चोरसाँघुमा पक्की पुल

आदर्श समाज सम्वाददाता
पौष २५, २०७४

पोखरा, २४ पुस। सेती तर्ने दुर्इवटा मात्रै पुल थियो-एउटा महेन्द्रपुल र अको चोरसाँघु। रामबजार, छिनेडाँडादेखि विजयपुर निस्किन मानिसले चोरसाँघु तर्थे। काठको साँघु थियो। काठकै पुल तरेर ठूला गाडी पनि आवातजावत गर्थे। पोखरेलीको मुलबाटो पनि यही थियो। २०१८ सालमा भारतीय पेन्सन क्याम्प बनेपछि बाहिरी जिल्लाका मान्छे पनि यही साँघु तरेर पेन्सन थाप्न पुग्थे।

‘पेन्सन क्याम्प बनेपछि रातसाँझ यो पुल तर्न निकै कठिन थियो। पेन्सन बुझेको मान्छेसँग पैसा चोर्न यही साँघु ढुकेर लुटेरा बस्थे’-स्थानीय सुदर्शन रञ्जित भन्छन्- ‘पैसा बोकेका मान्छे डराईडराई यो बाटो हिँड्थे। चोरको बिगबिगी बढेपछि पुलको नाम नै चोरसाँघु भयो।’

उनको अनुभवमा २०३० सालमा चाईना पुल बनेपछि मात्रै यस ठाउँमा चहलपहल घटेको हो। चाईना पुल बनेपछि चोरसाँघु ओझेलमा पर्‍यो। चहलपहल नभएपछि धेरैलाई चोरसाँघु थाहा छैन।

पोखराको बढ्दो ट्राफिक जामले सरकारलाई अको बाध्यता थपिएको छ, यसको व्यवस्थापन गर्ने। त्यसैले लामो समयपछि चोर साँघुमा पक्की पुल निर्माण भयो। पुल निर्माण भएपछि पोखरा छिर्ने वैकल्पिक बाटो पनि थपिएको छ। पोखरा वडा ७ र १५ जोड्ने गरी निर्माण भएको चोरसाँघु पक्की पुल सोमबार सांसद रवीन्द्र अधिकारीले उद्घाटन गरे।

साविक जिल्ला विकास समितिको समन्वयमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले १ करोड ६० लाख रूपैयाँ लागतमा पुल निर्माण गरेको हो। ३० मिटर लामो पुलमा सडक विभागको ७० र तत्कालीन जिविसको ३० प्रतिशत लागत परेको छ। पुल निर्माण भएसँगै पोखराका वडा ७, ९, १४, १५ र १७ का नागरिकलाई आवतजावत गर्न सहज भएको छ।

पुल उद्घाटनपछि बोल्दै सांसद रवीन्द्र अधिकारीले ५ वर्षका लागि देशको जिम्मा वाम गठबन्धनको काँधमा गएको बताए। जनताको माग स्थिर सरकार भएको भन्दै अबको ५ वर्ष गठबन्धनले देश हाँक्ने उनको भनाइ छ। ‘जनताले देशको जिम्मा गठबन्धनलाई दिएका छन्। अब त्यसको दायित्व हामी लिन्छौं’-उनले भने।

प्रदेशसभा सांसद कृष्ण थापाले राजनीतिक गतिरोध अन्त्य भएको भन्दै अब देश आर्थिक समृद्धि र विकासको मोडलमा अगाडि बढ्ने बताए।

पूर्व सांसद शारदा पौडेलले यसपालिको निर्वाचनमा पराजित भए पनि जनताको हक अधिकार र विकासको पक्षमा सधैँ लागिरहने प्रतिबद्धता जनाइन्।

जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ, वडाध्यक्ष प्रकाश पौडेल, रामचन्द्र बराल, जिल्ला इञ्जिनियर नारायण बराल लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा महानगरपालिका ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ । शुक्रबार विद्यालय…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • लायन्स फेवा वेगनासमा टीका

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को…
  • एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    पोखरा । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरहोस्टेस प्रशिक्षण सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको एयरलायन्स फ्लाइट एटेन्डेन्ट एकेडेमीले एयरहोस्टेससहितको…
  • धिमे बाजा प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८०
    लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खल: को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम…

hero news full width