सहकारी लगानी सम्मेलन शुरु

सहकारीलाई उत्पादनसँग जोडौं : मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
cops (1)

पोखरा, १५ चैत। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी आन्दोलनलाई उत्पादनको आन्दोलनसँग जोड्नुपर्ने औल्याएका छन्। निर्माण र समृद्धिको आन्दोलनमा सहकारीलाई जोड्नुपर्ने उल्लेख गर्दै उनले न्याय र समानताको सामाजिक वितरणमा सहकारीलाई लैजान आग्रह गरे।

मुख्यमन्त्री गुरुङले लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र र सहकारी मेरुदण्डका रुपमा रहेको संविधानमै उल्लेख भएको बताए। मुलुकको आर्थिक विकासका लागि तीनखम्बे मेरुदण्डमध्ये एक सहकारी क्षेत्रले संकलित पुँजीलाई समृद्धिको अभियानमा लगाउन आग्रह गरे।

‘४ नम्बर प्रदेशको सहकारी क्षेत्रसं’ग ६५ अर्ब छ,’ सेन्ट्रल को-अपरेटिभ प्रेसिडेन्ट सोसाइटी -कोप्स) को आयोजनामा पोखरामा बिहीबार को-अपरेटिभ इन्भेष्टमेन्ट समिट उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘त्यस पुँजीलाई कृषि क्षेत्रको उत्पादन र ठूला आयोजनामा लगानी गर्नुपर्छ। प्रदेशको विकासमा सहकारी र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहोस्, ताकी हाम्रो प्रदेशले समृद्धि प्राप्त गर्न सकोस्।’

पर्यटन, कृषि, जलश्रोत र खनिज पदार्थलाई प्रदेशको मुख्य समृद्धिको आधार मानेको गुरुङले प्रष्ट पारे। उल्लेखित चार चिज अधिकतम उपयोग गरेर यस प्रदेशमा समृद्धि हासिल गर्न सकिने गुरुङले दावी गरे।

कृषिमा आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरण गर्न जरुरी रहेको उनले औल्याए। त्यसो नगरिकन धान परालको खेती किसानीबाट हाम्रो समृद्धि नहुने मुख्यमन्त्रीको जिकिर छ।

गुरुङले प्रकृति र संस्कृतिको वरदानका रुपमा प्रदेशलाई पाएको उल्लेख गरे। नेपालकै पर्यटन हवको रुपमा प्रदेशलाई विकास गर्न सकिने उनको धारणा थियो। उनले भने, ‘प्रदेशलाई पर्यटनको विकास मार्फत आर्थिक समृद्धि प्राप्त गर्ने हाम्रो लक्ष्य छ।’

प्रदेशभित्र रहेको जलश्रोत आफ्नै बुँतामा विकास गर्न चाहेको गुरुङले उल्लेख गरे। ‘आफ्नै सामर्थ्यमा जलविद्युत्को विकास गर्न चाहेका छौं,’ उनले भने, ‘त्यसका लागि संघीय नेपाल सरकार र स्थानीय सरकारको सहयोग आवश्यक पर्छ। निजी क्षेत्र तथा सहकारीको लगानी आवश्यक पर्छ।’

५० प्रतिशतमात्र सिंचाइ भएको यस प्रदेशमा ५ वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिंचाइ गर्ने लक्ष्य रहेको उनले सुनाए।

प्रदेशका प्रत्येक घरमा २ वर्षभित्र धाराको पानी पुर्‍याउने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए।

‘४ नम्बर प्रदेशका १४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्, ५ वर्षभित्र गरिबी घटाएर १० प्रतिशतमा झार्ने र आर्थिक वृद्धिदर १० प्रतिशतमा पुर्‍याउने लक्ष्य छ,’-मुख्यमन्त्री गुरुङले प्रदेशको महत्वाकांक्षी योजना सुनाए।

‘स्थानीय, प्रादेशिक, संघीय सरकार वा आफै वा विदेशीसं’ग मिलेर सहकारीको पुँजीलाई जलविद्युत् उत्पादनमा योगदान गर्नुपर्छ,’ मुख्यमन्त्रीले थपे, ‘अब सहकारीले सहकारी मात्र भनेर बस्न हुँदैन, सहकारीको औचित्य पनि प्रष्ट्याउनुपर्छ। सहकारीको ध्यान यतातर्फ जाओस् भन्ने अपेक्षा छ। लगानीमैत्री वातावरण बनाउने जिम्मा हाम्रो हो।’

