एयरपोर्टमा भीआईपी भ्रमण

काम कम, आश्वासन बढी 

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
airport

दिनहुँजसो भीआईपीले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन्। उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ वर्ष ढिलो भैसक्यो। अझै पनि प्रारम्भिक चरणकै समस्या सुल्झिएको छैन। एक्जीम बैंकले ऋण दिने बताए पनि भुक्तानी प्रक्रिया टुंगिएको छैन। बिनासम्झौता विमानस्थलमा अहिले काम चलिरहेको छ। सब कन्ट्याक्टर नियुक्त भएको छैन। काम थालेको ५ महिना पुग्न लाग्यो, कामदारले पैसा पाएका छैनन्। एयरपोर्टको डिजाईनबारे टुंगो लागिसकेको पनि छैन।

सामान्य खाका बनाएर काम थालिएको र बाहिरी आवरणबारे टुंगाउने चरणमा निर्माण कम्पनी छ। ठेकेदार कम्पनीका जेरी याङले यही हिउँदसम्ममा जमिन सम्याईसक्ने बताएका थिए। हिउँद सकिन लाग्यो अहिलेसम्म २५ प्रतिशत काम मुस्किलले सकिएको छ। चालु वर्षभित्र ८० प्रतिशतमात्रै सम्याईसक्ने आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिए। ऋण सम्झौता सकिने वित्तिकै चिनियाँ टोली पोखरा आएको हो। तर उनीहरुले अहिलेसम्म मन खोलेर काम थालेका छैनन्।

सोमबार प्रदेश ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले निर्माणाधीन एयरपोर्ट अवलोकन गरे। उनले पनि विमानस्थल निर्माणमा ढिलाई नगर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि तत्पर रहेको बताए। राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने उनको भनाइ छ।

२ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताको उपस्थितिमा विमानस्थल निर्माणको शिलान्यास गरेपछि ४४ वर्षअघिको पोखरेली सपना कार्यान्वयनको चरणमा छिरेको थियो। तर जुन गतिमा काम हुनुपर्ने हो, त्यो भएको छैन। अचेलभरी दिनहुँजसो भीआईपीहरुले विमानस्थलको अवलोकन गर्छन् र चाहिनेजति आश्वासन दिन्छन्। उनीहरुको भ्रमणले कार्य प्रक्रिया बदलिँदैन न त कामको तीव्रता बढ्छ। यद्यपि उनीहरुको चासोले निर्माण कम्पनीलाई दबाब भने पुग्नेछ। अघिल्लो साता विमानस्थल निर्माणको लागि इम्प्लिमेसन एग्रिमेण्ट -कार्यान्वयन सम्झौता) भएको छ। सम्झौतापछि रकम भुक्तानी हुने र सहज रुपमा काम अघि बढ्ने विश्वास लिइएको छ। एक्जीम बैंकले लोन एग्रीमेण्ट गर्दैमा रकम भुक्तानीका लागि १३ वटा शर्त राखेको थियो।

त्योमध्ये महत्वपूर्ण शर्त कार्यान्वयनको विषयमा थियो। आयोजनामा लगानीको अवस्थाबारे मूल्याकंनका लागि कन्सल्टेन्सी नियुक्त गरेर निरीक्षण गराउने शर्त छ। त्यसको अन्तिम प्रमाणित आफैले गर्न पाउनुपर्ने निर्माण कम्पनीको माग थियो। तर नेपाल सरकारले प्रमाणित गर्ने अधिकार नदिएपछि कार्यान्वयन सम्झौता ढिलो भएको हो। अहिले दुवै पक्षले संयुक्त रुपमा निरीक्षण गरेर प्रमाणित गर्ने समझदारी अनुसार कार्यान्वयन सम्झौता भएको विमानस्थलका आयोजना प्रमुख मुननकर्मीले जानकारी दिए। उनका अनुसार एयरपोर्ट निर्माणका लागि सव कन्ट्याक्टर छनौटको काम भैरहेको छ। सिएएमसीले सव कन्ट्याक्टर समेत चीनबाटै खटाउन लागेको छ। नेपालीहरुले अनावश्यक माग राखेर आन्दोलन गर्ने आरोप लगाउँदै निर्माण कम्पनीले आफ्नै कन्ट्याक्टर खटाउन लागेको हो। यद्यपी एयरपोर्ट बाहिरका काम भने नेपाली कामदारले गर्नेछन्। केही दिनमै सूचना प्रकाशन गरि सव कन्ट्याक्टर छनौट हुने र थप काम अघि बढ्ने मुननकर्मी बताउँछन्। एयरपोर्टको पेरिफेरि रोड बनाउन आवश्यक पर्ने जग्गा समेत अध्रि्रहण गरी मुआब्जा वितरणको चरणमा पुगेको उनले बताए।

‘करिब ६० रोपनी जग्गा पेरिफेरी सडक बनाउन अध्रि्रहण गर्न लागेका छौं। यसको मुआब्जा वितरण गर्ने सूचना प्रकाशन भैसकेको छ’, उनले थपे-‘केही साताभित्रै मुआब्जा दिएर सडक निर्माण थाल्छौं।’ उनका अनुसार बाहिरी सडक २ लेनको हुनेछ। विमानस्थल निर्माणमा हालसम्म ६ प्रतिशत मात्रै काम सकिएको छ। शिलान्यास भएको झण्डै २ वर्ष पुग्न लाग्यो। अघिल्लो वर्षको मे महिनामा मात्रै एक्जीम बैंकसँग ऋण सम्झौता भएको थियो। जुलाईमा निर्माणको काम गर्ने आदेश दिइएपछि नोभेम्बरबाट सम्याउन थालिएको हो। ‘चालु वर्षभित्र ८० प्रतिशत सम्याइसक्ने लक्ष्य छ। ५० प्रतिशत निर्माण सामग्री पनि संकलन भैसक्छ’, आयोजना प्रमुख विनेश मुननकर्मीले भने-‘र्टर्मिनल भवनको काम यही वर्षभित्र शुरु हुन्छ। कामदार र प्रतिनिधिका लागि शिविर पनि बनाइसक्छौं।’ अवरोध नभए तोकिएकै समयभित्र निर्माण पूरा हुने उनको दावी छ। जग्गा सम्याउन २१ वटा स्काभेटरले दैनिक काम गरिरहेका छन् भने झण्डै डेढ सय कर्मचारी र कामदार खटिएका छन्। सम्याएपछि मात्रै चाइनीज टोलीले अरु निर्माणको काम थाल्छ।

विमानस्थलभित्र जहाजका लागि छुट्टाछुट्टै विश्रामस्थल बनाइनेछ। अन्तर्राष्ट्रिय जहाजका लागि ३ सय मिटर लामो र १ सय ५२ मिटर चौडा र आन्तरिक जहाजका लागि १ सय ५० मिटर लामो र १ सय मिटर चौडा विश्रामस्थल रहनेछ। २ हजार ५ सय मिटर लामो र ६० मिटर चौडा रन-वे हुनेछ भने एयरपोर्ट छिर्ने रोड ४ लेनको हुने मुननकर्मीले जानकारी दिए। विमानस्थल निर्माणका लागि ३ चरणसम्म गरेर करिब ३ हजार ८ सय रोपनी जग्गा अध्रि्रहण गरिएको छ। २०३२ सालमा ३ हजार १ सय ६ रोपनी, निर्माणको काम थाल्नुअघि ६ सय २९ र अहिले थप ६० रोपनी जग्गा अध्रि्रहण गरिएको हो। एक्जीम बैंकबाट उपलब्ध हुने झन्डै २२ अर्ब ऋणको सम्झौता भएपछि नेपाल सरकारले नागरिक उड्ययन प्राधिकरणलाई कामको जिम्मेवारी सुम्पिएको छ। इपिसी -इन्जिनियरिङ प्रोस्युरमेण्ट एण्ड कन्स्ट्रक्सन) मोडल अनुसार थालिएको काम ठेकेदार कम्पनी चीनको सिएएमसीले निर्धारित समयमा नै सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने छ। २०२१ जुलाई १० सम्म निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ। यसअघि २०२० भित्रै काम सक्ने समझदारी भएको थियो तर ऋण सम्झौता र अन्य प्रक्रियागत जटिलताका कारण निर्माण अवधि १ वर्ष थपिएको हो।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width