मूर्ति निर्माणले पर्यटक बसाइँ लम्बिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
pumdi cot

पोखरा, २३ माघ । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवर्द्धन समितिले प्रदेश ४ का संासदलाई सामूहिकरुपमा सम्मान गरेको छ।

पोखरा २२, पुम्दीकोटमै मंगलबार भएको उक्त कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश ४ बाट निर्वाचित सांसदलाई बधाई सहित सम्मान गरिएको हो।

कार्यक्रममा उनीहरुले पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण हुने विशाल महादेवको मूर्तिका कारण पोखरा घुम्न आउने पर्यटकको बसाइँ कम्तिमा १ दिन लम्बिने विश्वास व्यक्त गरे।

प्रदेश ४ को मात्र नभई पुम्दीकोट नेपालकै एक धार्मिक एवं पर्यटकीय गन्तव्य हुने हुदा यहाँको भौतिक संरचनामा आफ्नो क्षेत्रबाट समेत आवश्यक सहयोग गर्ने सांसदहरुले प्रतिबद्धता व्यक्त गरे।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ बनाउन पुम्दीकोटमा निर्माण हुने विशाल महादेवको मूर्तिले पनि थप टेवा पुग्ने जनाए। उनले भने-‘अब हामी राजनीति लडाइँमा अल्झने होइन, विकास र समृद्धिमा लम्किनु पर्छ, यसमा सबै मिलेरै जानु पर्छ।’ अब डाँडाका दिन आएको बताउँदै नेता पौडेलले देशमा संघीयता लागू भएसंगै अब गाउँठाउँ र डाँडाको महत्व बढ्दै आएको दाबी गरे। युवाजमात्लाई अब गाउँमै बस्ने वातावरण सृजना गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने-‘अब हामीले राजनीतिक विषयमा तर्क बितर्क गर्नुभन्दा आर्थिक विकास र समृद्धिमा देशलाई र आफ्नो प्रदेशलाई कसरी लैजान सकिन्छ, त्यसतर्फ चिन्तन मनन गर्नुपर्छ।’ फेवाताल सहितका ७ तालमा टलपल, टलपल हुने गरी पानी हुने अवस्थाको ताल संरक्षणमा जुट्न सांसदलाई उनले आग्रह गरे।

कानुनमन्त्री यज्ञबहादुर थापाले विशाल महादेवको मूर्ति र शान्ति स्तुपालाई अब लुम्बिनीसँग जोडेर लैजानु पर्नेमा जोड दिए। उनले फागुन ७ भित्र नयाँ सरकार आउने दोहोर्‍याए। उनले भने-‘मैले भन्दै आएको छु, अब हामी फागुन ७ भित्र सरकार छाड्छौं, अनि नयाँ सरकार आउछ, नयाँ सरकारलाई अग्रिम शुभकामना छ।’

माओवादी केन्द्रका नेता दीननाथ शर्माले ऐतिहासिक, धार्मिक महत्वले आर्थिक विकास र समृद्धिको लागि सहयोग पुग्ने बताए। पोखरा, लुम्बिनी, मुक्तिनाथसम्मको बुद्ध सर्किट बनाउनु पर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीले ठूलो र धेरै महत्व राखेको बुद्ध र शिवको मूर्ति एकैडाँडामा नेपालकै पहिलो पटक निर्माण हुने भएकोले धार्मिक पर्यटन प्रवर्द्धनमा कोषेढुंगा सावित हुने दाबी गरे।

सांसद पृथ्बीसुव्वा गुरुङले देशमा नयाँ युगको शुरुवात भएसंगै नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिए। जनताको लागि जनतासंगको सहकार्यमा आर्थिक विकास र समृद्धि हुने गरी आफूहरु नयाँ ढंगले प्रदेशलाई नमूना प्रदेश बनाउने दाबी गरे।

सांसद किरण गुरुङले देशको सभ्य हराएको हुदा प्राकृतिक स्वरुप र सभ्यताहरुको खोजीनीति गर्नुपर्नेमा जोड दिए।  प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले सबैको साथ र सहयोग मिलेपछि कुनै पनि नयाँ संरचनाले छिट्टै मूतरुप लिने बताए।

सांसद राजीव पहारीले फेवाताल मानवीय प्रदुषण, प्राकृतिक र भौतिक कारणले पुरिँदै आएकोले त्यसको संरक्षणमा प्रदेश र केन्द्र सरकारको ध्यान जानुपर्ने बताए। फेवातालको माथि मूर्ति निर्माणले पोखरामा पर्यटकको बसाइँ लम्बाउन सहयोग मिल्ने उनले बताए।

काँगेस नेता शुक्रराज शर्माले धर्मका माध्यमलाई धेरै जनालाई एकै स्थानमा ल्याउने हुँदा यस्ता धार्मिक तथा पर्यटकीय स्थलमा सबैले चासो दिनुपर्ने बताए।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दीर्घनारायण पौडेले पुम्दीकोटमा धार्मिक र पर्यटकीय गन्तव्य बनाउने भएकोले महानगरपालिकाले साझेदारीमा ३ करोड सहयोग गर्न लागेको बताए।

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वडा २२ का वडा अध्यक्ष मित्रलाल बराल, लायन्स डिष्ट्रिक गभर्नर धनराज आचार्य, महासचिव प्रकाश बराल लगायत बोलेका थिए।

समिति अध्यक्ष बरालले पुम्दीकोटमा भगवान् महादेवको विशाल मूर्ति सहित पर्यटन पूर्वाधार निर्माण कार्यले तीव्र गति लिएको जानकारी दिए। पुम्दीकोटमा ५ वर्षमा सम्पन्न गर्ने गरी २१ करोडको बृहत् योजना छ। उनका अनुसार हाल ३ करोड ६० लाख मूल्य बराबरको पक्की भवन निर्माण भएको छ भने २ वर्षभित्र मूर्ति सहितको शहीद स्मार्क पार्क निर्माण गरिने योजना छ। विशाल महादेवको मूर्ति भने युवाउद्यमी कमल जयनले दिने छन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width