व्यापार मेलामा रत्यौली  प्रतियोगिता

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

पोखरा, ३० पुस। रत्यौलीमा के हुन्छ – छेडछाड, माया पिरतीका कुरा अनि अलिकति उच्छृङ्खलता पनि – रत्यौली नाचेका र लुठो बनेकाहरूलाई थाहा नहुने कुरै भएन। महिला मात्र सहभागि हुने र बिहेमा  मात्र नाचिने रत्यौली आजकल बदलिएको छ। रत्यौली हेर्न बिहे कुर्नै नपर्ने भएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको  ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’मा रत्यौली प्रतियोगिता नै राखिएपछि यतिबेला नयाँबजारको मेलास्थल रत्यौलीमय बनेको छ।

प्रतियोगितामा पोखराको विभिन्न क्षेत्रका २० वटा आमा समूहले भाग लिएका छन्। पोखरा-१४ को बिशालनगर आमा समूह, बाटुलेचौरको चण्डिका आमा समूह,फूलबारीको सिद्धेश्वर आमा समूह, हेमजाको कामधेनु आमा समूह, आर्वाको लगनशील आमा समूहले एक चरणमा आफ्नो प्रस्तुति दिइसकेका छन्। मेलामा सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्न तथा नेपाली कला संस्कृतिको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए।

प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रोलाई ७ हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुर्इ समूहलाई ३/३ हजार प्रदान गरिनेछ भने उत्कृष्ट लुठोलाई २ हजार नगद र प्रमापत्रसहित पुरस्कृत गरिनेछ।

यता, आइतबार मेलामा ज्योति मगरले आफ्नो तातो प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिन्। हट ज्योति स्टेजमा मात्र सिमित रहिनन्। दर्शकदीघामा ओर्र्लिन अनि छमछमी नाचिन्।  भटभटे माइलाले दर्शकलाई पेट मिचिमिची हँसाएको कार्यक्रममा लोकदोहोरी गायकहरू  ज्योति मगर, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङलगायतले पनि आफ्नो प्रस्तुतिले दर्शकको ताली खाए

पपगायकहरू  सरिता प्रजापति, अनिल विक, रोसनी गुरुङसहित साँझ डिजे सेसन समेत प्रस्तुत गरिएको थियो। सोमवार माघे संक्रान्तिका दिन शशी रावल, सहिमा श्रेष्ठ, दीपक शर्मा र  आनन्द कार्कीले सहभागिहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्। यसैगरी लोकदोहोरी गायकहरू मिलन लामा, चोलेन्द्र पौडेल, जीवन दाहाल, शंकरविरही गुरुङ, सीता केसी, अमर धिताल, चिना थापा मगर, सुरेश गुरुङलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

यता मेलाका प्रचारप्रसार समिति संयोजक दामु अधिकारीका अनुसार आइतवारसम्म करिब ४० हजारले मेलाको अवलोकन गरेका छन् भने करिब ३ करोड रूपैयाँको कारोवार भएको छ। पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ। मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्र्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ। सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले  मेलाको आयोजना गरिएको हो। लगानीको सर्म्वर्द्धन : उद्योग ब्यवसायको प्रवर्द्धन  भन्ने नारा अनुरूप नै यो मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीले तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत समर्पित रहेको संघका अध्यक्ष विश्वशंकर पालिखेले जनाए।

१२ वर्षदेखि मेलामा

कञ्चनपुरका मनिराज भट्ट यतिबेला पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा रहेका छन्। उनी बिजयसालबाट बनेका गिलास, अम्खोरा र ठेकीजस्ता सामानसहित पोखरा आएका हुन्। उनले २०६३ सालदेखि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा स्टल राख्दै आएका छन्।  ‘बिजयसालबाट बनेको गिलासमा पानी खायो भने यसले पेटको रोग निको हुन्छ,यो परापूर्वकालदेखि चल्दै आएको आर्युवेदिक औषधी हो’-उनले भने-‘बेलुका राखेको पानी बिहान हेर्दा आकासे निलो र रातो हुन्छ,चिनी रोग, ग्याष्ट्रिक,अल्सर,जण्डिसदेखि हाडजोर्र्नी दुखेकाहरूलाई यो पानी खाएपछि ठीक हुन्छ भन्ने जनविश्वास रहेको छ।’

तराईका फाँट र चुरे क्षेत्रमा पाइने बिजयसाललाई औषधीको रूपमा प्रयोग गरिन्छ। मनिराजले बिजयसालका भाँडा बनाउन सिके र यसको बिक्री गर्न थाले।  ‘बेरोजगार किन बस्ने भनेर मैले आफै बिजयसालको भाँडा बनाउन सिकेँ, अहिले यही काम गरेर मैले महेन्द्रनगरमा घडेरी नै किँने’-कञ्चनपुरका मनिराज भट्टले भने,-‘अहिले यसको माग बढेको छ।’ उनले काठका अम्खोरा, गिलास र ठेकीलाई १२ सय रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।

गुन्द्रकुदेखि खुसानीसम्म

बारीदेखि बजारसम्म ⁄ पोखराको बजार कृषि सहकारीको नारा हो यो। कर्णाली अञ्चलबाट ल्याइएको काउनो, चिनो,बन तरुल, गुन्द्रकदेखि खुसार्नी पनि बेच्छ बजार सहकारीले। ‘हामी प्राङ्गारिक खेतीको पक्षमा छौँ र त्यस्तै सामानहरू किसानको बारीबाट सोझै बजारमा ल्याउँछौं’- यो अभियानमा खटिएका तुलसी गिरीले भने-‘परम्परागत खाद्यान्नलाई उपभोक्तासम्म पुर्‍याउनु हाम्रो लक्ष्य हो।’ सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा स्टल राखी आफ्नो ब्राण्डको प्रचारमा जुटेका उनले थपे-‘मेलामा सहभागीहरूले दिनुभएको प्रतिक्रियाले हामी उत्साहित छाँै। त्यसो त उनीमात्र हैन, पर्वतबाट भट्टमास, मह, टिमुरको छोप, अनदीको चामल,लसुनदेखि हस्तकलाका सामानसहित मेलामा स्टल राखेको सौगात कोसेली घर पनि मेलाको आकर्षण बनेको छ।’

‘मेलामा नपाइने कुनै कुरा छैन, हामीकहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनहरू समावेश छन्,’ संघका अध्यक्ष विश्वशंकर पालिखेले भने-‘चिया, सावुन लगायतका दैनिक जीवनमा पाइने सामानहरू सुपथ मूल्यमा पाउनु मेलाको विशेषता हो।’ स्थानीय हावापानी सुहाउँदो तरकारीका बिउ उत्पादक हो, भरतपुरको अनमोल बिउ प्रालिदेखि मोवाइलको बृहत प्रदर्शन, अटो प्रदर्शनी, विभिन्न जातका फूलहरूले पनि गृहिणीलाई आकषिर्त गरेको अध्यक्ष पालिखेको भनाई रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width