जेपी क्रस १०० वर्ष : पोखरामा भव्य अभिनन्दन

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
JP Cross 2

पोखरा । नेपालको सुन्दरता र नेपाली मायाले लोभिएर पोखरामा लामो समय जीवन बिताएका एक बेलायती नागरिकको १०० वर्ष ‘सेलिब्रेसन’ भव्य भएको छ । उनको १०० वर्षको जन्मदिन अवसरमा शनिबार पोखरासहित विभिन्न ठाउँका २१ संघसंस्थाले अभिनन्दन गरे । नेपाली राष्ट्रियताका हिमायती एवं कलासंस्कृतिका उनै संरक्षक कर्णेल जेपी क्रस विसं १९८१ सालमा जन्मिएका उनी ७ असारदेखि १०० वर्ष टेकेका हुन् । शनिबार सार्वजनिक बिदाको दिन पारेर पोखरा नयाँबजारस्थित लमजुङ समाजघरमा विशेष समारोह आयोजना गरिएको थियो ।

समारोहमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले अभिनन्दन गरेको हो भने ब्रिटिस वेलफेयर, हिमाली सांस्कृति परिवार, लमजुङ समाज, दुरा सेवा समाज लगायतका २१ संघसंस्थाले मायाको चिनोका साथ सम्मान अर्पण गरेको उनका धर्मपुत्र एवं बुद्धिमान दुरा ‘धम्पु’ ले जानकारी दिए ।

नयाँ पुस्ता नेपाली नागरिकता त्यागी विदेशको मोहमा रमाइरहँदा एक बेलायती नागरिक जो ब्रिटिस सेनाको कर्णेल भएर पनि बेलायतको नागरिकता त्याग गरी नेपालमा रमाउनु गर्वको विषय भएको सहभागीको भनाइ थियो ।

समारोहमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले उनको संरक्षकत्व र प्रेरणा नभएको भए सायद ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आजका दिनमा धम्पुलाई संरक्षकका रुपमा पाउन र संस्थाको आजको गौरवपूर्ण अवस्था पनि हुन सक्दैन्थ्यो भने । पहाडीले भने, ‘लोककला संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका कार्यमा गर्नु भएको अतुलनीय कार्यको उच्च कदरका गर्दै अभिनन्दन गर्नु आफ्नो कर्तव्य ठानेका छौं ।’

समारोहमा प्रतिष्ठान वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष शोभा थापा, महिला उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, उपमहासचिव आशबहादुर विक लगायतका पदाधिकारी, सदस्यले संयुक्त रुपमा खादा लगाएर अभिनन्दन गरेका थिए । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष घिमिरेले कर्णेल जेपी क्रसको जीवनीमा आधारित एक छन्द कविताको वचन गरेका थिए ।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जेपी क्रसकै कारणले आफ्नो संस्था यो स्थापनामा पुगेको स्मरण गरे । उनले आफ्नो संस्थाको अक्षयकोष राख्ने कार्यमा जेपी क्रस र ‘धम्पु’ को सम्बन्ध जोडिएको रजत वर्ष अवसरमा २०५७ सालमा १ लाख २५ हजार रुपैयाँ प्रदान गरेर अक्षयकोषको थालनी गरेको स्मरण गर्दै जेपिका बाबु–छोराले अतुलनीय गुन लगाएको बताए । कार्यक्रममा परिवारका कलाकारले जेपि क्रसलाई मनपर्ने गीत ‘वारि जमुना, पारि जमुना’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

लमजुङ समाजका अध्यक्ष देवबहादुर गुरुङसहित सो समाजका सदस्यले पनि मायाको चिनोसहितको सम्मान अर्पण गरेका थिए । उक्त संस्थाका कलाकारले पनि जेपी क्रसलाई मनपर्ने कौरा गीत र नृत्य प्रस्तुत गरे ।

दुरा सेवा समाज पोखराका अध्यक्ष सुवे दिनेश दुराले पनि शुभकामना मन्तव्य दिए । दुरा सेवा समाजका कलाकारले ‘गोरखाको डाँडैमा हावा सरर’ तथा ‘मेरो माया छाडेर काँ जाला’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे ।

२०३२ सालदेखि स्थायी रुपमा नेपाल बसोबास गरिरहेका उनी भन्छन्, नेपाल चुम्बक हो, म फलाम

