स्याङ्जाको लामागेमा क्रसर नराख्न अन्तरिम आदेश

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
high court pokhara

पोखरा । स्याङ्जाको पुतलीबजार १४, लामागे फाँटमा क्रसर उद्योग स्थापना सम्बन्धी कार्य नगराउन उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । लामागेको छिपेहट्टिया नजिक पुलको आडमा स्थानीयको खेतमा क्षति पुग्ने, नजिकैको वस्ती र विद्यालयमा समेत वातावरणीय प्रदूषण हुने गरी क्रसर उद्योग स्थापना हुन लागेकाले रोकी पाउन रिट दायर भएको थियो ।

पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, वडा १४ को कार्यालय र लामा कन्स्ट्रक्सन समेतलाई विपक्षी बनाएर स्थानीय अग्निप्रसाद भण्डारीसमेतले जेठ २५ गते रिट दायर गरेका थिए ।

न्यायाधीश धनसिंह महराको इजलासले असार ३ गतेसम्म निवेदनमा उल्लेखित स्थानमा क्रसर उद्योग स्थापना सम्बन्धी कार्य नगर्नू–नगराउनू भनी जेठ २७ मा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरेतर्फ विचार गर्दा दुवै पक्षको कुरा सुनी अन्तरिम आदेश जारी हुने हो वा होइन भन्ने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनका लागि असार ३ गते छलफलका लागि अदालतले पेसी तोकिदिएको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले बहस गरेका थिए ।

आदेशमा निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना सामेल भएको मितिले बाटो म्याद बाहेक विपक्षीहरुले कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग