पोखरा, १२ फागुन । पुरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुइँमा टायल बिछ्याइएको र सुत्ने कोठाभित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ ।
नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भएपछि महानगरले बनाएको फेवा किनारको अतिथिगृहमा यतिबेला मुख्यमन्त्री बस्न थालेका छन् ।
२०३५ सालमा बनेको ड्यामसाईडको यो घरमा महानगरले पाहुना राख्दै आएको थियो । तर मर्मत अभावले चुहिने भएपछि यहाँ लामो समयदेखि पाहुना पनि राख्न छोडिएको थियो । महानगरको चुनावपछि मर्मत गरेर मेयरको आवास बनाउने तयारी पनि थियो । तर मर्मतमा अल्छि गरेर महानगरको कार्यपालिका बैठकले नै भाडाको घर खोजेर मेयरलाई आवास सुविधा दियो । हिमागृहमा पर्यटन व्यवसायीको विरोधपछि धेरै ठाउँ डुलाउँदै प्रदेश संरचना व्यवस्थापन समितिले महानगरको थोत्रो अतिथिगृहलाई मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गर्ने सिफारिस गर्यो र त्यसैलाई मर्मत गरेपछि अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बसाइँ थालेका हुन् ।
पुराना सबैजसो भित्री संरचना हटाएर नयाँ सजावट टाँसिएको यो घरमा डेकोरेसनका लागि मात्रै झण्डै ४० लाख रुपैयाँ खर्च भएको छ । ‘अहिलेसम्म ४० लाख हाराहारीमा खर्च भैसक्यो । अझै केही काम बाँकी नै छ’, निर्माणमा खटिएका महानगरका सव-इञ्जिनियर नेत्र तिमिल्सिनाले भने, ‘आवश्यक परेको सामान ल्याएर काम गरिरहेका छौं । अन्तिममा खर्च विवरण एकमुष्ट निकाल्छौं ।’ यसका लागि नेपाल सरकारले २५ लाख रुपैयाँ निकासा दिएको छ भने बाँकी रकम महानगरपालिकाले नै लगानी गर्नुपर्छ ।
मुख्यमन्त्रीको निवासको गेटैमा सचिवालय र मिटिङ हल पनि निर्माण हुँदैछ । यसको काम अझै बाँकी छ । यसबाहेक किचन पनि नयाँ बनाइएको छ । करिब ३० लाख नयाँ संरचनामा मात्रै खर्च भएको तिमिल्सिनाले जानकारी दिए । नयाँ आवासमा मुख्यमन्त्री गुरुङ पूजाआजा गरी शुक्रबारदेखि बसाइँ सरेका छन् । तर यो आवास पनि अस्थायी हो । मुख्यमन्त्रीको कार्यालय नजिकै नयाँ भवन बन्दैछ । जसलाई मुख्यमन्त्रीको आवासको रुपमा सिफारिस गरिएको छ । बैशाखसम्ममा भवन तयार भैसक्ने बताइएको छ । यो तयार भएपछि फेवा किनारको भवनमा पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी सर्नेछन् । प्रदेशसभाका सभामुख र उपसभामुखका लागि एयरपोर्ट अगाडिको पर्यटन कार्यालयमा निवास तयार गरिएको छ । सभामुख नेत्रनाथ अधिकारी निवासमा सरिसकेका छन् भने उपसभामुख सिर्जना शर्माको पोखरामै घर भएकाले केही पछि सर्ने बुझिएको छ । यसैबीच, मन्त्रीहरुका लागि पनि क्वाटरको व्यवस्था लगभग भैसकेको छ । नियुक्त भएका ३ मन्त्री अहिले सरकारी निवासमै बस्छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रानीपौवाको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा बस्न थालेका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहारदुर थापा बिरौटास्थित जिल्ला कृषि विकास कार्यालयको आवास र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीको गेष्ट हाउस बसिरहेका छन् । मन्त्रीका आवासका लागि ड्यामसाईडस्थित मुख्यमन्त्रीको निवास आडैमा रहेको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयको आवासलाई मर्मत गर्ने काम भैरहेको छ । यहाँ ४ मन्त्रीको आवास बनाइनेछ । आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजनामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीलाई सिँचाइको आवासमा बस्ने व्यवस्था मिलाउन लागिएको प्रदेश ४ का प्रमुख सचिव लक्ष्मणप्रसाद अर्यालले जानकारी दिए । सामाजिक विकास मन्त्री चाहीँ हाल उद्योग मन्त्री बस्नेत बस्दै आएका क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमै बस्नेछन् ।
सरकारले प्रदेश संरचना मर्मतका लागि शहरी डिभिजन कार्यालय पोखरा मार्फत तत्काल साढे ७ करोड विनियोजन गरेको थियो । सोही बजेटबाट काम भइरहेको कार्यालय प्रमुख किशोरलाल महाजुले जानकारी दिए । प्रदेशमा काम गर्न खटिएका कर्मचारी र मन्त्रीहरुको पनि दीर्घकालीन निवास र अन्य सुविधाको टुंगो लगाउन प्रदेशको मन्त्रिपरिषद् बैठकबाट एक समिति गठन गरिएको छ । समितिको सिफारिसका आधारमा संरचना निर्माणको काम थालिने प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९