कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो   

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
lamaya pul before

पर्वत ।  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।

पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ ।

यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो ।

इन्जिनियर गौतमले ठेकेदारलाई एक/दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।

कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए । रासस

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग