काठमाडौं, ७ माघ । सात वटै प्रदेशका प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शपथ लिएका हुन् । उनीहरुले सरकारले तोकेको प्रदेशको अस्थायी मुकाममा शपथ ग्रहण गरेका हुन् । प्रदेश सांसदको शपथ ग्रहणसँगै अब प्रदेश सरकार गठनको समेत बाटो खुलेको छ ।
प्रदेश एकदेखि सात सम्मका प्रदेश प्रमुखहरु क्रमशः प्राडा गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्लले पदबहालीपछि आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराएका थिए । त्यसपछि ज्येष्ठ सदस्यहरुले आ-आफ्नो प्रदेशमा सबै प्रदेश सांसदहरुलाई शपथ खुवाएका हुन् । अन्तरिम व्यवस्थापनका लागि राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको नेतृत्वमा प्रदेश प्रमुखको सचिवालयका लागि श्रेणीविहीनबाहेक १८ कर्मचारी खटाइएको छ ।
सरकारले प्रदेशको तत्काल कार्यसञ्चालनका लागि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी सदरमुकाम तोकेको छ । स्थायी राजधानी भने प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुर्इतिहाइ बहुमतबाट आफैले तोक्न सक्ने संवैधानिक व्यवस्था छ । सरकारले तोकेको अस्थायी मुकामप्रति असन्तुष्ट रहेका प्रदेश १, ३ ५ र ७ मा आन्दोलन चलिरहेकै बेला प्रदेश सांसदहरुले शपथ लिएका हुन् ।
प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीतर्फबाट २ सय २० गरी ५ सय ५० प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभाको कार्यकाल ५ वर्षको हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आहृवान र ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति गर्नेछन् । निर्वाचन आयोगले यही माघ ३ गते प्रदेशसभा सदस्यको अन्तिम नतिजा प्रकाशन गरेको थियो । संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । प्रदेश सभामुख वा उपसभामुखमध्ये एक महिला तथा फरक फरक दलको प्रतिनिधि हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्नेछ ।
आइतबार भएको शपथ ग्रहणका क्रममा प्रदेश नम्बर २ मा सांसदहरुले शपथ लिने भाषाको लिपीलाई लिएर विवाद भएको थियो । शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा उनीहरुले विवाद झिकेका हुन् । मातृभाषामा शपथ गर्न पाउने व्यवस्था भए पनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विवाद शुरु भएको थियो । मातृभाषामा पनि शपथको हस्ताक्षर बुझाउन सकिने बताएपछि शपथ ग्रहण सुचारु भएको थियो । उता, प्रदेश ६ प्रमुख दुर्गाकेशर खनाल तथा २७ जना प्रदेशसभा सदस्य शपथ ग्रहणका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेत पुगे । प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगर पुग्नका लागि उनीहरुले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् । सो प्रदेशका ४० मध्ये समानुपातिकतर्फका सांसद प्रमाणपत्र बुझनका लागि काठमाडौं आएका थिए । प्रत्यक्षतर्फ निर्वाचित केही पनि काठमाडौंमै थिए । शनिबार विमानको टिकट लिएकोमा काठमाडौं-नेपालगञ्ज उडान अवरुद्ध हुँदा उनीहरु काठमाडौंमै रोकिएका थिए ।
प्रदेश ५ को राजधानी दाङ बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि आन्दोलन रोकेर बुटवल पुगेका थिए । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहड्ताल भएको थियो । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेलसहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९