राष्ट्रियसभामा उम्मेदवारी आज

विभिन्न दलको उम्मेदवार टुंगो

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४

काठमाडौं, ९ माघ। यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि बुधबार सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ।

सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, र्सुखेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी मनोनयन दर्ता बिहान १० देखि दिउँसो ४ बजेसम्म गराउन सक्ने आयोगले जनाएको छ। उम्मेदवारी मनोनयनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले मंगलबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरेको छ। उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको क्रस र १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद उपलब्ध गराउनुपर्ने छ। दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका/नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ। उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गर्न आहृवान गरेका छन्।

२१ राजनीतिक दलका लागि आयोगले गरेको अभिमुखीकरण कार्यक्रममा यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनपत्र दर्ताको सबै तयारी पूरा भएको जानकारी गराएका हुन्। अभिमुखीकरणमा सहभागीलाई राम्रोसँग सिकेर जान र आफ्ना उम्मेदवार तथा मतदातालाई पनि सही तरिकाले मत सङ्केत गर्न सिकाउन यादवले आग्रह गरे।

उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर दलले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार अन्तिम टुंगो लगाएका छन्। नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ उम्मेदवारको टुंगो लगाएको छ। सोमबार १३ उम्मेदवारको टुंगो लगाएको एमालेले मंगलबार बाँकी उम्मेदवारको टुँगो लगाएको हो।

एमालेले प्रदेश १,२, ३ र ४ का उम्मेदवार मंगलबार तय गरेको हो। यसअघि  सोमबार प्रदेश ५, ६ र ७ मा उम्मेदवार चयन गरेको थियो। पार्टीअध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी कमिटीको बैठकले प्रदेश १ बाट ५ जना उम्मेदवार तय गरेको हो। मोरङबाट २ तथा झापा, संखुवासभा र इलामका १-१ उम्मेदवारलाई राष्ट्रिय सभामा उठाउने भएको हो। प्रदेश २ मा भने सुमन प्याकुरेल उम्मेदवार हुने भएका छन्। यो प्रदेशबाट अन्य कोही पनि एमालेको सूचीमा परेका छैनन्।

प्रदेश १ बाट नैनकला ओझा मोरङ, खेम नेपाली मोरङ, हरिचरण सिवाकोटी झापा, परशुमेघी गुरुङ संखुवासभा, अगम बान्तवा इलाम रहेका छन्।

प्रदेश २ बाट सुमन प्याकुरेल सप्तरी रहेका छन् भने प्रदेश ३ बाट पार्वती रावल चितवन, उदया शर्मा काठमाडौं, सिंहबहादुर बिक सिन्धुपाल्चोक, बलराम बाँस्कोटा काठमाडौ, बेदुराम भुसाल काठमाडौं, रामचन्द्र राई दनुवार मकवानपुर रहेका छन्। प्रदेश ४ मा रामबहादुर थापा, गणेश तिमिल्सिना, शान्ति अधिकारी, दीपा गुरुङ, लमजुङ रहेका छन्। उता, प्रदेश ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ। यस्तै, प्रदेश ५ बाट ५ जना र प्रदेश  ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ।

यसअघि, प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रदेश ५ बाट उनीसहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा -महिला), रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै, प्रदेश ७ बाट एमालेले  कमला ओली -महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर, शेरबहादुर कुँवर -खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रदेश ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा (महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसैगरी, नेपाली काँग्रेसले पनि सबै प्रदेशमा राष्ट्रियसभामा उठाउने उम्मेदवारको टुङ्गो लगाएको  छ।  काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश उम्मेदवारको टुङ्गो लगाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। काँग्रेसले राष्ट्रियसभा मधेशवादी दलसँग गठबन्धन गरेर अघि बढ्ने निर्णय समेत गरेको छ। वाम गठबन्धनसँग सहमति नभएपछि मधेशी गठबन्धनका नेता कां’ग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको  हो। प्रदेश २ का ८ सिटमध्ये तीन दलले २-२ सिट लिनेछन्।

यसैगरी, माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। शीर्षनेताको बैठकले प्रदेश १ मा बीना पोखरेल (महिला), प्रदेश २ मा शशिकला दाहाल (महिला), प्रदेश ३ रामबहादुर थापा (खुला), गंगा पराजुली (महिला) प्रदेश ४ दीनानाथ शर्मा (खुल्ला), खीमकुमार बिक -दलित), प्रदेश ५ मा राजकुमार कुँवर (अल्पसंख्यक र अपांग), चन्द्रबहादुर खड्का (खुला) कोटाबाट छनोट गरेको हो।

प्रदेश ६ मा जीवन बुढा (अपांग र अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला), प्रदेश ७ मा लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) कोटाबाट छनौट गर्ने निर्णय गरेको हो। प्रदेश २ मा १ जना उम्मेदवारको भने टुंगो लगाउन बाँकी रहेको माओवादीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width