प्रदेश क्याविनेटमा थपिए तीन मन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
bikash lamsal

पोखरा, १२ चैत।प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ। सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो। थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन्। गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्।

उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए। बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो। यसअघि, नवलपुरका सांसद रोशन गाहा थापालाई मन्त्री बनाउने तयारी भएपनि किरण गुरुङ सरकारमा आउने मन गरेपछि गाहालाई पछि हटाइएको श्रोत बताउँछ। गुरुङ तनहूँ, पुन म्याग्दी र लम्साल पर्वतका सांसद हुन्। गुरुङ र पुन केन्द्रीय क्याविनेटको समेत अनुभव सँगालेका ब्यक्ति हुन् भने लम्साल सांसदमा निर्वाचित भएर काम गरिसकेका हुन्।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्। प्रदेश ४ मा गएको फागुन ४ गते नै मन्त्रीपरिषद् गठन भएको थियो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित उद्योगमन्त्री बस्नेतलेसंगै शपथ लिएका थिए भने सोही दिन माओबादी तर्फबाट हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री बनेका हुन्। चुमान आन्तरिक मामिला तथा कानून र थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्। नयाँ मन्त्रीहरुले सोमबार शपथ लिएपछि पदभार समेत सम्हालेका छन्।

विकास लम्साल

पर्वतको प्रदेशसभा (ख) बाट निर्वाचित सांसद विकास लम्सालको जन्म २०२६ सालमा साविक खानीगाउँ गाविसमा भएको हो। त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापीठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनितीमा छिरेका हुन्। उनी पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै एमाले पर्वतको जिल्ला अध्यक्ष सम्म बने। लम्साल २०७० को संविधानसभा चुनावमा पर्वतबाटै निर्वाचित भएका थिए। शैक्षिक शुल्क बृद्धिको बिरोधमा आन्दोलन गर्दा २०४१ सालमा उनी १७ दिन हिरासत बसे भने २ बर्षसम्म धवलागिरी अञ्चलाधिशबाट राजकाजको मुद्धामा सजाएँ भोगे।

२०४४ सालमा पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्वबियु प्रारम्भिक कमिटीको सदस्य लम्साल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युबा संघको जिल्ला कमिटी कोषाध्यक्षमा भए। २०४७ सालमा तत्कालिन नेकपा माले, खानीगाउँ सदस्य, ०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्य, २०५३ सालमा एमाले पर्वतको सदस्य, ०५७ मा सचिवालय सदस्य हुँदै २०६० मा उपसचिव बनेका थिए। २०६१ मा उनी तीन महिना हिरासत बसे। २०६३ मा पर्वत एमालेको सचिव र २०६६ सालमा अध्यक्ष बनेका हुन्। उनी २०५४ को स्थानीय चुनावमा खानीगाउँ गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

किरण गुरुङ

२०१७ सालमा तनहुँमा जन्मिएका किरण गुरुङ तनहुँबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती उनी गोरखा भर्ति विरुद्धको आन्दोलनका सदस्य हुन्। २०३५ सालमा उनी राजनीतिमा नजिक भएका हुन्। विद्यालय जिवनमै कम्युनिष्ट नेताहरुको जीवनीबारे बुझिसकेका उनलाई कम्युनिष्ट पार्टोको राजनीति गर्न खास गार्‍हो भएन। कास्कीमा पहिलोपटक कम्युनिष्ट पार्टोको क्रान्तीकारी संगठन ‘रेड गार्ड स्क्वायर’ निर्माण भयो। नेता बामदेव गौतमले निर्माण गरेको टीममा उनी पनि थिए र पार्टोको निर्देशन अनुसार बहुदलको पक्षमा अभियान थाले। सुरुमा उनी पोखराकै बाटुलेचौरदेखि अर्मला पुरुञ्चौरसम्मको भूगोल जिम्मा लिएर काम गरेका हुन्। त्यसपछि पूर्णकालीन कार्यकर्ता हुँदै अघि बढे। भूमिगत राजनीतिसंगै उनले पार्टोको विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कुशलतापूक नेतृत्व बहन गरेका छन्।

२०३६ सालमा कास्कीको उपसचिव हुँदै सचिव र नेकपा मालेको पश्चिम-उत्तर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी पूरा गरे। २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज हुँदा गण्डकी र धौलागिरी अञ्चल उनको कार्यक्षेत्र थियो। त्यस्तै, २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ पछि गण्डकी र धौलागिरीको पालैपालो सचिव, २०४७ सालमा माले मार्क्सवादी एकीकरणपछि पार्टोको रापस हुँदै २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

२०४९ सालको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन्। नेकपा एमालेको नवौं महाधिवेशनपछि उनी पार्टोको सवोर्च्च निकाय स्थायी कमिटीमा छन्। २०६४ को संबिधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी वनमन्त्री बनेका थिए। उनै गुरुङ तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित भएर हाल प्रदेश ४ को आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा नियुक्त भएका हुन्।

नरदेवी पुन

२०२५ सालमा म्याग्दी जिल्लाको मंगला गाउँपालिका १ भर्जुलामा जन्मिएकी नरदेवी पुन सानै उमेरदेखि राजनीतिमा प्रबेश गरेकी हुन् । २०४१ सालदेखि नै राजनीतिमा छिरेकी उनी सुरुमै मंगला माविको अनेरास्ववियु (प्राक) बनिन् । २०४२ मा अनेमसंघको टोल तयारी समिति अध्यक्ष बनेकी उनी २०४३ मा युथ लिगमा प्रबेश गरिन् ।

२०४५ देखि क्रान्तिकारी बुद्धिजीवि संघमा आवद्ध भएर काम गरेकी पुन सोही बेला गाउँ पार्टोको सक्रिय सदस्य बनिन् । २०४६ मा इलाका हुँदै २०४७ मा मालेको संगठित सदस्य भईन् । त्यसपछि अनेमसंघ जिल्ला कमिटी म्याग्दीको सचिव, अध्यक्ष भएर लामो समय काम गरिन् । २०४८ सालमै उनी एमालेको जिल्ला कमिटि सदस्य बनिसकेकी थिईन् । पुन २०५६ को चुनावमा म्याग्दीबाट एमाले उम्मेदवार बनेपनि पराजीत भईन् । २०६४ मा पनि पराजीत उनी २०७० सालमा समानुपाति सांसद बनेकी हुन् ।

तत्कालीन केपी शर्मा ओलि नेतृत्वको सरकारमा नरदेवी पुन पशुपन्छी विकास राज्यमन्त्री बनेकी थिईन् । पुनसँग धेरै सामाजिक संघसंस्थामा काम गरेको अनुभव पनि छ ।

मंसिरमा सम्पन्न प्रदेशसभा चुनावमा म्याग्दी प्रदेशसभा (ख) बाट निर्वाचित उनी हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । उनले राजनीति शास्त्र र सामाजिक शास्त्रमा स्नातकोत्तरसम्मको पर्ढाई सकेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width