पोखरा, २० माघ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको छ ।
छलफलले प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ । फागुन ३ गते हुने बैठकले सभामुख र ६ गते उपसभामुखको निर्वाचन गर्ने अनौपचारिक सहमति भएको श्रोतले बतायो । संविधानमा पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख र उपसभामुख नियुक्त भैसक्नुपर्ने व्यवस्था छ । प्रदेश ४ मा पहिलो बैठक २२ गते भएपछि फागुनको ७ गतेअघि नै सभामुख र उपसभामुख निर्वाचित भैसक्नुपर्छ । ‘बढीमा १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ । हामी त्यसको तयारीमा पनि लाग्नुपर्छ’-छलफलपछि बाहिरिँदै एक सदस्यले भने-‘३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन गर्ने सामान्य सहमति जुटेको छ । तर यो नै अन्तिम निर्णय चाहीँ होइन ।’ सरकार गठन भने त्यसपछि मात्रै गर्ने दलहरुको तयारी बुझिएको छ ।
शनिबारको छलफलमा प्रदेशसभा बैठकका लागि आवश्यक प्रस्ताव समेत तयार गरिएको छ । पहिलो बैठकमा प्रदेशसभाको कार्य सञ्चालन कार्यविधि पारित गर्ने मुख्य एजेण्डा छ । प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीका अनुसार बैठक सवा घण्टामात्रै चल्नेछ । ‘बैठक टेन्टेटिभ्ली १ घण्टा १५ मिनेट चलाउने सल्लाह भएको छ’-उनले भने-‘सभाध्यक्षले सबैभन्दा पहिले प्रदेश प्रमुखले पठाउनुभएको पत्र पढेर सुनाउनुहुन्छ । त्यसपछि कार्यसञ्चालन कार्यविधि पारित गर्ने काम हुन्छ ।’ पहिलो बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले चलाउने छन् ।
शनिबार भएको छलफलमा कार्यसञ्चालन कार्यविधिबारे ब्यापक छलफल गरेर पारित गर्ने सहमति भैसकेको छ । ‘कानुनी व्यवस्थामात्रै कार्यविधिमा राखिएकाले खासै संशोधनको आवाज उठेन । यसलाई पछि पनि थपघट गर्न मिल्छ’-बुढाथोकीले भने-‘उपसभामुखको परिभाषा छुटेको देखियो । माननीयज्यूहरुकै सुझाव आधारमा थप्ने र सोमबारको पहिलो बैठकबाट पारित गर्ने सल्लाह भएको छ ।’
प्रदेशसभाको पहिलो बैठकबाट पारित गर्ने गरी प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ काठमाडौंबाट प्रदेशसभा चलाउन खटिएका कर्मचारीले ल्याएका थिए । कार्यविधिमा प्रदेशसभा सञ्चालनदेखि सभामुख, उपसभामुखको निर्वाचन तथा शपथ, प्रदेश सदस्यको पोसाक, नीति तथा कार्यक्रम छलफल र पारित लगायत विषय समावेश छन् । तत्कालका लागि संक्रमणकालीन बाटो देखाउन कार्यविधि बनेको हो । छलफलमा प्रदेशसभामा सांसदहरुको बोल्ने समय पनि निर्धारण भएको छ । एमाले, काँग्रेस र माओवादीका ३/३ तथा जनमोर्चा र नयाँ शक्तिका १/१ गरी ११ जनाले सोमबारको बैठकमा आफ्ना विचार सहित शुभकामना साटासाट गर्नेछन् । बैठकमा बोल्ने सांसदहरुको नामावली भने पार्टीको निर्णयका आधारमा तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ । साथै, प्रदेश बैठकमा सभामुखको अनुपस्थितिमा बैठक चलाउनका लागि प्रत्येक दलबाट एक जना सांसद रहने गरी ५ सदस्यीय कार्य व्यवस्थापन समिति गठन हुनेछ । समितिका सदस्य दलकै सिफारिसमा रहनेछन् ।
शनिबारको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य सहित ९ जना सांसद उपस्थित थिए । एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा उपस्थित थिए । उता, माओवादीले हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टीनेपालबाट हरिशरण आचार्यलाई पठायो । दलहरुले राष्ट्रिय सभाको चुनाव लगत्तै संसदीय दलको नेता प्रदेशसभामा बुझाउने तयारी गरिरहेका छन् । एमालेले २८ गतेअघि नै बैठक बसेर दलको नेता टुंगाउने सांसद पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । काँग्रेस र माओवादीले पनि यही महिनाभित्र निर्णय गर्नेछ । साना २ दलले पनि सभामुखको चुनावअघि नै संसदीय नेता छानिसक्ने तयारी थालेका छन् ।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०