काठमाडौं, माघ २३ । राष्ट्रिय सभाको ५६ मध्ये ३२ सदस्यका लागि बुधबार नेपालका ६ वटा प्रदेशमा निर्वाचन हुँदैछ । प्रदेश २ मा भने सबै आठ सिटमा निर्विरोध भएपछि निर्वाचन गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले बुधबार ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपांगता/अल्पसंख्यक सहित ८ गरी निर्वाचित ५६ सदस्य रहन्छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रिय सभा गठन हुने संवैधानिक व्यवस्था छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५ सय ६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल २ हजार ५६ जना मतदाता छन् । निर्वाचनका लागि हरियो र रातो रङका चार/चार प्रकारका मतपत्र रहने छन् । निर्वाचनका लागि जम्मा २१ दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ जना उम्मेदवारले नाम फिर्ता लिनु भएको, १ जना उम्मेदवारको उम्मेदवारी रद्द भएको र २४ जना निर्विरोध निर्वाचित भएका छन् ।
महिला ३ र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुनेछ भने दलित १, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ गरी २ सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ।
आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले शान्ति सुरक्षाको भरपदो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन सबैमा आहृवान गरेको छ । निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको जनाएको छ ।
उम्मेदवारीका क्रममा प्रदेश २ मा ८ वटै सदस्य निर्विरोध भएका छन् भने प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मतदान हुनेछ । प्रदेश नम्बर ३ मा भने ८ वटै पदमा मतदान हुनेछ ।
यस्तै, प्रदेश ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य सदस्यमा निर्वाचन हुनेछ ।
यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ ।
प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन हुने आयोगले जनाएको छ ।
यसैबीच, मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले ६ वटै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएको र आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी पनि आयोगले गरेको बताइएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम आए लगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गरी विभिन्न दलहरुले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा भन्दा बढी मत ल्याउने दलहरुको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई ३ दिनको समय दिएर पत्राचार गर्ने छ । दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह मिले नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दललाई सच्चाउन पुनः २ दिनको समय दिइने व्यवस्था मिलाइएको आयोगको भनाइ छ । सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्न आयोग दृढ सङ्कल्पित रहेको पनि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९