थ्रीस्टार सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
माघ १६, २०७४
football

पोखरा, १५ माघ । दुर्इ दिनअघि मात्रै इटहरी गोल्डकप जितेको थ्रीस्टारले पोखरामा सुखद शुरुवात गरेको छ । यद्यपि, उसलाई एपीएफविरुद्ध सहज जित निकाल्न भने मुस्किल पर्‍यो । १६ औं आहा रारा गोल्डकपमा सिधैँ क्वाटरफाइनल खेलेको थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । इटहरी कपको सेमिफाइनलमा थ्रीस्टारले आर्मीलाई पेनाल्टीमै हराउँदै फाइनलमा मनाङसँग खेलेको थियो ।

आहा रारा गोल्डकपमा चार पटकको विजेता थ्रीस्टारले बुधबार पहिलो सेमिफाइनलमा उत्तर बरिन्धरा क्लब बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टीमा थ्रीस्टारका पाँचै जनाले गोल गर्दा एपीएफका राजेन्द्र रावल चुके । दोस्रो क्रममा पेनाल्टी हानेका रावलको प्रहार विपक्षी गोलकिपर एलन न्यौपानेले विफल पारे । न्यौपाने खेलमा म्यान अफ द म्याच समेत बने । थ्रीस्टारबाट रञ्जित धिमाल, नीराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे । एपीएफका अञ्जन बिष्ट, नवीन लामा र रञ्जन बिष्टले जाली चुमाए ।

थ्रीस्टार वर्क परमिट नभएपछि ३ विदेशी खेलाडीबिनै मैदान उत्रिएको थियो । भरपर्दा स्ट्राइकर बिमल र्घर्तीमगर समेत भारतको मोहन बगानसँग आबद्ध भएपछि इटहरी गोल्डकप खेलेर सिधैँ कलकत्ता उडिसकेका छन् । थ्रीस्टारले गोल गर्न पाएको प्रशस्त अवसर सदुपयोग गर्न सकेन भने एपीएफले पनि उत्तिकै अवसर खेर फाल्यो ।

पोष्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले वर्क परमिट नभएपछि ३ विदेशी खेलाडीलाई खेलाउन नपाउँदा खेल कठिन भएको बताए । थ्रीस्टारले आफ्नो खेल प्रदर्शन गर्न नसकेको स्वीकार्दै उनले बिमल नभए पनि बाँकी विदेशी खेलाडी गुमाउनु टीमका लागि भारी भएको बताए । इटहरीमा फाइनल लगत्तै लामो यात्राको थकानले पनि खेल्न नसक्नुको कारण भएको केसीको भनाइ थियो । बंगलादेशी टीमविरुद्ध अर्को खेलमा वर्क पर्मिट नवीकरण गरी विदेशी खेलाडीलाई मैदानमा उतार्ने उनले बताए । ११ औ पटक उपस्थित थ्रीस्टार पाँचौं, नवौं, ११ औं र १३ औं संस्करणको विजेता टीम हो ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा खेलाडीबीच तालमेल नमिलेको र दोश्रो हाफमा थ्रीस्टार आक्रामक बन्दा आफूहरु दबाबमा परेकोले उत्कृष्ट खेल्न नसकेको बताए । आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार ३ वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । यसपटक दोस्रो चरण पुगे पनि टाइब्रेकरमा थ्रीस्टारसँग स्तब्ध बन्दा अघिल्लो चरणको यात्रा रोकियो । छैटौं संस्करणको फाइनल खेलेको एपिएफको त्यो नै उच्चतम सफलता हो ।

मंगलबार अन्तिम क्वार्टरफाइनलमा साविक विजेता मनाङ मस्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच खेल हुनेछ । मनाङले पुलिससँगै सर्वाधिक पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । क्याराभान सहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी १० पटक फाइनल खेलेको छ । क्याराभान सहित १७ वर्ष पुग्दा छैटौं र सातौं बाहेक यो सहित १४ पटक सहभागिता जनाएको मनाङ यसअघि एकपटक मात्र क्वाटरफाइनल पुग्न सकेन । प्रायः सिधैँ बाइ पाएर उसले क्वाटरफाइनलबाटै खेल्दै आएको छ ।

क्याराभान सहित ५ पटक उपाधि उचालेको पुलिसले ३ पटक उपविजेतामा चित्त बुझाएको छ । पुलिसले २०५८ मा क्याराभान पश्चात् २०५९ मा पहिलो संस्करण जितेको थियो । त्यसपछि लगातार २०६०, ६१ र ६२ मा फाइनल हारेको पुलिस २०६३ मा पोखरा आएन र त्यसपछि तीन पटक लगातार २०६४, ६५ र ६६ मा उपाधि जित्न सफल भयो । १० औं र ११ औं मा पहिलो खेलमै आउट पुलिस यसअघि १४ औं र १५ औं संस्करणमा पनि लगातार पहिलो खेलबाटै बाहिरिएको थियो । यसपटक पुलिसले पहिलो खेलमा झापा-११ लाई १-० ले हराउँदै मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width