पर्यटकीय राजधानीपछि अब के ?

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
pokhara tourism news final

पोखरा । पोखरालाई गत ४ चैतमा ‘पर्यटकीय राजधानी’ घोषणा गरियो । अब पोखरालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती छ । पोखरालाई अब कसरी ब्रान्डिङ गर्न सकिन्छ त ? आर्थिक मिडिया प्रालिले मंगलबार यही विषयमा केन्द्रित भएर ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एन्ड ब्रान्डिङ’ विषयक बहस कार्यक्रम गरेको छ ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय राजधानी घोषणालाई सार्थक पार्न पोखराको हकमा साहसिक खेल पर्यटनलाई प्रकृति र संस्कृति पर्यटनभन्दा बढी जोड दिइनुपर्ने बताए । ‘पोखरा र सेरोफेरो हेर्दा साहसिक क्षेत्र भनेर चिनाउन सक्नुपर्छ ।

पोखरा फोहोर भएको भन्ने गुनासो विदेशी र काठमाडौं बस्नेहरूबाट आएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनले सुनाए । पर्यटकलाई सुरक्षित अनुभूत गराउन सिसिटिभी र स्ट्रिट लाइट जोड्न आवश्यक रहेको भट्टराईले बताए ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी उपाध्यक्ष डा. कृष्ण देवकोटाले घोषणा कार्यान्वयनमा सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाले पनि ध्यान दिनुपर्ने बताए । पर्यटकीय राजधानी घोषणा गर्न अझै ढिलो भएको उनको जिकिर थियो । होटल बन्नुमात्र सबथोक होइन,’ उनले भने, ‘यो घोषणा अझ पहिला हुनुपथ्र्यो । अब घोषणा भइसक्या । कार्यान्वयन गर्न प्रदेश सरकार, महानगर, निजी क्षेत्रले बहस गरौँ ।’

नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज प्राचार्य प्रकाश रेग्मीले पर्यटकीय राजधानी घोषणापछि पूर्वाधार, सुरक्षा, खाना डिजिटल मार्केटिङ र सेवा दिएपछि प्रतिक्रिया लिनेजस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उत्पादित जनशक्तिले उचित सेवासुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनले जिकिर गरे । ‘नेपालमै काम गर्दा १५÷२० हजार पाउँछन् । २÷३ महिना इन्टर्न गर्नुपर्छ । त्यो भएपछि यहाँ पढेकाहरू विदेश जान्छन्,’ उनले सुनाए । पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष भट्टराईले नेपालको व्यवसायस्तरले गर्दा विदेशमाजस्तो पारिश्रमिक दिन सम्भव नरहेको बताए ।

भट्टराई, देवकोटा र रेग्मी सहभागी छलफललाई पत्रकार दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए ।

आर्थिक मिडिया प्रालि आयोजनामा ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एन्ड ब्रान्डिङ’ विषयक बहस

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले पोखरामा प्राकृतिक संरचना रहेको तर मानवनिर्मित संरचना थप गर्न आवश्यक रहेको बताए । कार्यपत्र प्रस्तुत गर्दै उनले कोरोना संक्रमणपछि घटेको पर्यटकको आवागमन गत अंग्रेजी वर्षमा १० लाख पुगेको र यो सकारात्मक भएको बताए । सापकोटाले पोखरामा पर्यटक बढाउन र बसाइँ लम्ब्याउन चिडियाखाना, पार्क, वाटर स्पोर्टस्जस्ता संरचना थप्न आवश्यक रहेको सुनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र पर्यटकलाई गुणस्तरीय सवारीको व्यवस्था आवश्यक रहेको उनले औंल्याए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्न सकेमा धेरै खर्च गर्ने र ठूला कार्यक्रम पोखरामा ल्याउन सकिने उनको भनाइ थियो ।

पोखराका मेयर धनराज आचार्यले संघ, प्रदेश र स्थानीय सरकार पोखरालाई पर्यटन केन्द्रित योजना र बजेट बनाउन बाध्य भएको र यसको प्रभाव दीर्घकालमा देखिने बताउँछन् । ‘पर्यटनको राजधानी घोषणाले केन्द्र सरकार पर्यटनका लागि काम गर्न नीतिगत हिसाबले बाध्य भएका छौं,’ उनले भने, ‘ब्रान्डिङ भनेको आजको आजै होइन । दीर्घकालीन हिसाबले यसमा फाइदा पु¥याउँछ ।’ धेरै खर्च गर्ने पर्यटक ल्याउन समय लाग्ने मेयर आचार्यको भनाइ थियो । पोखराको पर्यटन भनेको लेकसाइडमात्र हो भन्ने भाष्य बनाइएकोमा उनले आपत्ति जनाए ।

पोखराको पर्यटन क्षेत्रसँग प्रत्यक्ष÷अप्रत्यक्ष जोडिने २८ अर्बका प्रोजेक्ट कार्यान्वयनमा रहेको मेयर आचार्यले जानकारी दिए । बेगनास तालमा १ अर्ब रूपैयाँ बराबरको वाटर स्पोर्टस् खेल सञ्चालन गर्ने अन्तिम तयारी रहेको उनले बताए ।

कार्यक्रममा काठमाडौं उद्योग वाणिज्य संघका सदस्य उज्ज्वलजंग शाह, पोखरा उद्योग वाणिज्य संघ कावा अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्य, गो बञ्जी नेपाल प्रबन्धक मीना लामा बराललगायतले विचार राखेका थिए ।

आर्थिक मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र पौडेलले सञ्चार क्षेत्रले पनि सरकारको घोषणालाई सफल पार्न सहयोग पार्नुपर्छ भनी बहस गरिएको बताए । पत्रकार बासुदेव मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width