कास्कीबाट थपिए ९ शहीद

आदर्श समाज सम्वाददाता
माघ १२, २०७४

कास्कीबाट ९ जना शहीद थपिएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको हो ।

तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीबाट मारिएका ८ जना र पञ्चायतकालमा सरकार पक्षबाट मारिएका १ जना गरी ९ जना शहीदको सूचीमा सूचीकृत भएका छन् ।

साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका इश्वर गुरुङ, साविक माछापुच्छ्रे गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्रबहादुर राजभाट, पोखरा ९ का गणेशमान पालिखे र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्वन्द्वका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।

२००७ सालमा जन्मिएका सल्यानका कृष्णबहादुर गुरुङलाई घरमा भात खाइरहेको अवस्थामा २०५९ बैशाख ६ गोली हानी हत्या गरिएको थियो । २०२८ सालमा घान्द्रुकमा जन्मिएका इश्वरबहादुर गुरुङको २०६१ साल बैशाख २८ मा घर नजिकै सार्वजनिक चौरमा हत्या भएको थियो । माछापुच्छ्रेका टेकबहादुर गुरुङलाई २०५८ पुस १२ गते घरबाट बारीमा लगेर मारिएको हो । माछापुच्छ्रेकै पूर्णबहादुर भुजेललाई २०६० असोज ९ गते घरकै पिँढीमा गोली हानेर मारिएको थियो । २००० भदौ १५ गते जन्मिएका मिजुरेका रतनसिंलाई २०६२ माघ १० गते घरबाट अपहरण गरेर बाटोमा लगी हत्या गरिएको थियो । १९९९ जेठमा जन्मिएका पोखरा नागढुंगाका गणेशमान पालिखेलाई २०६२ साल बैशाख २९ गते जनप्रिय क्याम्पसबाट घर फर्किने क्रममा घरकै गेटमा गोली हानिएको हो । उनी जनप्रिय क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख समेत थिए ।

१९९० मा जन्मिएका हंशपुरका पशुपति रानाभाटलाई सेनालाई सुराकी लगाएको आरोपमा लेखनाथको मोहोरियामा २०६१ ज्ोठ ३ गते हत्या गरिएको थियो । लेखनाथका चन्द्रबहादुर राजभाटको दशैंका बेला डाँडाको नाक चौकीमा प्रहरी साथीलाई भेट्न जाँदा माओवादी आक्रमणमा परेर मृत्यु भएको हो । २०३४ सालमा जन्मिएका उनको २०६१ असोज ११ गते मृत्यु भएको थियो । यसैगरी, २०१८ सालमा मारिएका ल्वाङघलेलका हरिप्रसाद गुरुङलाई पनि शहीद घोषणा गरिएको कानुनमन्त्री थापाले जानकारी दिए । उनलाई तत्कालीन पञ्चायत सरकारले चितवनमा समातेर जिउँदै गाडेको थियो ।

यसअघि, कास्कीमा १ सय २ जना शहीद थिए । बिहीबारको घोषणापछि जिल्लाका शहीदको संख्या १ सय ११ जना पुगेको छ । त्यसमा माओवादीका मात्रै ३८ जना छन् । जुन सशस्त्र द्वन्द्वका बेला राज्यपक्षले मारिएका ब्यक्ति हुन् । त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी र काँग्रेस एमाले लगायत पार्टीाट पनि शहीद घोषणा गरिएका छन् । त्यसअघि यहाँ शहीद घोषणा गरिएको तथ्यांक भेटिँदैन ।

Related News

सम्बन्धित समाचार

  • मधेसमा ‘बोक्सी हुन्न’ अभियान

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    हेमजा । मधेस प्रदेशका विभिन्न जिल्लामा ‘बोक्सी हुन्न’ अभियान संचालन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान…
  • भगिनी सम्बन्धको दुरुपयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बालकृष्ण गौतम जेठमा कोरिया गए । गाउँपालिकाले ‘सिजनल भिसा’ मा कोरिया जान सिफारिस गरेपछि उनी…
  • बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम…
  • नागरिक विधेयक प्रक्रियामा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि उत्पन्न तरंग कसरी साम्य होला भन्ने संशयबीच सो विधेयकको पुनः…
  • मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून

    रासस भाद्र १, २०७९
    काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन…

hero news full width