बन्दमा पोखराको जनजीवन अस्तब्यस्त

बम पड्केपछि पत्रकार पाण्डेसहित प्रहरी घाइते

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४
Ghanashyam

पोखरा, ८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आहृवान गरेको नेपाल बन्दमा पोखरामा बम आतंक मच्चियो। बमको छर्रा लागेर पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका छन्। उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ।

विजयपुरपुल नजिक देखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा प्रहरीले घेरा हाल्दै गर्दा एक्कासी बिस्फोट हुँदा छर्रा लागेर पत्रकार पाण्डे र प्रहरी जवान खत्री घाइते हुन पुगेका हुन्। बिहान ११ बजेर ४० मिनेटमा उक्त प्रेसर कुकर बम बिस्फोटबाट घाइते पत्रकार पाण्डेको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने प्रहरी खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। पत्रकार पाण्डेको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।

त्यस्तै, प्रदेश प्रमुखको निवास नजिकै नागढुङ्गामा पनि बम भेटिएको थियो। झोलामा राखिएको शंकास्पद वस्तु देखिएको खबर पाएपछि नेपाली सेनाको डिस्पोजल टोली उक्त स्थानमा पुगेको थियो। कालीभञ्ज्याङ गणबाट खटिएको टोलीले उक्त बम डिस्पोज गरेको हो। प्रदेश प्रमुख बाबुराम कुँवरको निवास नजिकै यसरी बम देखिएपछि पोखरेली आतंकित बनेका थिए।

पुम्दीभुम्दीस्थित पोखरा भ्यू प्वाइन्ट नजिक पनि शंकास्पद वस्तु भेटिएकोमा सेनाको टोलीको चेकजाँचमा बम नभएको पुष्टि भएको थियो। बन्दको प्रभाव पर्यटकीय नगरी पोखरामा पनि पूर्ण प्रभाव पर्‍यो। जसका कारण यहाँका कलकारखाना, उद्योगधन्दा, शिक्षण संस्था बन्द भए। सवारीसाधन समेत कमै गुडेका थिए। भित्रीभागमा रहेका पसल खुलेपनि मुख्य सडक तथा चोकका पसल पूर्णरुपमा बन्द थियो।

बन्दले लामो तथा छोटो दुरीका गाडी नचल्दा गन्तव्यमा हिडेका यात्रु बीच बाटोमै अलपत्र परे। पार्टीका नेता पक्राउको विरोधमा विप्लव माओवादीले बन्द आहृवान गरेको हो।

सञ्चारसम्बद्ध संस्थाद्वारा निन्दा

समाचार संकलनक्रममा पत्रकार घनश्याम पाण्डे घाइते भएकोमा संचारसम्बद्ध विभिन्न संघसंस्थाले उक्त घटनाप्रति खेद व्यक्त गर्दै घाइतेको शीघ ्रस्वास्थ्यलाभको कामना गरेका छन्। पत्रकार पाण्डे रेडियो गण्डकीका स्टेशन म्यानेजर तथा प्रेस सेन्टर प्रदेश ४ का उपाध्यक्ष समेत हुन्। पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गरी घटनाको निन्दा एवम् घोर भर्त्सना गरेका छन्।

सार्वजनिक स्थानमा बम राखी आतंक सृजना गर्ने बन्दकर्तालाई आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन आग्रह गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न प्रशासनसँग महासंघले जोडदार माग गरेको छ। साथै घाइतेको प्रभावकारी उपचार व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दै पत्रकार पाण्डेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

त्यस्तै, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापाले आमसमुदायलाई सुसूचित पार्ने कार्यमा सक्रिय पत्रकारप्रति लक्षित भई हुने हरेक आक्रमणप्रति निन्दा गर्दै पत्रकार पाण्डेको शीघ्र स्वास्थ्यको कामना गरेका छन्। साथै आक्रमणकारीलाई कानुनी कारबाहीको समेत माग गरिएको छ ।

त्यसैगरी, प्रेस सेन्टर कास्की, प्रेस चौतारी कास्की, रिपोर्र्टस क्लब कास्की, प्रेस युनियन कास्की, क्रियाशील महिला पत्रकार समूह, नेपाल फोटो पत्रकार महासंघ कास्की, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, शान्तिको लागि नागरिक समाजको सञ्जाल लगायतले घटनाको निन्दा गर्दै पत्रकार पाण्डेको शीघ्र स्वास्थ्यको कामना गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width