मिर्गौला पीडित लक्ष्मीलाई १ लाख सहयोग

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
Bindu thapa karmacharya prgm

पोखरा । पोखरा १४, परिवर्तन टोल सुकुमबासी वस्ती निवासी वर्ष ३२ की मिर्गौला पीडित लक्ष्मी विश्वकर्मालाई १ लाख रुपैयाँ नगद सहयोग गरिएको छ ।

कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा लक्ष्मीसुन्दरी कर्माचार्य मिर्गौला पीडित सहयोग कोषबाट उनलाई आर्थिक सहयोग गरिएको हो । स्व. कर्माचार्यको स्मृतिमा चन्द्रकृष्ण कर्माचार्य परिवारबाट स्थापित कोषबाट दिइने रकम गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पीडित विकलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री थापाले मिर्गौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताए । डायलसिस सेवा उपलब्ध गराएको र महँगो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था नरहेको उनले जनाए । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास भइरहेको तथ्यांक उनले उल्लेख गरे ।

नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले स्वास्थ्य सचेतनाको आवश्यकता रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारबारे सरकारले सोच्नुपर्ने बेला आएको बताए । सर्ने रोगसँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

डा. अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मिर्गौलामा समस्या पर्ने उल्लेख गरे । प्रत्येक ६ महिना वा वर्षदिनमा मिर्गौलाको जाँच गर्नुपर्ने भनाइ उनको छ ।

आधाभन्दा बढी बिरामी मिर्गौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उनले उल्लेख गरे । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मिर्गौला रोग लाग्ने भनाइ उनको छ । मिर्गौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङ्जा प्रमुख गोविन्दकुमार वसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेश प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य लगायतले बोलेका थिए । स्वागत मन्तव्य पुरस्कारदाता लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग