नाम चलेका ३ स्कुलकै ‘इन्ट्रान्स टपर’

विजय नेपाल
असार २३, २०८१
arij pokhrel

पोखरा । पोखराका एक विद्यार्थी कक्षा ११ (विज्ञान) संकायको प्रवेश परीक्षामा ३ स्कुलमै उत्कृष्ट ठहरिएका छन् । हालै प्रकाशित एसइई–०८० नतिजामा पोखरा ८, नागढुंगाको न्यू मोडल माविबाट ३.९१ जिपिए हासिल गरेका एरिज पोखरेलले पोखराका नाम चलेका मदरल्याण्ड, एसओएस र प्रतिभा माविको परीक्षामा १ नम्बरमै नाम निकालेर सबैलाई आश्चर्यचकित पारेका हुन् ।

रोचक त के भने एसइईमा सर्वोत्कृष्ट जिपिए ४.० ल्याएकासहित कैयौं अब्बल विद्यार्थीबीच प्रतिस्पर्धामा खरो उत्रिएका उनले शुक्रबार एकै दिन ती परीक्षा दिएका हुन् ।

मदरल्याण्ड, एसओएस, प्रतिभा माविसहित धेरै विद्यालयको प्रवेश परीक्षा केही घण्टा फरकमा थियो । एरिजका बाबुले सबैमा फर्म भरिदिएका थिए । सबैभन्दा पहिले ७ः०० बजे एसओएसमा १०० पूर्णांकको (निर्धारित २ घण्टा) जाँच दिएपछि दिउँसो १२ः३० बजे बाबुसँगै मासबारस्थित मदरल्याण्ड आए । त्यहाँ १ घण्टामा जाँच सकेपछि हतारहतार दिउँसो २ः३० बजे पालिखेचोकस्थित प्रतिभा मावितिर हानिए ।

सबैमा एसइईकै बेला पढेका विज्ञान, गणित र अंग्रेजी विषयलाई नै आधार मानेर प्रवेश परीक्षा लिइएको थियो । उनले ढुक्कले परीक्षा दिए । अझ लामाचौरस्थित गण्डकी बोर्डिङमा समेत देखाउने इच्छा थियो रे । मदरल्याण्ड र गण्डकी बोर्डिङको समय जुधेकोले त्यता छोड्न बाध्य भएको पोखरेल परिवारले जनाएको छ ।

एसइईमा ३.९१ जिपिए ल्याएका एरिज पोखरेल एसओएस, मदरल्याण्ड र प्रतिभामा १ नम्बर

परीक्षा दिएका ३ वटै स्कुलको नतिजामा १ नम्बरमा नाम निकालेका उनले उच्च शिक्षाको पढाइ भने एसओएस रोजेका छन् । बाबु लक्ष्मण पोखरेलका अनुसार सबैमा सर्वोत्कृष्टलाई पूर्ण छात्रवृत्तिमै पढ्ने अवसर थियो तर एसओएस अन्तर्राष्ट्रिय ब्रान्ड भएकोले र घरनजिकै भएकोले पनि एसओएस रोजेको बाबु लक्ष्मण पोखरेलले खुलाए । एसओएसमा करिब १३ सय, मदरल्याण्डमा १२ सय र प्रतिभामा १६ सय जनाले कक्षा ११ को प्रवेश परीक्षा दिएकोमा एरिज नै टपर भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

सानैदेखि पढाइसँगै अतिरिक्त क्रियाकलापमा प्रथम पुरस्कार जित्ने एरिज भविष्यमा एरोनटिकल इन्जिनियर बन्ने लक्ष्य रहेको बताउँछन् । एसइईमा जिपिए ४.० ल्याउन नसके पनि प्रवेश परीक्षाको यो नतिजाले निकै खुसी लागेको उनले बताए ।

छोराको यो नतिजाले पोखरेल परिवार पनि निकै खुसी छ । न्यू मोडलकै सहनिर्देशक बाबु लक्ष्मण केही महिना अघिसम्म त्यहाँ प्राचार्य थिए । उनले भने, ‘छोरो नर्सरीदेखि नै कहिल्यै सेकेण्ड भएन । सधैं फस्ट भयो । पढाइमा अनुशासन र लगनशीलता नै सफलताको राज हुनुपर्छ ।’ उनले सिमलचौरको डायनामिकमा ५ कक्षासम्म पढेकोमा स्कुल मर्जसँगै ६ देखि न्यू मोडल पढेका हुन् ।

उनका अनुसार छोराले नयाँ चिज देख्नेवित्तिकै चासो दिने, नयाँ–नयाँ शब्द जान्न उत्सुक हुने गर्दछन् । एरिज उमेरले बल्ल १६ वर्ष टेके । एरिज फिजिक्स र म्याचमा उनको बढी रुची छ ।

कास्कीको निर्मलपोखरीका पोखरेल परिवार हाल पोखराको बिरौटा बस्दै आएको छ ।

पोखरेल परिवारमा दाजुभाइ नै पढाइमा तेज हुन् । भाइ अनिज हाल कक्षा ९ (न्यू मोडल) पढ्छन् । एरिज र अनिज दुवैले भाग लिएका प्रदेशस्तरीय हाजिरीजवाफ तथा म्याथ क्वीजमा धेरै पल्ट प्रथम भएर पुरस्कार जितेको प्रिन्सिपल भेषराज शर्मा पोखरेलले बताए । एरिजको हालै प्रकाशित एसइई नतिजामा नेपाली र सामाजिकमा मात्र ‘ए’ ग्रेड आएकोमा अन्यमा ‘ए’ प्लस छ ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग