पीसीसी क्रिकेट कपको उपाधि आयोजकलाई

आदर्श समाज सम्वाददाता
माघ २९, २०७४

पोखरा, २७ माघ ।आयोजक पोखरा क्रिकेट क्लब, पिसिसीले दि युनाइटेड गोल्डमार्ट पीसीसी अन्तरक्लब क्रिकेट कप २०७४ को उपाधि जितेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा आयोजक टोलीले पोखराकै राइजिङ क्रिकेट एकेडेमीलाई ९९ रनको फराकिलो स्कोरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसंगै विजेता टिमले नगद ४० हजार तथा उपविजेता राइजिङ एकेडेमीलेे २० हजार नगद साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारे।

टस जितेर पहिले ब्याटिङमा उत्रेको पिसीले म्यान अफ द म्याच समेत बनेका गोविन्द प्रधानको ५९ रन मद्धतमा पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा १८९ रनको योगफल तयार पारेको थियो । पीसीसीका लागि किशोर महतोले २५ बल बेहोर्दै अविजित ४६ रनको योगदान दिए। रिजन प्रजुले २० रन बनाए। राइजिङ क्रिकेट एकेडेमीका राजु तामाङले चार ओभरमा २१ रन खचेर २ विकेट लिए भने कृष्ण पौडेलले ३९ रन दिँदै २ विकेट झारे।

१९० रनको लक्ष्य पछ्याएको राइजिङ क्रिकेट आयोजकसामु निरीह बन्यो। निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा ९० रनमै समेटिँदा उपविजेतामै सीमित बनेको हो। राइजिङका लागि दिपेश खत्रीको २७ रन नै हाइस्कोर रह्यो। मनोज कोइरालाले १९ रन जोड्दा राजु गुरुङ १३ रनमा नटआउट रहे। पीसीसीका दिपेश श्रेष्ठले चार ओभरमा जम्मा १३ रनमात्र दिएर २ विकेट लिए। ऋषिकेश शर्मा र चन्द्र गुरुङले पनि कम रन खचेर एक/एक विकेट लिए। ३८ बलमा ५९ रन जोड्ने गोविन्द प्रधान फाइनल म्यान अफ द म्याच बन्दै २५ सय २५ रुपैंया प्राप्त गरे।

बमबहादुर कुँवरको प्रशिक्षण तथा अनिल गुरुङको कप्तानी रहेको आयोजक टोलीले पहिलो खेलमा खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको थियो भने सेमिफाइनलमा सांग्रिला क्रिकेट क्लबलाई ५५ रनले हराएको थियो। बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हराएको राइजिङ क्रिकेट एकेडेमीले सेमिफाइनलमा अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले सहजै पराजित गर्दा उपाधिका लागि खेलेको हो। राइजिङका प्रशिक्षक सन्दिप शाही र कप्तान अमृत गुरुङ हुन्। बाग्लुङ र म्याग्दीबाट आएका तीन पाहुना टोली पहिलो चरणबाटै बाहिरिएका हुन्।

प्रतियोगितामा म्यान अफ दि सिरिज पीसीसीका प्रदीप रावत बने। उनले सेभेन बी फोनजोनका तर्फबाट मोबाइल सहित ७५०० रुपैंया बराबरको क्रिकेट किट्स प्राप्त गरे। विधागत रुपमा बेस्ट ब्याट्सम्यान पीसीसीका रिजन प्रजु, बेस्ट बलर सांग्रिला क्रिकेट क्लबका विपिन खत्री बन्दै क्रिकेट किट्स प्राप्त गरे। प्रजुले आफूले पाएको ब्याट सोही अवसरमा आफूलाई मन परेका खेलाडी मुस्कानलाई प्रदान गरे। जुनियर टीम पोखरा क्रिकेट एकेडेमीका १० वर्षीय सोहिल कुँवर बेस्ट इमर्जिङ प्लेयर घोषित हुँदै ५ हजार ५० सहित पुरस्कृत भए। उनले खेलमा ५ रन समेत जोडेका थिए।

विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङ, नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष तथा कास्की संघका संस्थापक अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङ, क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, मुख्य प्रायोजक दि युनाइटेड गोल्डमार्ट प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सारी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशव पाठक, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा पोखरा वडा नं. ३ अध्यक्ष रविन्द्रबहादुर प्रजु, क्लबका अध्यक्ष निकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए। आठ टीम सहभागी प्रतियोगितामा १० वर्षदेखि ४० वर्ष उमेरसम्मका स्थानीय खेलाडीको सहभागिता थियो। यसमध्ये राष्ट्रिय यू-१६ तथा यू-१९ टोलीका सदस्यसमेत थिए। राष्ट्रिय खेलाडीत्रय समिर सेन, किशोर महतो, दिपेश श्रेष्ठलाई आयोजकले सम्मान समेत गरेको थियो।

प्रमुख अतिथि गुरुङले स्थानीयस्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले योग्य खेलाडी उत्पादन गरी राष्ट्रिय क्रिकेटमा योगदान पुग्ने बताए। उनले खेलक्षेत्रलाई हेर्ने नजर अभिभावक, विद्यालयको सकारात्मक हुनुपर्ने बताए। भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका गुरुङले मञ्चकै सक्रियतामा रंगशाला कम्पाउण्ड भएर यसरी जग्गा संरक्षण भएको जनाए।

क्लबका अध्यक्ष निकेश श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्रिकेट मैदान निर्माण समिति संयोजकसमेत रहेका प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, कास्की संघका उपाध्यक्ष विनित श्रेष्ठ लगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन सदस्य कपिलदेव गौतमले गरेका थिए ।

‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा प्राविधिक सहयोगी जिल्ला क्रिकेट संघ कास्की, अनलाइन मिडिया पार्टनर गण्डकन्युज डटकम, हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक रहेका थिए। यस्तै, प्रायोजकहरुमा तारापुञ्ज एजुकेशन एकेडेमी, अदिती ट्रेर्र्डस, मेट्रो फुटवयर गोल्डस्टार, ओम डेभलपमेन्ट बैंक, सेभेन बी फोन जोन, स्माइल डेन्टल केयर, न्यू दिप निशान गिफ्ट एण्ड किचन, नेपाल राइनो, बाग्मती प्लाष्टिक, माउण्टेन भिल्ला, शाक्य आभुषण, होटल स्पोर्टस् नेपाल, मिडटाउन सिनेमाज, लिगल सपिंग सेन्टर, ओम हस्पिटल, मानस, प्रजु मेटल इन्डस्ट्रीज, पी.राज टे्रड कर्न्र्सन, एक्स्ट्रा हिमगिरी साबुन, सिल्भर हिल सोनम चामल भकारी, हुलास खाद्यान्न, बागमती कुर्ची, क्याफे ब्ल्याक एण्ड ह्वाईट, स्टाटस, कुँवर एण्ड सन्स, इन्फोम्याटिक्स कलेज पोखरा लगायत रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width