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलेे संस्थाले अघि सारेको मोडेल स्थापित गर्ने कुरामा सम्मेलनल कोशेढुङ्गा बन्ने विश्वास दिलाए। मन्त्री चुनमानले बिना सहकारी समाजवादमा पुग्न नसक्ने औंल्याए। यस प्रदेशको सहकारीले अघि सारेको मोडेलले समाजवादमा पुग्ने मन्त्री चुमानको दावी थियो।

‘प्रदेश सरकारले साझेदारीका योजना र कार्यक्रमलाई जोड दिनेछ,’ उनले भने, साझेदारीलाई प्राथमिकतामा राखेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। लगानीको अवसर जुटाउँदैछौं। लगानीमैत्री नीति बनाउँदैछौं। सहकारीकर्मी लगानी गर्न तयार हुनुहोस्।’

प्रदेशसभा सदस्य कुमार खड्काले सहकारी आन्दोलनमा युवालाई जोड्नुपर्ने धारणा राखे। सहकारीको लगानी मानवीय संवेदना र उत्पादनमूलक क्षेत्रमा लगानी नभएको खड्काले दावी गरे। उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न खड्काको आग्रह थियो। प्रदेशसभाले कानून बनाउँदा सहकारीकर्मीको सल्लाह र सुझावमा लगानीमैत्री कानून बनाउन सुझाव दिए।कार्यक्रममा एमाले प्रदेश ४ सचिवालय सदस्य भीम कार्की, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य झलकपाणि तिवारी, जिल्ला सहकारी संघका रविरमण पराजुली, राष्ट्रिय सहकारी संघका केन्द्रीय प्रतिनिधि तथा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी,  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य युवराज पराजुली लगायत बोलेका थिए।

कोप्स अध्यक्ष डिल्लीराम बरालले सहकारीको पुँजी औद्येागिक क्षेत्रमा लगानी गर्दै जान सेन्टरले वैज्ञानिक योजना बनाउँदै अघि बढ्ने बताए । उनले देशभर हाल ३४ हजार सहकारी र १२ लाख सहकारीकर्मी रहेको र प्रदेश ४ मा ३ हजारभन्दा बढी सहकारी र कास्कीमा ८ सय सहकारी रहेको जानकारी दिए।

कार्यक्रममा सहकारीबारे प्रकाश कोप्सका महासचिव रामचन्द्र शर्माले पारेका थिए ।पूर्णसत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सहकारीको लगानीको सम्भावना र राष्ट्रिय व्यवस्थापक संघका कोषाध्यक्ष दिलीपराज पौडेलले सहकारीको लगानीको क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेको महासचिव रामचन्द्र शर्माले जानकारी दिए । सयपत्र सहकारी अध्यक्ष विश्वराज बास्तोलाले कार्यपत्रमाथि टिप्पणी गरे ।कार्यक्रमको अध्यक्षतासमेत गरेका कोप्स अध्यक्ष डिल्लीराम बरालले स्वागत, सहकारीका सात सिद्धान्त वाचन कोप्स सञ्चालक दुर्गाकुमारी आचार्यले गरेकी थिइन् ।

त्यस्तै, सञ्चारकर्मी विमला भण्डारीले सञ्चालन र कोप्सका सल्लाहकार टोपबहादुर ढुंगानाले धन्यवाद ज्ञापन गरेका थिए ।

लगानीको लागि कोप्स मोडल स्थापित गर्ने, बृहत् लगानीको वातावरण बनाउने, देशलाई उत्पादनमार्फत औद्योगिक क्रान्तिको दिशामा अघि बढाउने, विभिन्न प्रोजेक्ट बैंकबारे छलफल तथा निर्णय लिने उद्देश्य सम्मेलनले लिएको छ । सम्मेलनमा फोहर मैला व्यवस्थापन र उद्योगको सृजना, सहकारी साख सूचना, सहकारी रेमिट्यान्स, सहकारी चेक क्लीयरिङ हाउस, सहकारी भुक्तानी लगायत स्थापनाका लागि छलफल एवं लगानीको प्रतिबद्धता जनाउने कार्यक्रम छ ।

त्यस्तै, कोप्स मोडलमा विभिन्न प्रोजेक्ट बैकमा छलफल गर्ने, रासायनिक मल कारखाना स्थापना, पोखरा पञ्चासे केवुलकार परियोजना र पर्यटकीय गाउँको सिर्जनाबारे पनि छलफल गरी करिब ६ अर्बको लगानीको प्रतिबद्धता हुने योजना छ ।

दोस्रो दिनको कार्यक्रम उद्घाटन प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गर्नेछन् । उक्त दिन विभिन्न ३ विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिने छ ।

सम्मेलनमा प्रदेशका ४ का ११ जिल्लाका प्रत्येक सहकारीबाट अध्यक्ष, व्यवस्थापक र प्रतिनिधिसहित झण्डै एक हजार जनाको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width