्तै, केन्जो टागेंद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने निर्णय भएको छ । घोषणापत्रले एसियामा बढ्दो जातीय हिंशा अन्त्यका लागि विश्व बौद्ध समुदायलाई एकीकृत गरी काम गर्ने निर्णय पनि गरेको छ । यस्तै लुम्बिनीमा शान्ति स्थापित गरी द्वन्द्व निरुपणको लागि अन्तराष्ट्रिय केन्द्र बनाउने, लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गर्ने बिषयसमेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

‘लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गरिनेछ । यसलाई भारतको बोधगया, सारनाथ, कुशीनगरसँग जोडेर श्रीलंका, म्यानमार, बंगलादेश, चीन र पाकिस्तानसम्मको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने उद्देश्य छ,’ घोषणापत्रमा भनिएको छ, ‘कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह -महारानी मायादेवीको माइतीघर), रामग्राम -बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गरिनेछ ।’

बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृत रुपमा व्यवस्थापन गरी संरक्षण गर्ने तथा लुम्बिनीको वातावरण संरक्षण गरी सबै किसिमका प्रदुषणमा हुने स्रोतको अनुगमन र नियन्त्रण गर्ने घोषणा पनि छ । बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने र लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने गरि तयार भएको घोषणापत्रमा सबैले समर्थन जनाएका छन् ।

सम्मेलनलाई एक समारोहबीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इदिने सम्मेलनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बुद्ध धर्मको उद्गम थलोको रुपमा पुष्टी भएको बताए ।

‘अशान्तिको अँध्यारोबाट हटाउन बुद्ध र बुद्ध दर्शनको महत्वपूर्ण योगदान छ । तर हामीले बुद्धको पथलाई समात्न सकेका छैनौं,’ उनले भने, ‘बुद्धभूमीलाई अव अन्तराष्ट्रिय बुद्धिजम अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्छ । यसका लागि सरकार तयार छ ।’

प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बुद्धभूमीको प्रचार र विकासका लागि अन्तराष्ट्रिय बौद्ध सम्मेलन कोशेढुंगा सावित हुने उल्लेख गरे ।

‘सम्मेलन औपचारिक कार्यक्रम मात्रै होर्इन । यसको ठूलो महत्व छ,’ उनले थपे, ‘बुद्धभूमीबारेको नकारात्मक प्रचार अब कसैले गर्दैन । संसारले थाहा पाईसक्यो, बुद्ध नेपालमा जन्मिएका हुन् ।’

प्रत्येक वर्ष बुद्ध जयन्ती भब्य रुपमा मनाउने र हरेक २ बर्षमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध सम्मेलन गर्ने सरकारको घोषणा रहेको अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width