फडिन्द्र फड्किँदा पाण्डेलाई बहुमत

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
448123354_409795794853821_6135109988169317342_n

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) नेता फडिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मत दिएपछि पाण्डेको पक्षमा ३१ सिट पुगेको हो ।

सर्वोच्चको परमादेशपछि जेठ १६ गते संसद्को ठूलो दल हैसियतले मुख्यमन्त्री नियुक्त पाण्डेले बजेटको सम्मुखमा संसद ‘फेस’ गर्ने ‘रिस्क’ लिएका थिए । उनले संसदमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २८ मत प¥यो । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र देवकोटाले मत दिएका थिए । विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मत दिए ।

नेपालको संविधान अनुसार ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । सभामुख कृष्णप्रसाद धितालले संसद बैठकमा पाण्डेले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् । एमाले र माओवादी दुवै दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका थिए । फडिन्द्र माओवादीको ह्वीप उल्लंघन गरेर पाण्डेको पक्षमा खुलेका हुन् । उनको मतसँगै पाण्डे सरकार ढल्नबाट जोगिएको छ ।

संसद बचाउन ‘फ्लोर क्रस’: देवकोटा

फ्लोर क्रस गरेपछि देवकोटाले आफ्नो निर्णयको बचाउ गर्दै संसद र सरकारको स्थायित्वका लागि यस्तो निर्णय लिएको जिकिर गरेका छन् । माओवादीको चुनाव चिन्हबाट निर्वाचित भए पनि निर्वाचन आयोग र प्रदेशसभा सचिवालयमा आफ्नो पार्टी नेसपा नै भएको उल्लेख गरिएकोले आफ्नो निर्णय लिन सक्ने उनको दाबी छ । ‘हामी सबैलाई थाहा छ, गण्डकी प्रदेशको स्थिति अलि जटिलतातर्फ गयो । १४/१५ महिनामा चार पटक सरकार फेरबदलको स्थिति बन्यो । गण्डकी प्रदेश रहने कि नरहने चुनौती मैल देखें,’ उनले पत्रकारसँग भने, ‘पार्टीभित्र यसबारेमा धेरै छलफल ग¥यौं । सबैभन्दा ठूलो कुरा प्रदेश र प्रदेश सभा स्थायित्व दिने कुरा थियो । मैले संसदको स्थायित्वका लागि यस्तो निर्णय लिएको हुँ ।’ माओवादीले कारबाही सिफारिस गरे पनि आफूलाई कारबाही नलाग्ने उनको तर्क छ । ‘मेरो पार्टी नेसपा भएका कारणले कानुनले दिएको अधिकार प्रयोग गरेको हुँ । चुनावमा एकल चिन्ह रहे पनि मेरो परिचयपत्र र संसदीय दलले दिएको परिचयपत्र, प्रदेश सभाले दिएको परिचयपत्र र निर्वाचन आयोगको वेबसाइटमा पार्टीको नाम नेसपा रहेकाले पार्टीको निर्देशन अनुसार मतदान गरेको हुँ,’ उनले अघि भने, ‘अब कारबाही प्रक्रियाका लागि दलले नेसपामा पठाउँछ । मैले गलत गरेको भए पार्टीले कानुन अनुसार गर्छ ।’

देवकोटालाई कारबाही हुन्छः चुमान

ह्विप उल्लंघन गरेकोमा देवकोटामाथि कारबाही गर्ने माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् । उनले भने, ‘उहाँले दलको ह्विप उलंघन गर्नुभएको छ । संविधान र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं । कारबाहीको जानकारी पार्टी केन्द्रलाई पनि दिनुपर्छ । कारबाहीको सबै प्रक्रिया पूरा भएपछि संसद् सचिवालयमा पेस गरिन्छ । कारबाही भएको कुरा सभामुखले संसदमा जानकारी दिएपछि पदमुक्त हुनुहुनेछ ।’ देवकोटा नेसपामा आवद्ध भए पनि अहिलेका लागि माओवादीकै सांसद भएको उनको तर्क छ । ‘कानुनमा स्पष्ट छ । उहाँको अर्को दल छैन । माओवादीको चुनाव चिन्ह लिएर जितेपछि माओवादी संसदीय दलको सदस्य हुनुहुन्छ’, उनले भने, ‘कानुन बमोजिम कारबाही हुन्छ । चित्ता नबुझे अदालत जान सक्नुहुन्छ ।’

