लायन्स शताब्दीमा सय जनाको रथारोहण

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४
main photo

पोखरा, २६ फागुन  । नेपालमै ऐतिहासिक कार्यको रुपमा पोखरामा सय जना विशिष्ट व्यक्तिको रथारोहणसहित नागरिक अभिनन्दन तथा सम्मान गरिएको छ ।

‘हाम्रो गौरव राष्ट्रिय सान, सय वर्षमा सय जना सम्मान’ नाराका लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमबीच शनिबार विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने उनीहरुलाई रथारोहणसहित सम्मान गरिएको हो।

सभागृहदेखि शुरु रथारोहण न्यूरोड, महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगी सम्मान कार्यक्रममा परिणत भएको थियो ।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रदेश ४ का प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, पोखरा लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसी लगायतले टीका, दोसल्ला लगाउँदै सम्मानपत्र हस्तान्तरण गरेका थिए । विभिन्न क्षेत्रका मूर्धन्य व्यक्तित्वलाई माछापुच्छे्रको काखमा एकैथलोमा सम्मानित भएको देख्दा पोखरेलीले लगातार गड्गडाहट तालीले सम्मान व्यक्त गरेका थिए । सम्मानित व्यक्तिसँग सेल्फी खिच्ने शुभचिन्तकको भीड पनि उत्तिकै देखिन्थ्यो ।

सम्मानित हुनेमा कलाकारिता, पत्रकारिता, शिक्षा, दर्शन, सामाजिक सेवा, भाषा, साहित्य, स्वास्थ्य, महिला तथा बालबालिका, उद्योग, संस्कृति, पर्यटन, संगीत, कला, कृषि, मानवअधिकार, बैंकिङ, खेलकुद क्षेत्रका व्यक्ति छन् । तीमध्ये कलाकारिता क्षेत्रका सबैभन्दा बढी छन् । सयभित्र पोखरा क्षेत्रका डेढ दर्जन परेका छन् ।

उपराष्ट्रपति पुनले लायन्सले सामाजिक सेवामा गरेको कार्यको उच्च प्रशंसा गर्दै सय जना व्यक्तिलाई लायन्सले एउटै मञ्चमा सम्मान गरेर उदाहरणीय काम गरेको बताए। उनले २०७४ सालमा ऐतिहासिक निर्वाचनको वर्ष भएको र यसको बिदाइसँगै नेपालमा दू्रतरुपमा विकास र समृद्धिको मूल फुट्ने विश्वास पनि व्यक्त गरे । उनले अबको युग प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध नेपाल निर्माणका लागि सबैले हातेमालो गर्ने युग हो भन्दै आर्थिक समृद्धिका लागि म सबैलाई हातेमालो गर्नसमेत अपील गरे ।

जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, उद्योगधन्दा, भौतिक पूर्वाधार निर्माण समृद्धिका आधार भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले विकासका माध्यमबाट गरिबीसँगै र रोजगारका लागि विदेशीनुपर्ने बाध्यताको न्यूनीकरण गर्दै नेपाललाई छोटो समयमा समृद्ध बनाउने आधार प्रस्तुत गरे । यसको लागि सरकार, निजी क्षेत्र, लायन्सलगायत सामाजिक संघसंस्थाले बलियो सहकार्य गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा लायन्सका पास्ट इन्टरनेशनल डाइरेक्टर जगदीशकुमार अग्रवालले लायन्स सदा सामाजिक कार्यमा अग्रसर रहने अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गरे । लायन्सका पास्ट इन्टरनेशनल डाइरेक्टर इञ्जिनियर सञ्जय खेतानले लायन्स क्लबले विनासकारी भूकम्पपछि ५० करोड रुपैयाँ लागतमा विद्यालय पुनःनिर्माणमा जुटेको बताए । उनले आफ्नो सेवाबाट प्रेमको संसार बनाउन सकिने उल्लेख गर्दै काठमाडौंमा एशियाकै सबैभन्दा ठूलो ब्लडबैंक स्थापना हुने बताए । दादुरा रुवेला खोप अभियानमा लायन्सले २ दशलमब ३ मिलियन डलर खर्च गरेको र हाल पढाऔं अभियानमा ५ करोेड रुपैयाँ’ बढी अक्षयकोष स्थापना भएको जानकारी दिए ।

लायन्स अन्तर्राष्ट्रियका प्रतिनिधि जगदीश गुलाटीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सय जना व्यक्तिलाई अभिनन्दन गरेर डिष्ट्रिक्टले रचनात्मक कार्य गरेको बताए।

सम्मानित व्यक्तिको तर्फबाट बोल्दै हास्यकलाकार हरिवंश आचार्यले सम्मानप्रति आभार प्रकट गर्दै अब राजनीतिक खिचातानी छोडेर मुलुकको समृद्धि र विकासका लागि अब नेतालाई सचेत पार्नुपर्ने बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले पर्यटकीय नगरी पोखरामा मुलुकका गहनालाई एकैथलोमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले लायन्स क्लब संसारमै सामाजिक सेवा गर्ने सबैभन्दा ठूलो संस्था भएको बताए ।

