फेवा नयाँ वर्ष महोत्सव शुरु

पर्यटकीय क्षेत्र चौबीसै घण्टा खुला हुनुपर्छः मन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७४
new year festival

पोखरा, २८ चैत । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखराजस्ता पर्यटकीय क्षेत्र सधैँ खुला हुनुपर्ने बताएका छन् । पर्यटकीय क्षेत्रमा रात्रीसेवा नहुँदा पर्यटकलाई असर पर्ने भएकोले चौबीसै घण्टा खुला हुनुपर्ने अधिकारीको भनाइ छ ।

फेवाताल किनार कोमागाने पार्कमा बुधबारदेखि शुरु १५ औं फेवा नव वर्ष महोत्सव २०७५ उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले फेवाताल संरक्षणका लागि छुट्टै परियोजनाको काम अघि बढिसकेको समेत जनाए । ‘फेवातालको दुर्इ भागमा बाँडेर काम शुरु हुनेछ । तालको माथिल्लो भागमा भएको अतिक्रमण रोक्ने, लेकसाइड फराकिलो बनाउने, जाइकालाई जोड्ने प्रयासमा पनि छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि समयमै बन्नेछ ।’

कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान साढे ७ बाट बढाएर २५ प्रतिशत पुर्‍याइने पनि उनले बताए ।  अधिकारीले विमानस्थलसँगै सडक पूर्वाधार पनि तयार हुनुपर्नेमा जोड दिँदै सरकारले एक सय दिनमा गर्ने योजना सार्वजनिक भइसकेको र काम पनि शुरु भइसकेको उल्लेख गरे । पोखरा विमानस्थल बाहेक नेपालका पाँच वटा विमानस्थल छनोट गरी राति पनि सेवा दिने अवस्था सिर्जना गर्ने तयारी भएको र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम अघि बढि सकेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

‘भ्रमण वर्ष अघि नै हरेक प्रदेशमा मुख्य पर्यटकीय गन्तव्य त छँदैछ, एक सय वटा गन्तव्य बनाउनुपर्नेछ । निजी क्षेत्र, सामाजिक सेवामा क्रियाशील संस्थाहरुसँग पनि सहकार्य गर्न तयार छौं’ अधिकारीले भने, ‘गुणस्तरीय, बढी खर्च गर्ने पर्यटकहरु बनाउन प्रयत्नशील रहौं । हरेक पर्यटकीय गन्तव्यमा हवाई सेवा पुर्‍याउने, नभए सडक सञ्जाल वा हेलिकोप्टर सुविधा नै दिने सोचमा छौं ।’

एक पार्टीले अको पार्टी नेतालाई गाली गरेमा ठूलो होइन्छ, आफू राम्रो भइन्छ भन्ने राजनीतिक कुसंस्कारको अन्त्य गर्दै मुलुकको समृद्धिमा सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । ‘यो सरकार जनताको सरकार हो । प्रतिपक्षी दललाई हेप्न, पक्षपात गर्न बनेको होइन । सुशासन र समृद्धि कायम गर्न अघि बढेको सरकार हो । हाम्रो ध्यान समृद्धि र विकासतर्फ छ,’ अधिकारीले भने । पोखरा र वरपरको क्षेत्रमा दर्जनौं होमस्टे विकास गर्ने र स्थानीय उत्पादन खुवाउने होमस्टेलाई मात्र सरकारले प्रोत्साहन र सहयोग गर्ने उनले बताए ।

प्रदेश ४ का पर्यटन मन्त्री विकास लम्सालले प्रदेश ४ र खास गरी पोखरा आउने पर्यटकको तथ्यांक राख्ने काम थालिने र प्रवर्द्धनको कामलाई अगाडि बढाइने सुनाए । पोखरामा अन्तर्राष्ट्रियस्तरको सेमिनार हल बनाइने आश्वासन पनि उनले दिए । कोरलादेखि सुस्तासम्म स्तरीय सडक निर्माण गर्ने योजना पनि मन्त्री लम्सालले सुनाए ।

कार्यक्रममा प्रदेश ४ का सांसद कृष्ण थापाले पर्यटन मन्त्रालयको जिम्मा यसपटक पोखराले पाएकाले यसपटक पनि पोखराको पर्यटन क्षेत्रमा केही काम हुन सकेन भने कहिल्यै हुन नसक्ने भन्दै मन्त्री अधिकारीको ध्यानाकर्षण जनाए ।

अर्का सांसद राजीव पहारीले पोखराको फेवाताल संरक्षणमा आफूले दुर्इ महिनाको तलब दिएर शुरुवात गरेकाले पोखराको चिनारी फेवातालका लागि अविलम्ब काम शुरु गर्नुपर्ने बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, वडा महिला समन्वय समिति बैदामकी अध्यक्ष विष्णु केसी र आयोजक संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले भनाइ राखेका थिए ।

महोत्सव उद्घाटन अघि लेकसाइडस्थित हल्लनचोकबाट निकालिएको झाँकी सहितको सांस्कृतिक र्‍याली ३ किलोमिटर दक्षिणको कोमागाने पार्कमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।

फेवातालको संरक्षण गरौं भन्ने मूलनाराका साथ शुरु महोत्सवले पर्यटन, संस्कृति र खानाको पक्षलाई बढी जोड दिएको अध्यक्ष तुलाचनले जानकारी दिए । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्देश्य महोत्सवले लिएको छ । महोत्सवमा ४० स्टल छन् ।नेपाली तथा विदेशी खाना, सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, पप कर्न्र्सट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हास्य कलाकारको प्रस्तुति, खुला नृत्य र रत्यौली गीत प्रतियोगिताजस्ता आकर्षण महोत्सवले समेट्दै छ ।

यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबर्द्धक रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width