पाण्डे सरकारले आफ्नो क्याबिनेटमा फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई लैजाने भएका छन्

पजेरो काण्डको दोस्रो रुप: अधिकारी

विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संघीय संसदमा यसअघि भएका विकृत स्वरुपको दोस्रो रुप गण्डकीमा देखिएको आरोप लगाएका छन् । ‘५१ सालमा संसदलाई विकृतिको चुली बनाउँदा देशमा द्वन्द्व निम्तियो । हिजो पजेरो र विकृतिको ओइरो थियो । ठ्याक्कै त्यस्तो भयो गण्डकीमा,’ उनले भने । कांग्रेसलाई सत्ता बाहेक केही नचाहिएको अधिकारीले टिप्पणी गरे । दललाई कमजोर बनाउने काम बहुदल मान्ने पार्टीबाट हुनु गलत भएको उनको तर्क छ । ‘दललाई कमजोर बनाउने काम हामीबाट त गर्न भएन नि । हाम्रा कुरा दलमा राख्ने हो,’ उनी भन्छन्, ‘तर दलको ह्वीप मान्नैपर्ने कुरा ऐनमा लेखिएको छ । ऐनलाई ठाडै उल्लंघन गर्ने कुरा दिनडहाडै गर्न मिल्छ र ?’

केन्द्रको गठबन्धनविरुद्ध लाग्यौंः गुरुङ

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले प्रदेश सरकार निर्माण केन्द्रको प्रभाव देखिन नहुने बताएका छन् । संसदमा मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा बोल्दै सरकार बनाउन प्रदेश स्वायत्त हुनुपर्ने उनले बताए । ‘प्रदेशमा सरकार निर्माण गर्दा केन्द्रको प्रभाव पर्ने छैन भन्ने तथ्य स्थापित गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारको विपक्षमा अहिलेको मुख्यमन्त्रीलाई समर्थन गर्न चाहन्छौं,’ उनले भने । केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा एमालेसहितको गठबन्धनको सरकार छ । राप्रपाले केन्द्रको उक्त गठबन्धनको विपक्षमा आफूलाई उभ्याएको छ । यसअघि एमालेका खगराज अधिकार नेतृत्वको सरकारले लिएको विश्वासको मत सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।

सल्लाहमै मन्त्रिमण्डल बिस्तारः पाण्डे

मुख्यमन्त्री पाण्डेले सरकारलाई समर्थन गर्ने सबै पक्षसँग मिलेर मन्त्रिमण्डल बिस्तार गर्ने बताए । ‘आज मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । आजसम्म सरकार कांग्रेसको मात्रै थियो । अब राप्रपा, नेसपा र स्वतन्त्र सांसदको समेत सल्लाह गरेर छिटोभन्दा छिटो मन्त्रिमण्डल बिस्तार गर्छु,’ उनले भने, ‘यही शक्ति र माननीयज्यूसँग सल्लाह गरेरै अघि बढ्छु ।’ उनले मन्त्रालय बढ्ने र केहीको कार्यविभाजन हेरफेर हुने संकेत गरेका छन् । ‘मन्त्रालय बढी पनि सकेको छ । के भएको रहेछ हामी हेर्छौं,’ उनले भने, ‘कुन मन्त्रालय कसरी भागबण्डा गर्ने भन्नेमा सल्लाह हुँदैछ । केही मन्त्रालय रिथिंक पनि हुन सक्छ ।’

देवकोटा र मनाङे मन्त्री बन्दै

फ्लोर क्रस गरेर विश्वासको मत दिएका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्दैछन् । मुख्यमन्त्री पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् । उनीहरूको मंगलबार शपथ गराउने तयारी छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width