उक्त अवसरमा पोखरा लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसी, लायन्स डिष्ट्रिक्टका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ, लायन्सका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन राजन लम्साल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी चण्डी अर्याल लगायत बोलेका थिए ।

२ सय बढी मुलुकमा स्थापित लायन्समा हालसम्म १४ लाख २५ हजार सदस्य छन् । नेपालमात्र लायन्सका २९ हजार जना सदस्य छन् । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्स र नेपालको पहिलो क्लबका अध्यक्ष पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला हुन् । लायन्सको शत्वाषिर्की समारोहमा काठमाडौं बेकरीले निर्माण गरेको १ सय किलोको केकसमेत काटिएको थियो । यस्तै, लायन्स काठमाडौंले हालैमात्र १ हजार ५ सय ७५ यूनिट संकलन गरी गिनिज बुक अफ दी रेर्कर्ड कायम गरेको छ । कार्यक्रममा राष्ट्रपति उपस्थित हुने भनिए पनि उपस्थिति देखिएन।

सम्मानित सय व्यक्ति

आचार्य बालकृष्ण, अमृत गुरुङ, अनुराधा कोइराला, वैकुण्ठ मानन्धर, वैरागी काइँला, बमबहादुर कार्की, वसन्तकेशव पराजुली, वसन्तकुमार सर्म्मा नेपाल, भिक्षु मैत्रेय, भीमराज नौलखा, ब्रम्हकुमारी दिदी परिणिता, भुवन चन्द, विकल शेरचन, विनाकुमारी सिलवाल, विनोद चौधरी, वीरेन्द्रकुमार बस्नेत, व्याकुल माइला, चन्द्र ढकाल, कोलिन स्मिथ (पुतली बाजे), दीपक विष्ट, धीरेन्द्र प्रेमषि, दीनदयाल अग्रवाल, डा भगवान कोइराला, डा विद्याप्रसाद पन्त, डा ध्रुवचन्द्र गौतम, डा गोविन्द टण्डन, डा जगदीश अग्रवाल, डा जगमान गुरुङ, डा मोदनाथ प्रश्रति, डा मृगेन्द्रराज पाण्डे, डा रामप्रसाद पोखरेल, डा सन्दूक रुइत, डा शंकरमान राई, डा तारानाथ शर्मा, दुर्गा बराल वात्स्यायन, इरादेवी थैव, गणेशबहादुर श्रेष्ठ, जर्ज जोन/एलियामा जोन, गोपाल ठाकुर, गोविन्दप्रसाद श्रेष्ठ, हरिप्रसाद पाण्डे, हरिवंश आचार्य, हरिभक्त शर्मा, हरिदेवी कोइारला, हेमानन्द गिरी, हिमालयशमशेर जबरा, इन्दिरा रानामगर, कमलनयन गौतम, काशीनाथ न्यौपाने, केदारभक्त माथेमा, खड्ग गर्बुजा, कृष्णजंग शाह, कुलमान घिसिङ, कुन्ति मोक्तान, ललितबहादुर बस्नेत, लक्ष्मीदास मानन्धर, लेखबहादुर क्षेत्री, लीली थापा, लक्की क्षेत्री, मदनकृष्ण श्रेष्ठ, माधवप्रसाद घिमिरे, मैयादेवी श्रेष्ठ, मनिषा कोइराला, नारायण रायमाझी, नीलप्रसाद भण्डारी, नीर शाह, पदमबहादुर गुरुङ, प्रभाकरशमशेर राणा, प्रदीप नेपाल -सञ्जय थापा), प्रेमध्वज प्रधान, प्रेमराजा महत, पुष्करलाल श्रेष्ठ, रवि लामिछाने, राजेन्द्रराज पन्त, राजेश हमाल, रामआशीष यादव, रामचन्द्र तिमोथी, रामेश, रायन, रामप्रित पासवान, रेवतीरमण/शान्ता पौडेल, शम्भुजित बास्कोटा, सानुबाबु सुनुवार, सरुभक्त, सत्यमोहन जोशी, सुवर्णवैद्य (घाटे वैद्य), शान्ता चौधरी, शान्तिनारायण श्रेष्ठ, सिद्धिलाल श्रेष्ठ, सीताराम कट्टेल र कुञ्जना घिमिरे, सोनाम साङ्पो, सुभाष गोयल, स्वामी अरुण आनन्द, ताकासी मियाहारा, टेकनाथ बराल, तीर्थ श्रेष्ठ, तोरण कार्की, तुलसी घिमिरे, यादव खरेल, यामबहादुर शाक्य र योगी विकाशानन्द छन् ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग