प्राइम सहकारी ठगी प्रकरण : मुख्य योजनाकारसहित ७ जना कारागार चलान

विजय नेपाल
असार ६, २०८१
court order

फाइल

पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको ठगी मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने अर्को सहकारी ठगी मुद्दामा कारागारमै छन् ।

सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका अधिकृत अस्मिता सिटौलाले जानकारी दिइन् ।

जिल्ला सहकारी वकिलको कार्यालयले उक्त सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

३ दिनसम्मको थुनछेक बहसपछि बिहीबार मात्र यस्तो आदेश आएको हो । अदालतमा हालसम्म ९ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी अझै फरार छन् । अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए ।

नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको यो ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठूलो सहकारी ठगी प्रकरण हो ।

वादी नेपाल सरकारतर्फ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता विपीनराज तिवारीले र प्रतिवादीका तर्फबाट करिब डेढ दर्जन अधिवक्ताले बहस गरेका थिए ।

पोखराको गैह्रापाटनमा कार्यालय रहेको प्राइमको ठगी प्रकरणले यस क्षेत्रको समग्र सहकारी क्षेत्र तरंगित छ । सो मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारी कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी, समेतलाई विपक्षी बनाइएको छ । विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धानबमोजिम १ अर्ब ५७ करोड १५ लाख हिनामिना भएको देखाइएपछि सरकारी वकिल कार्यालयले सोही रकम आधार मानेर अभियोगपत्र दायर गरेको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् । प्रहरीले गत २० जेठको समय दिएर सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित उजुरी दिन आह्वान भएकोमा झण्डै १ हजार बचतकर्ताले उजुरी दिएका थिए । सहकारीमा बचत खाता कुल ३ हजार ५ सय ८५ वटा र १ हजार ८ सय ६२ बचतकर्ता छन् ।

६५ प्रतिवादीमध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने सरकारी वकिल कार्यालयको राय छ । अभियोगपत्रमा सहकारी विभाग काठमाडौंका कर्मचारीले रकम लिएको, वैदेशिक भ्रमणमा सहकारीकै खर्चमा गएको, सहकारी विभागबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेलले समेत १५ लाख रकम लिएको अभियोग छ ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोगपत्रमा छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी सहकारीको अनियमिततामा संलग्न रहेको प्रतिवादीले बयान दिएका छन् । प्रदेश नीति तथा योजना आयोगका सचिव उनी हाल सम्पर्कमा छैनन् ।

स्रोतका अनुसार सहकारी अध्यक्षको चेकमा हस्ताक्षर नचल्ने र प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मात्र हस्ताक्षर चल्ने गर्दथ्यो । प्रमुख कार्यकारी निर्देशक पौडेलले तलबभत्तामात्र २ लाख र व्यवस्थापन थापाले १ लाखभन्दा बढी बुझ्ने गर्दथे ।

पोखरामा प्राइमसहित विभिन्न ७ सहकारीको ठगीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०६६ सालमा पोखरा सर्वेश्वर मार्गबाट सेवा थालेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो । सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयको रुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो । केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएको थियो । कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले २ वर्षअघि कास्कीको नयाँपुल, पोखरा बगरमा पनि सेवा केन्द्र खोलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग