पोखरा । परदेशको जागिर । होटलको काम । परिवार पोखरा झरेर किराना पसल थालिसकेको थियो । विदेशको कमाइसँगै पोखराको पसलले कास्की मादी–११ का हिरासिंह गुरुङको जीवन शानदार चल्दै थियो । जीवन गज्जव हुनेमा उनी ढुक्क थिए । दुवैतिरको बचतले सुनौलो भविष्यको सपना बुन्दै थिए ।
तर जब ४ वर्षअघि कोरोना महामारी संसारभर उकालो लाग्योे, हिरासिंहको जीवन ओह्रालो लाग्यो । उनले काम गर्ने देश कतार प्रभावित बन्यो । पाहुना नआउँदा होटल नचलेपछि कम्पनीले उनलाई २०७६ माघमा नेपाल फर्काइदियो । ‘कोरोनाका कारण होटलमा पाहुना नै नआएपछि हाम्रो काम नै भएन । होटलले कामदार घर फर्काउने निर्णय गर्यो,’ उनले भने, ‘महिनामा डेढ लाखसम्म कमाइ हुन्थ्यो । तर के गर्ने ? कम्पनीले नराख्ने भएपछि घर फर्किनै प¥यो ।’
स्वदेश फर्केपछि उनी श्रीमतीसँगै किराना पसलमै व्यस्त हुने थाले । ‘विदेशमा नहुने भयो भनेर अब पसल नै गर्नुपर्ला भनेर सोचें । श्रीमतीसँगै पसलमै व्यस्त हुन थालें,’ उनले भने, ‘केही सामान पनि थपियो । तर, नेपालमा पनि कोरोनाले परिस्थिति जटिल बन्दै गयो ।’
हिरासिंह दम्पतीको चल्तीको उक्त पसल कोरोना प्रभावले सटर लाग्यो । सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि २०७६ चैतदेखि लकडाउन सुरु गरेको थियो ।
लकडाउनले उनी श्रीमती, छोरीसँगै घरभित्रै खुम्चिए । बाहिर निस्कनै नदिएको अवस्थामा उनको परिवार रातारात हिंडेरै मादी गाउँपालिका ११ स्थित तल्लो साप्ले आफ्नै गाउँ पुग्यो ।
‘कोरोनाका कारण विदेशबाट पोखरा फर्कनुपर्यो । अनि पोखराबाट गाउँ नै फर्कन बाध्य भइयो,’ उनले भने, ‘जे सपना देखेको थिएँ, पूरा हुन कठिन हुँदै गयो । लकडाउन भएपछि रातारात लुक्दै आफ्नै गाउँ पुग्यौं ।’
गाउँमा बाबा, आमा र भाइ थिए । केही दिन परिवारसँगै मेलापात गरेँ । ‘विदेश भन्ने सजिलो त छैन तर दुख गरेर पैसा पनि कमाइएको थियो,’ उनले भने, ‘गाउँमा गएर मेलापात गर्दा मनले के मान्थ्यो र ? के गरौं कसो गरौं भनेर धेरै आत्तिएँ ।’
लकडाउन खुलेपछि उनले गाउँमै कृषि कर्म गर्ने सोच बनाए । अनि, गाउँ नजिकै मादीमर्याङ पाखातिर हानिए । त्यही फर्म खोल्ने निधो गरे । २०७७ साउनदेखि नै पाखा सम्याउनेदेखि गोठसँगै अन्य संरचना बनाउन सुरु गरे । करिब ४ महिनामा आवश्यक संचरना तयार भयो ।
३ हल मेलोको पाखामा संरचना तयार भएपछि सोही वर्ष मंसिरमा ‘मादी करिडोर पशुपंक्षी तथा कृषि फर्म’ दर्ता गरे । सुरुमा कुखुरा र बाख्रा पाल्न थाले । बिस्तारै तरकारी पनि लगाउन सुरु गरे । त्यो बेलासम्म लगानी १२ लाखभन्दा बढी पुगिसकेको थियो । ‘राम्रैसँग गरौं भनेर फर्म नै दर्ता गरी काम थालियो । सुरुमा कुखुरा र बाख्रा राखेँ,’ उनले भने, ‘सबैभन्दा ठूलो लगानी नै रहेछ । जग्गा सम्याउने, गोठ बनाउने अनि बस्नका लागि घर तयार गर्दा सुरुवातिमै १२ लाखभन्दा बढी खर्च भइसकेको थियो ।’
मादी–११ का हिरासिंह गुरुङले कृषि फर्ममा ३० लाखभन्दा बढी लगानी खन्याएका छन्
