गैंडाकोटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
gaidakot

चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख मदनभक्त अधिकारीले बुधबार नगर सभाको १५औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइएको हो ।

पूर्वाधार विकासको काम संघीय र प्रदेश सरकारको भएको भन्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले पूर्वाधारबाहेकको विकासलाई ध्यानमा राखेर बजेट बनाउने बताए । ‘हामी सबैको साझा अठोट: शान्त समुन्नत गैँडाकोट’ भन्ने नगरपालिकाको दीर्घकालीन सोचलाई साकार पार्नेगरी नीति तथा कार्यक्रम ल्याइएको उनले बताए । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई नगर विकासको मेरुदण्डको रुपमा लिँदै सुशासन र संस्थागत विकासमा जोड दिइने, पर्यटन र उद्योगको विकास, वातावरण संरक्षण एवं जनजीविकासँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

स्वास्थ्यतर्फ ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रममार्फत् नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्था एवं बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई ५ हजार सुत्केरी भत्ताको व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकको वडा नम्बर ३ र १८ का गर्भवतीको सुविधाका लागि नगर अस्पतालमा आमा घर सेवालाई निरन्तरता दिँदै ग्रामीण घुम्ती भिडियो एक्सरे सेवालाई निरन्तरता दिइने नगरप्रमुख अधिकारीले बताए । त्यस्तै, ७० वर्षभन्दा माथिका नागरिक, अशक्त, अपांगहरूको लागि घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने, गरिब विपन्न वर्गका लागि निशुल्क उपचार गर्न स्वास्थ्य कोषको स्थापना गर्ने, आयुर्वेद औषधालयबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै निशुल्क आयुर्वेद औषधी उपलब्ध गराउने अधिकारीको भनाइ छ ।

शिक्षातर्फ निशुल्क शिक्षालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीबाट कुनै पनि नाममा लिइने शुल्कलाई पूर्णरुपमा निषेध गरी विद्यालय सञ्चालन गर्न आवश्यक न्यूनतम स्रोतको सुनिश्चितता गर्ने उनको भनाइ छ । विद्यालयमा शिशु स्याहार केन्द्रको सञ्चालनमा छुट्टै संरचना निर्माण गरी सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउने, गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना गर्नका लागि आवश्यक सहजीकरण गर्ने, सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा दरबन्दी व्यवस्था गरी शिक्षक तथा कर्मचारीको उपयुक्त व्यवस्था गर्ने, विद्युतीय पठनपाठनलाई प्रभावकारी बनाउने नगरप्रमुख अधिकारीले बताए ।

पूर्वाधार विकासको काम संघीय र प्रदेश सरकारको भएकाले नगरपालिकाले पूर्वाधारबाहेकमा जोड दिएर बजेट बनाउने

कृषितर्फ ‘हाम्रो भान्छाघर हाम्रै अन्न हाम्रो दाल’ भन्ने नारालाई सार्थक बनाउन कृषि उत्पादनमा वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने, रैथाने खाद्य बालीहरू कोटो, गिठा, तरुललाई विशेष प्राथमिकता दिई उत्पादकत्व वृद्धि गर्ने, फूलखेतीलाई प्रोत्साहन गर्ने, अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘दुई बाली धान लगाऊँ ः खाद्य सुरक्षा रोजगारको आधार बनाऊँ’ भन्ने नारालाई आत्मसात् गर्दै चैते धानको क्षेत्र विस्तार गरिने, चैते धानको उन्नत बिउ उत्पादनमा जोड दिइने, कृषिमा लागत मूल्य घटाउन यान्त्रिकीकरणमा जोड दिँदै मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आयात निरुत्साहन गरिने नगरप्रमुख अधिकारीले बताए । नगरपालिकाभित्रको भिरालो जमिनमा कागती, सुन्तला जातका फलफूल, अम्रिसो तथा डाले घाँस लगाउने किसानलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।

आगामी वर्षका लागि नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति, सामाजिक विकाससम्बन्धी विभिन्न नीति, युवा तथा खेलकुद, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना, पूर्वाधार तथा भौतिक विकाससम्बन्धी नीति, सञ्चार तथा सूचना प्रविधि क्षेत्र, पर्यटन, आर्थिक विकास, वन तथा वातावरण, राजस्व तथा स्रोत परिचालनलगायतमा विभिन्न नीति तथा कार्यक्रम ल्याइएको छ ।

नगरसभामा नगर उपप्रमुख शान्ति कोइरालाले ‘गैंडाकोट नगरपालिकाको संस्था दर्ता विधेयक, २०८१’ प्रस्तुत गरेकी थिइन् । नगर सभामा प्रस्तुत नीति तथा विधेयकमाथि नगरसभा सदस्यहरूले विभिन्न धारणा राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले क्षेत्रीयताको हिसाबले बजेट वितरण गरिने बताए । आवश्यकताको आधारमा बजेट बाँडफाँट गरिने भन्दै आवश्यकता भएको ठाउँमा धेरै र कम आवश्यकता भएको क्षेत्रमा कम बजेट प्रदान गरिने बताए । नगरपालिकामा आगामी आर्थिक वर्षदेखि हरेक महिना कम्तीमा एकपटक बजार अनुगमन गरिने भन्दै नगरको सुशासन कायम गर्न आफूहरू प्रयत्नशील रहेको बताए ।

बुधबार नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम एवं विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि शुक्रबार विनियोजित बजेट प्रस्तुत गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आगामी वर्ष १ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…

hero news full width

trending post

ट्रेन्डिङ्ग