पोखरामा विद्यार्थी भर्ना अभियान शुरु

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७५

पोखरा, २ वैशाख। पोखरा लेखनाथ महानगरपालिकामा शैक्षिक सत्र २०७५ का लागि आइतबारदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ। यो अभियान वैशाख महिनाभर नै सञ्चालन हुने छ।

वैशाख १४ गतेसम्म जनप्रतिनिधि, विद्यालय, संघसंस्थाको सहयोगमा र १५ गतेपछि छुटेकाको खोजी गरी भर्ना गरिने पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्यले जानकारी दिए।

महानगरपालिकाभित्र विद्यालय जाने उमेरका १.८ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको अनुमान छ।

‘अभियानलाई प्रभावकारी रुपमा अघि बढाउँछौं,’ शिक्षा विभाग प्रमुख आचार्यले भने, ‘विद्यालय जाने उमेरका कोही पनि बालबालिका विद्यालय जानबाट नछुटुन् भन्ने हाम्रो उद्देश्य हो।’

‘हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आभारभूत शिक्षा’ भन्ने मूल नाराका साथ यसवर्ष भर्ना अभियान शुरु गरिएको छ।

यसैबीच, पोखरा लेखनाथ महानगरपालिका वडा १२ ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा २ जना विद्यार्थी भर्ना गरी अभियान शुभारम्भ गरिएको छ।

मेयर मानबहादुर जिसिले भक्तबहादुर राय क्षत्रीलाई कक्षा २ र मनोज राईलाई कक्षा ६ मा भर्ना गरी अभियान शुभारम्भ गरेका हुन्।

विद्यार्थी भर्ना गराएसँगै उनले ती विद्यार्थीको अवस्था आफूले बुझिरहने र सहयोग गरिरहने प्रतिबद्वता व्यक्त गरे।

आफू बसिरहेको वडाको विद्यालय सुधार्न नसके आफ्नै नाकमुनि फोहोर जस्तो हुने भएकाले आफू जन्मेको वा पढेको विद्यालय नरोजिकन सरस्वती आधारभूत विद्यालय रोजेको उनको भनाइ छ।

कार्यक्रममा उनले निर्वाचित जनप्रतिनिधिलाई कम्तीमा एउटा विद्यार्थीलाई भर्ना गर्न आग्रह गरे।

विद्यालय जाने र जागिर खानेमात्र काम नगर्न शिक्षकलाई आग्रह गर्दै उनले भने, ‘विद्यार्थी भर्ना अभियानमा शिक्षकको पनि अग्रसरता आवश्यक छ।’

उनले अर्को शैक्षिक सत्रमा विद्यार्थी अझै विद्यालय बाहिर छन् भनेर सुन्नु नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। मेयर जिसीले छोराछोरी विद्यालय नपठाउनेलाई सकभर कोठा भाडामा समेत नदिन आग्रह गरे।

‘भाडामा बस्न आउनेलाई छोराछोरी विद्यालय पठाउने कि नपठाउने भनेर सोध्नुहोस्, सकभर विद्यालयल नपठाउनेलाई नदिनुहोस्,’ उनले भने, ‘दिनै परे छोराछोरी विद्यालय नपठाउनेका लागि बढी भाडा लाग्छ भन्नुहोस्।’

पोखरा लेखनाथ महानगरपालिका वडा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोतव्यक्ति शिवप्रसाद सापकोटाले पनि बोलेका थिए।

सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम ‘धैर्य’ को अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक कुमारी गुरुङले स्वागत र प्रधानाध्यापक रुद्र रानाभाटले सञ्चालन गरेका थिए।

यसैबीच, पोखरा लेखनाथ महानगरपालिका वडा ४, गैह्रापाटनस्थित नवीन माध्यामिक विद्यालयमा पनि भर्ना अभियान शुरु गरिएको छ। सो वडाका वडाध्यक्ष शंकर बास्तोलाले सनिसा गुभाजुलाई शिशु कक्षामा भर्ना गरी शुभारम्भ गरेका थिए।

विद्यालयले शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा बिहान ७ देखि १० बजेसम्म घरदैलो समेत गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width