उनलाई शुभकामना दिनेहरुमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठान अध्यक्ष पद्मराज ढकाल, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ दम्पती, प्राज्ञ गजेन्द्र गुरुङ, मुनाल फिल्म टेलिभिजका प्रोप्राइटर भोज गुरुङ, रोधिं टेलिभिजन संरक्षक गमबहादुर गुरुङलगायत विभिन्न कलाकार, साहित्यकार, राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारण लगायत सयौं संख्यामा मानिस उपस्थित थिए ।

नेपालीबाट यति धेरै माया पाएकोमा हर्षित हुँदै कर्णेल जेपी क्रसले राजा वीरेन्द्रको निगाहले आफू नेपालको नागरिक हुन पाएको भन्दै खुसी व्यक्त गरे । आफ्ना धर्मछोरा ‘धम्पु’ सँग अघिल्लो जन्मदेखिकै सम्बन्ध भएकै कारणले यो जन्ममा पनि सँगै हुन पाएको उनको भनाइ थियो ।

उनी विसं २००३ सालमा पद्मशमशेर जबराको निम्तोमा पहिलो पल्ट नेपाल आएका थिए । त्यसबेला उनी ब्रिटिस आर्मीको क्याप्टेन थिए । त्यसबेला उनी १ महिना घुमेर स्वदेश फर्किएका थिए । त्यसपछि २०१८, २०२२ र २०२८ सालमा पनि नेपाल आएका थिए । उनी २०१८ र २२ सालमा नेपाल आउँदा पोखरा २२/२२ दिन घुमेका थिए । २०२८ सालमा उनी ४९ दिने यात्रामा नेपालको पूर्वदेखि पश्चिम सुर्खेतसम्म पुगेका थिए । उनी २०३२ सालदेखि नेपालमा स्थायी रुपमा बसोबास गर्न गरिआएका छन् । ३२ सालमा उनी भैरहवाको पब्लिहवामा ब्रिटिस सेनाका प्रमुख सेनानीको हैशियतमा सेवा गरे । ७ वर्षसम्म त्यहाँ सेवा गरेका उनी २०३९ असारमा अवकास भए । त्यसयता, उनी पोखरामा निरन्तर छन् । हालसम्म ४० देश घुमेका उनी पोखराको सेती नदीमै आफ्नो अन्त्येष्टिको चाहना राखेका छन् ।

नेपाललाई कर्मभूमिका रुपमा रोजेका कर्णेल जेपी क्रसका २२ कृतिहरू प्रकाशित गरेका छन् । ३ कृतिहरू प्रेसमा जाने तयारीमा छन् । उनी अंग्रेजी बाहेक नेपाली, रोमन, उर्दू, क्यान्टोनिज, मलायालम, इबान, फ्रेन्च, हिन्दी, थाई, भियतनामी, तेमियार भाषामा पोख्त छन् । नेपाली भाषामा त्रिभुवन विश्वविद्यालयबाट स्नातक समेत गरेका उनले त्रिविकै नेपाल तथा एशियाली अध्ययन केन्द्र सिनासमा अनुसन्धाताका रूपमा पनि सेवा गरे । उनलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा नेपाली नागरिकता प्रदान गरिएको थियो ।

जीवनभर अविवाहित बसेका उनी लमजुङ दुराडाँडाका धम्पुलाई धर्मपुत्रको रुपमा स्वीकार गर्दै उनीसँगै पोखरा १५, नयाँगाउँमा बसोबास गर्दै आएका छन् । जेपी क्रसलाई पोखरामा पाउनु पोखरेलीको लागि पनि गौरवको कुरा हो । विभिन्न सामाजिक कार्यमा रुची राख्ने उनको नाउँमा पोखरामा जेपी क्रस बास्केटबल हुँदै आएको छ । विगतमा विद्यालयस्तरमा हुने यो प्रतियोगिताको ३१ संस्करण पूरा भइसकेको छ । हाल जिल्ला बास्केटबल संघ कास्कीले यो प्रतियोगिता आयोजना गर्छ । हालैमात्र टाइगर ग्रुप अफ पोखराले टाइगर कपको अवसरमा जेपी क्रसको खेलकुद क्षेत्रमा योगदानको कदर गर्दै सम्मान गरेको थियो । त्यसो उनी दर्जनौं संघसंस्थाबाट सम्मानित छन् । उनी भन्छन्, ‘नेपाल चुम्बक हो । म फलाम । जसले आकर्षित गरिरहेको छ ।’

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग