पोखरा, ६ चैत । प्रदेश ४ को आर्थिक कार्यविधि संसद्बाट पारित भएको छ । लामो समयको छलफल र संवादपछि मंगलबारको संसद् बैठकले कार्यविधि पारित गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रस्ताव गरेपछि सर्वसहमतिबाट पारित भएको हो । गएको फागुन २७ गते कार्यविधि बनाउन ढिलो हुने भन्दै नियम नै निलम्बन गरेर संसद्मा प्रस्ताव गरिएको थियो । त्यसपछि तत्कालै विधायन समिति गठन गरि दफावार छलफलका लागि समितिलाई जिम्मा लगाइएको थियो । समितिले लामो समय छलफल र अध्ययन गरेपछि संसद्मा पठाएको हो । सोमबारको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य मोहन रेग्मीले कार्यविधिमाथि दफावार छलफल भैसकेकाले पारित गर्न प्रस्ताव गरे । तर आन्तरिक तयारीको कारण देखाउँदै ५ मिनेटमै बैठक स्थगित भयो । मंगलबार पनि ढिलो गरी बैठक बसेर कार्यविधि पारित गरिएको हो । आर्थिक कार्यविधि पारित भएपछि प्रदेशका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न सहज हुने सरकारको विश्वास छ ।
‘सरकार गठन भएको १ महिनासम्म आर्थिक काम अगाडि बढेको छैन । बजेट ल्याउने समय आइसक्यो तर कानून नहुँदा अन्यौल छ,’ सरकारका प्रवक्ता रामशरण बस्नेत भन्छन्, ‘अब कानून पायौं । जतिसक्दो छिटो नीति कार्यक्रम सहितको बजेट सार्वजनिक गर्छौ ।’ फाष्ट ट्रयाकबाट काम गर्नका लागि नियम नै निलम्बन गरेर विधेयक पेश गरिएको उनले बताए । कार्यविधि पारित भएपछि प्रदेश सञ्चित कोष तथा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन गर्ने, लेखापरीक्षण, पेश्की असुल उपर गर्न तथा नियमित गर्ने बाटो खुल्छ । सरकारले चैत दोश्रो सातासम्ममा प्रदेशको बजेट ल्याउने तयारी पनि गरिरहेको छ । यसका लागि विषयगत समितिसँग छलफल शुरु भैसकेको प्रदेशका अर्थ सचिव विष्णुराज ढकालले जानकारी दिए । उनका अनुसार केन्द्र सरकारले पठाएको १ अर्ब २ करोडलाई आधार मानेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ । सरकारले चालु वर्षको ४ महिनाका लागि बजेट ल्याउन लागेको हो ।
यसैबीच, मंगलबारको संसद् बैठक अन्यौलबीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाइए पनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । संसद्भित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद भएपछि संसद् बैठक साढे २ घण्टापछि सरेको हो । संसद् सञ्चालन नियमावलीमा हरेक समितिमा ११ सदस्य हुने किटान गरिसकेको छ । तर एमालेले भने सदस्य संख्या बढाएर १३ पुर्याउन सिफारिस गरेपछि अरु पार्टीले प्रस्ताव स्वीकारेनन् । र्ँभर्खरै बनाएको नियमावली लागू भएको १५ दिनमै संशोधन गर्नु उचित होइन । सदस्य बढाउनका लागि मात्रै संशोधन गर्दा गलत नजीर बस्छ,’ काँग्रेस सांसद कुमार खड्काले भने, ‘अहिले यसैमा टेकेर समिति गठन गरौं । आवश्यक परे पछि थपौंला ।’ माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्ति पनि सदस्य नथप्ने पक्षमा छन् । तर एमालेले भने समितिमा सबै सांसद अटाउने अधिकार भएकाले संख्या थप्नुपर्ने जनाएको छ । ‘११ जना समितिमा राख्दा ६ जना सांसदहरु समिति बाहिर हुनुहुन्छ । त्यसैले सबैलाई समेट्न पनि सजिलो हुने र अधिकार प्रयोग गर्न पनि पाउने भएकाले यो प्रस्ताव ल्याएका हौं,’ एमाले सांसद किरण गुरुङ भन्छन्, ‘यसले प्रदेशसभाका सबै सदस्यको समानता कायम हुन्छ । अपनत्व महसुस गराउन सकिन्छ ।’ मंगलबार गठन भएका समितिमा एमालेले पूरै सदस्य पठाएको छैन भने अरु पार्टीका सदस्य पूर्ण भैसकेका छन् ।
फागुन २७ गते गठन भएको विधायन समितिमा ३ जना थपिएका छन् । यसअघि ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा एमालेका मोहन रेग्मी, काँग्रेसका विष्णुप्रसाद लामिछाने, माओवादीकी आशा कोइराला, जनमोर्चाका टेकबहादुर र्घर्ती र नयाँ शक्तिकी धनमाया लामा पोख्रेल पहिले नै चयन भएका थिए भने काँग्रेसकी ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र माओवादीबाट चन्द्रबहादुर बुढा अहिले थपिएका छन् ।
मंगलबार गठन भएको सार्वजनिक लेखा समितिमा काँग्रेसबाट ओमकला गौतम, बिन्दुकुमार थापा, प्रकाशचन्द्र दवाडी, मेखलाल श्रेष्ठ, एमालेका रामबहादुर गुरुङ, माओवादी केन्द्रकी गायत्री गुरुङ, दिलमाया रोका र जनमोर्चाकी पियारी थापा छन् ।
प्रदेश मामिला समितिमा काँग्रेसका चिन्ताबहादुर घले, मनकुमारी गुरुङ, कोपिला बोहरा, माओवादीकी मधुमाया अधिकारी, दीपक थापा र एमालेकी मीत्रकुमारी गुरुङ सुवेदी चयन भए ।
उता, अर्थ र विकास समितिमा चाहीँ माओवादीका दीपक कोइराला, विनोद केसी, काँग्रेसका दोवाटे विश्वकर्मा, सरिता गुरुङ, भगवतप्रकाश मल्ल, जनमोर्चाका कृष्ण थापा, एमालेका जनकलाल श्रेष्ठ र नयाँ शक्तिका हरिशरण आचार्य चयन भएका छन् ।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविमा बस सेवा
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सुनास कास्कीको साधरणसभा
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
पोखरामा सुनिए कवि मञ्जुल
hero news full width
मुख्य समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०