पुलिसलाई आठ वर्षपछि उपाधि

रवि पासवान सवोर्त्कृष्ट खेलाडी

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
football

पोखरा, २० माघ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ । वैकल्पिक खेलाडी राम वाजीको एकमात्र गोल मद्दतमा उसले थ्रीस्टारलाई १-० गोलले हराउँदै लामो समयपछि उपाधि उचाल्न सफल बनेको हो ।

२०६६ मा पाँचौ पटक उपाधि चुमेयता फाइनल पुग्नै नसकेको पुलिसले आठौं वर्षमा उपाधि खडेरी टारेको हो ।

पोखरा रंगशालामा क्याराभान गोल्डकप सहित लगातार आठौं संस्करणसम्म पुलिस २०६३ बाहेक हरेक पटक फाइनल पुगेको थियो । त्यो वर्ष पुलिस आएन र पहिलो उपाधि थ्रीस्टारले उचालेको थियो । योसँगै पुलिस सवाधिक ६ पटक उपाधि उचाल्ने टीम समेत बनेको छ ।

मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप जितेको थ्रीस्टारले एक साताभित्रै प्रतिष्ठित उपाधि उचाल्ने ठूलो मौका गुमाएको छ । आहा राराको इतिहासमा पहिलोपटक फाइनलमा पराजय समेत व्यहोरेको छ । चार पटक उपाधि जितेको थ्रीस्टारले फाइनलमा विपक्षीलाई नतिजा सुम्पेको थिएन । इटहरीमा सहभागिता नजनाएको पुलिसको लगातार दोस्रो उपाधि हो । हालै सम्पन्न १८ औं राष्ट्रिय खेलकुद राखेप च्याम्पियनशीपमा पुलिसले उपाधि जितेको थियो । पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ । उपविजेता थ्रीस्टारले लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।

शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा पुलिसले दर्शकको मनमात्र जितेन, राष्ट्रिय टीमका खेलाडी र विदेशी खेलाडीले पूर्ण थ्रीस्टार क्लबलाई पराजित गर्‍यो । अतिरिक्त समयमा धकेलिएको खेलमा थपिएको २० मिनेटमा पहिलो हाफको सातौं मिनेटमा वाजीले गोल गरेका हुन् । खेलको ८६ औं मिनेटमा अभिषेक रिजालको स्थानमा वाजी मैदान प्रवेश गरेका थिए । २४ मिनेट मैदान रहेका उनी फाइनल खेलको म्यान अफ दि म्याच समेत बने ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थ्रीस्टार दोश्रो हाफपछि भने केही रक्षात्मक बनेको थियो । यद्यपि उसले पनि थुप्रै गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । सुरुआति १५ मिनेट आक्रामक बनेको पुलिस त्यसपछि रणनीतिक रुपमा काउण्टर अट्याकमा उत्रियो । पुलिसका नीरकुमार राईको एक प्रहार क्रसबारमा लागेर फर्किएको थियो । भर्खरका युवाको जमात रहेको पुलिसलाई पहिलो पटक पोखरा रंगशालामा दर्शकको ठूलो साथ पनि मिल्यो ।

पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले जितको श्रेय खेलाडीमा जाने प्रतिक्रिया दिए । उनले खेललाई खेलाडीले न्याय गरेकै कारण उपाधि जित्न सफल भएको बताए । अब पुलिसको यात्रा शुरु भएको उनको भनाइ थियो । बीचमा केही समय ग्याप बसेका थापाले केही वर्षअघि विराट गोल्डकप र सतशीधाम गोल्डकपको उपाधि पुलिसलाई जिताएका थिए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले राम्रै खेले पनि स्कोर गर्न नसक्दा पराजित भएको बताए । उनले डेढ वर्षको समयपछि लयमा आउँदै गरेको थ्रीस्टारले लगातार प्रतियोगितामा सहभागिता जनाउँदा पनि खेलाडीमा थकान रहेको उल्लेख गरे । खेलमा पुलिसका रोशन खड्काले रातो कार्ड पाए । वैकल्पिक खेलाडीका रुपमा बेञ्चमा रहेका उनी गोलपछि खुशीयाली साट्न मैदान छिरेपछि रेफ्री सुदीशकुमार पाण्डेले रातो कार्ड दिए । प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रवि पासवान बने । उनले हिरो ड्यास स्कुटर प्राप्त गरे । प्रतियोगिताको सवाधिक गोलकर्ता पुलिसका सुमन लामा र  थ्रीस्टारका विश्वास श्रेष्ठ बने । श्रेष्ठ प्रतियोगिताका एकमात्र ह्याटि्रककर्ता पनि हुन् । उनी उत्कृष्ट स्ट्राइकर समेत बने । उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्र्टिङ क्लब धनगढी पुरस्कृत भयो । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।

यसअघि, फाइनलमा पाँच भेटमा पुलिसले तीन पटक र थ्रीस्टारले दुर्इ पटक नतिजा आफ्नो पक्षमा पारेको छ । जारी प्रतियोगितामा पुलिस प्रिक्वार्टरबाटै खेलेको हो भने थ्रीस्टार सिधैँ क्वाटरफाइनल खेलेको हो । पुलिसले पहिलो खेलमा झापा-११ लाई १-०, क्वार्टरफाइनलमा साविक विजेता मनाङ मस्र्याङ्दीलाई ३-१ र सेमिफाइनलमा धरान एफसीलाई १-० गोलले पराजित गर्‍यो । थ्रीस्टारले भने एपीएफलाई टाइब्रेकर र उत्तर बरिन्धरा, बंगलादेशलाई ५-० गोलले हराएको हो । यसैबीच, भाग्यमानी दर्शक उज्ज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ । प्रतियोगिता अवधिभर टिकट काट्ने दर्शकमा गरिएको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी पोखरेल विजेता बनेका हुन् । डेढ सयको टिकट काटी फुटबलको मज्जा लिएर उनी घर र्फकदाँ स्कुटर चढेर फर्किए । अर्का भाग्यमानी दर्शक उत्तमचोकका हरिबहादुर कार्कीले एलजीको २१ इञ्चको एलइडी कलर टिभी प्राप्त गरे । विजयीलाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि निर्देशक प्रकाश केसी, एआईजी कमलसिंह बम, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, एन्फा उपमहासचिव गणेशबहादुर भट्टराई, पृथ्वी राजमार्ग बस संचालक समिति उपाध्यक्ष धर्मराज अर्याल, सहारा क्लब वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ सुरज, क्लब पूर्व अध्यक्ष विक्रम थकाली, बसन्त थकाली, खेलकुद पत्रकार नीरञ्जन राजवंशी लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width