गणेशमान पालिखेको योगदानको स्मरण

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Ganesh Man Palikhe Program

पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानीत विश्वविद्यालयउन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १९ औं स्मृति दिवस सन्दर्भमा बिजुक्छेले भने, ‘२०३९ सालमा पृथ्वीनारायण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ । पारिवारिक रूपमा नातेदार र आफ्ना राजनीतिक गुरु भए पनि उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्दा खेपेका छौं ।’ क्याम्पसकै लागि ज्यानको आहूति दिएका पालिखे शिक्षामै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको उनको भनाइ थियो ।

सिर्जना विकास केन्द्र अध्यक्ष एवं सञ्चालक समिति सदस्य विष्णुप्रसाद बरालले क्याम्पस स्थापना गर्दा अमेरिकाबाट उच्चशिक्षा लिएका प्रेमनारायण बराल संस्थापक अध्यक्ष र जर्मनीबाट व्यवस्थापन विषयमा उच्चशिक्षा लिएका गणेशमान पालिखे संस्थापक क्याम्पस प्रमुख पाउँदा नै क्याम्पसले गति लिएको स्मरण गरे ।

पूर्व क्याम्पस प्रमुख माधवप्रसाद घिमिरेले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरकै शिक्षा क्षेत्रमा व्यवस्थापन संकायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस संघका संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।

सल्लाहकार डा.वीरबहादुर कार्की, निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का, सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, प्रशासक एकनारायण अर्याल, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइ अध्यक्ष विकास थापामगर, कर्मचारी संघ जनप्रिय एकाइ अध्यक्ष देवी पनेरु लगायतले क्याम्पसलाई मानीत विश्वविद्यालय बनाउन संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कार्यसम्पादन गर्दा गन्तव्यमा पुगिने विचार राखे ।

पालिखेको सम्झनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामकरण गरिएको छ । उनकी धर्मपत्नी गंगादेवी पालिखेले पति गणेशमानको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्देश्यले कोष स्थापना भएको सहायक प्रशासक महादेवकुमार पालिखेले बताए ।

२०६२ जेठ २९ मा तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुंगा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्कीबाट २०२२ सालमा एमकम पास गर्ने उनी पहिलो व्यक्ति हुन् । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट २ पटकसम्म गुणमापन तथा प्रत्ययान प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट २ पटक मुलुकभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्नलायक छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग