संसद्मा दिनहुँ सरकारको गुनासो

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५

पोखरा, ६ वैशाख । बिहीबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । ‘कमजोर स्वास्थ्यको बाबजुद पनि दुर्गम उच्च हिमाली क्षेत्रबाट भएको प्रधानमन्त्रीज्यूको सम्बोधनले निरन्तरताको क्रम भंगतामात्रै गरेन, पर्यटन प्रवर्द्धनका सकारात्मक सन्देश प्रबाह भएका छन् । नेपाली काँग्रेसले पनि परम्परावादी प्रतिपक्षतालाई तोडेर समर्थन गरेको छ,’ विशेष समयलाई सम्बोधन गर्दै उनले भने, ‘तर ओलीजीको सम्बोधनभन्दा फरक विषय अहिले समाचारमा आइरहेका छन् । यदि यो सत्य हो भने राज्यको ढुकुटीमा चलचित्र अभिनय गर्नु खेदजनक छ । यसको छानविनका लागि प्रदेशसभा मार्फत केन्द्रिय सरकारसँग आग्रह गर्दछु ।’

उनले घुमाउँरो पाराबाट ओलीको कटाक्ष गरे । ‘दीपेन्द्र दाहालको निर्देशनमा सानु महर्जनको छायांकनमा खड्कप्रसाद ओली, अनुपम शर्मा, टीका पहाडी, हरिहर शर्मा, विश्व बस्नेत लगायतका कलाकारले अभिनय गरेको रातो सूर्य चलचित्र निर्माण भएको सुन्नमा आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले चलचित्रमा अभिनय गर्नु व्यक्तिगत कुरा हो,’ उनले थपे, ‘वहाँ राजनीतिमा जस्तै अभिनयमा पनि शीर्ष स्थानमा पुग्न सक्नुहोस् शुभकामना छ । राजेश हमाल, भुवन केसीजस्तो सफल हुनुहोस् र चलचित्र सुपर डुपरहोस् भनेर माता विन्ध्यवासिनी मातासँग ४ किलो लड्डु चढाउने भाकल समेत गरेको छु ।’

व्यक्तिगत कामका लागि सरकारी ढुकुटी प्रयोग गरेकोप्रति गुनासो पोखेको उनले बताए । अघिल्लो बैठकमा पनि ओलीको रारा सम्बोधनबारे काँग्रेस सांसद मेखलाल श्रेष्ठले गुनासो टिप्पणी सहित विरोध गरेका थिए । बिहीबार अन्य सांसदहरुले चाहीँ समसामयिक घटनाक्रम र विकास निर्माणका विषयमा आवाज उठाए । सांसद मीना गुरुङले भ्रूण हत्या र गैरकानूनी गर्भपतनविरुद्ध गम्भीर भएर कार्यक्रम तयार गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘कानूनले गर्भपतनलाई महिलाको अधिकारको रुपमा परिभाषित गरेपछि परिवारनियोजनकै साधनको रुपमा अपनाउन थालिएको छ,’ उनले भनिन्, र्ँगर्भपतन सेवा सहज बनेपछि यसलाई फेसन र छोरी भए भ्रूण हत्याको माध्यम समेत बनाएको छ । यस विषयमा गम्भीर हुनु जरुरी छ।’

सांसद हरिशरण आचार्यले सरकारले प्रदेशमा बनाउने भनेको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रबारे जिज्ञासा राखे । उनले हाल पोखरामा रहेको सभागृह अस्तव्यस्त रहेको उदाहरण दिँदै त्यसको व्यवस्थापन सहित नयाँ सभागृह निर्माण थाल्न आग्रह गरे ।

नवलपुरकी ओमकला गौतमले नवलपुर क्षेत्रमा सुरक्षा अवस्था चुनौतीपूर्ण भएको गुनासो सहित आवश्यक सुरक्षा व्यवस्थापनको लागि माग गरिन् । नवलपुर क्षेत्रको विकास निर्माणको लागि पनि उनको आग्रह छ । सांसदहरु दिलमाया रोका, रोशन गाहा थापा लगायतले पनि समसामयिक घटनाक्रममा सुझावसहित समाधानको लागि आग्रह गरे ।

प्रदेश ४ संसदको हरेकजसो बैठकमा अहिले शून्य र विशेष समय छुट्याउन थालिएको छ । बैठकमा सधँै सांसदहरुले समसामयिक विषयमा र समस्याहरुमा सरकारको ध्यानाकर्षण गराउँछन् । प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म उनीहरुले गुनासो र टिप्पणी गर्न भ्याउँछन् । बैठकमा बोलेका विषयहरुमा सरकारले जिम्मेवारपूर्ण जवाफ भने दिन सकेको छैन । प्रश्न र सुझाव राख्ने सांसदहरुले प्रश्नको जवाफ दिन संसदबाटै आग्रह पनि गरे । उनीहरुको आग्रहपछि जवाफ दिने थालनी भए पनि कार्यान्वयन पक्ष भने फितलो छ ।

शून्य समयमा बोल्दै सांसद प्रभा कोइरालाले २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा मारिएका झपिन्द्र कार्की र ऋषिराम परियारलाई शहीद घोषणा गर्न माग गरिन् । विन्दुकुमार थापाले पोखराको ट्राफिक व्यवस्थापन चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए ।

भगवतप्रकाश मल्लले सिर्द्धार्थ राजमार्गको स्तरोन्नति र रामदीमा कालिगण्डकीको पुल पुनः निर्माणको लागि आग्रह गरे । मनकुमारी गुरुङले गुरुङ ल्होसारको दिन प्रदेश सरकारले विदा दिनुपर्ने माग राखिन् । महेन्द्र थकालीले मुस्ताङका स्वास्थ्य संस्था स्तरोन्नति सहित दक्ष चिकित्सक र औषधी प्रबन्ध मिलाइदिन माग गरे ।

बिहीबारको बैठकले संसद्को विषयगत समितिमा सदस्य हेरफेर गरेको छ भने स्थानीय तहको सभा सञ्चालन कार्यविधिको विधेयकमाथि छलफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width