अहिले उनको फार्ममा बाख्रासहित लोकल, ब्रोइलर, गिरीराज जातिका कुखुरा छन् । तरकारीमा बोडी, सिमी, खुर्सानी, काँक्रो, गोलभेंडासँगै मकै लगाएका छन् । ‘विदेशमा होटल लाइनमा काम गरेकाले कृषिमा हात हाल्दा गाह्रो त भयो नै । अहिले कुखुरा बाख्रा अनि तरकारी फलेको देख्दा दुख भुल्छु,’ उनले खुसी व्यक्त गरे, ‘अबको केही दिनमा अर्को लटको हजार वटा चल्ला हाल्दैछु । अहिले बाख्रा २५ वटा छन् । पहिले ३५/४० वटा थिए । स–साना पाठापाठी पनि ठूलो हँुदैछन् । बिस्तारै प्रगति हँुदैछ ।’
उनले लगानी बढाएर ३० लाखभन्दा बढी पु¥याइसकेका छन् । कोरोनाकालको दुःख उनले अहिले भुल्दै गएका छन् । उनलाई बाख्रा र कुखुरासँगै कुटो कोदालोमा रमाउने बानी परिसकेको छ । कृषि पेसाबाट आम्दानी पनि ठिकै हुने गरेको उनले सुनाए । ‘लगानी पनि धेरै नै भएको छ । त्यही अनुसार कमाइ पनि भइरहेको छ,’ उनले भने, ‘सबै खर्च कटाएर महिनाको ५०/५५ हजार नाफा हुन्छ । पछिल्लो केही महिनायता एक जना कामदार राखेको छु । तलब दिएर पनि महिनामा ३०/३५ हजार त बच्छ ।’ कमाइले परिवारको खर्च धानिएको र केही बचतसमेत भएको उनले बताए ।
कोरोनाले आफूलाई स्वावलम्बी र मेहनति बन्न सिकाएको हिरासिंह बताउँछन् । आफ्नै गाउँमा परिवारसँगै बसेर काम गर्न पाएकोमा खुसी छन् । ‘अहिले ३७ वर्ष लागेँ । उमेर पनि ढल्किदै गयो । सुरु–सुरुमा त्यत्रो कमाइ हुने जागिर गुमेकोमा दुख लाग्थ्यो,’ उनले भने, ‘अहिले खुसी छु । त्यस्तो गर्मी खाएर कमाउनुभन्दा गाउँकै हावापानी खाएर परिवारसँग सुखदुख बाँड्न पाइएको छ ।’
अबको ४ वर्षमा लगानी उठ्ने उनको लक्ष्य छ । ‘कृषिमा कस्तो हुन्छ भने हेर्दा केही नदेखिने तर स–सानो लगानी भइरहेको हुन्छ,’ उनले प्रस्ट पारे, ‘अबको ३/४ वर्षमा लगानी उठाएर अझै १५ लाखसम्म क्षेत्र बिस्तार गर्ने योजना बनाएको छु ।’ उनले क्षेत्र बिस्तारका लागि करिब ४ हल पाखा लिजमा लिइसकेका छन् ।
कृषिमा लाग्दा सरकारी निकायबाट सहयोग प्राप्त नभएको उनको गुनासो छ । ‘सरकारले कृषिलाई प्राथमिकता दिने त भन्छ तर कस्तो ठाउँलाई प्राथमिकता दिएको हो अनि कस्तोलाई अनुदान दिएको छ, मलाई थाहा छैन,’ उनले भने, ‘मेरो फर्म घरेलुदेखि वडा, पालिका, सबैमा दर्ता छ । ३ वर्षअघि अनुदान नाममा बाख्राका लागि स्थानीय तहबाट ५० हजार पाएको थिएँ, त्यही हो ।’
देशमै केही गर्छु भन्ने युवाका लागि सरकारले लगानी, तालिम र अनुदानमा कृषि सामग्री दिनुपर्ने उनको सुझाव छ । ‘अझै बाख्रा र कुखुराको खोर थप्ने । तरकारी बाली पनि धेरै लगाउने सोच बनाएको छु,’ उनले भने, ‘९ वर्ष दुवई । १ वर्ष कतार बस्दा होटललाइनमै काम गरेँ । कृषिबारे उतिसारो थाहा थिएन । त्यसैले मजस्तो कृषिमा केही गर्छु भन्नेका लागि सरकारले केही दिनुपर्छ ।’
उनको फर्मबाट कुखुरा र बाख्रा सहजै खपत भए पनि तरकारी बिक्न गाह्रो छ । त्यसैले बजारीकरणमा समेत सरकारले सहजीकरण गरिदिए गाउँको कृषि फार्मको जीवन गज्जबले चल्नेमा उनी ढुक्क छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१