पुम्दीकोटमा सिसाको पुल र मोनोरेल थपिँदै

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
Pumdi Photo 1

पोखरा । पोखराको पुम्दीकोट पछिल्लो समय प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पोखरा २२, पुम्दीकोटमा निर्मित विशाल महादेवको मूर्ति पोखरा घुम्न आउने पर्यटकको अनिवार्य सेड्युलमा पर्न थालिसकेको छ । त्यसको प्रत्यक्ष उदाहरण हो, दैनिक १५ सयदेखि ४ हजार जना मानिसको घुइँचो ।

मानवनिर्मित महादेवको मूर्ति प्रमुख पर्यटकीय एवं धार्मिक गन्तव्य बन्न थालेसँगै यहाँ अर्को आकर्षण थपिने भएको छ । त्यो हो, सिसाको पुल र मोनोरेल ।
पुम्दीकोट कोट विकास समितिको गत १० जेठको तेस्रो अधिवेशन तथा चौंथो साधारण सभाले सो निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । २ वर्षभित्र दुवै संरचना बनाइसक्ने गरी अघि बढेको समिति अध्यक्ष चन्द्रकान्त बरालले बताए । ‘पुम्दीकोटमा बनिसकेको कैलाश पर्वतबाट सुमेरु पर्वतसम्म जान करिब ३ सय मिटर लामो सिसाको पुल निर्माण गर्ने भनेका छौं,’ उनले भने, ‘सवारीसाधन पुग्ने अन्तिम बिन्दुको चौतारोबाट मूर्ति भएको स्थानसम्म पुग्न वृद्ध, अशक्त, असहायका लागि मोनोरेल बनाउने योजना हो । त्यसको काम पनि अघि बढिसकेको छ । अबको २ वर्षमा यी संरचना सक्छौं ।’ यी संरचना बनेपछि धार्मिक क्षेत्र विकास गर्नका लागि डाँडामा हनुमान र अर्कोमा शक्तिदेवीको मूर्ति बनाउने योजना रहेको उनले सुनाए ।

पुल र मोनोरेल बनाउने जिम्मा निजी क्षेत्रलाई दिइने उनले बताए । यसका लागि विभिन्न कम्पनीले चासो दिइरहेको पनि उनको भनाइ थियो । ‘यसलाई हामीले प्रस्तावमा लगेका छौं । विभिन्न पार्टीलाई जानकारी दिएका छौं । सोही अनुसार उहाँहरुले हामीलाई थ्रीडी सहितको नक्सा पनि पठाउनुभएको छ,’ उनले भने, ‘मेयर सा’प, वडाध्यक्षसँग बसेर छलफल गरी प्राइभेट सेक्टरलाई दिने प्रक्रियाबारे कानुनी प्रक्रिया बुझेर दिने निर्णय भएको छ ।’

पोखराको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य बनेको पुम्दीकोट घुम्न दैनिक १५ सयदेखि ४ हजारसम्म पर्यटक आउँछन्

पोखरा आउने पर्यटकको कम्तीमा १ दिन बसाइँ लम्ब्याउने उद्देश्यअनुरूप साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवन लीला सहितको वृत्तचित्र प्रस्तुत गर्ने योजना रहेको पनि उनले सुनाए । ‘पोखरा आएका पर्यटकहरुलाई कसरी एक रात लम्ब्याउन सकिन्छ भनेर लेजर लाइटबाट पोखरा देखाउन लाईट एन्ड साउन्डको पनि हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘ठूलो लगानी हुने भएकाले यसमा पनि प्राइभेट सेक्टरलाई लिएर अगाडि बढ्ने हो की भनेर लागेका छौं ।’ रंगरोगनदेखि सामान्य मर्मतको कामसँगै अन्य संरचनाको काम चलिरहेको उनले बताए ।

आगामी दिनमा संरचना बनाउन लागि पहिले जस्तै स्थानीय, प्रदेश र संघ सरकारसँगै निजी क्षेत्र, संघसंस्था, व्यक्तिगत, व्यवसाय, समाजसेवा लगायत सहयोग हुनेमा उनी ढुक्क छन् । ‘हामीलाई विभिन्न दातृ संस्था, सामाजिक र धार्मिक संघ संस्था, व्यक्ति विशेषले सहयोग गरिरहनुभएको छ,’ उनले भने, ‘हाम्रा योजना लिएर फेरि माग्न त जानैपर्छ । हामी डोनरको खोजीमा छौं ।’

राज्यले लगानी गरे अनुसार पर्यटन माध्यमबाट राज्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यलाई रिटर्न गर्ने समितिले साहस बोकेको उनले बताए । तत्कालै पुम्दीकोट कोट विकास समितिलाई उतिसारो चुनौती नरहेको उनको भनाइ थियो । समितिले देखेको सपना साकार गर्नु नै मुख्य चुनौती रहेको उनले सुनाए ।

हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेवको विशाल क्षेत्र कुण्ड (गंगापोखरी), १०८ धाराजडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समितिका व्यवस्थापक रुद्र पौडेलले बताए । यस्तै, २ सय १६ शिवलिंग, १ सय ८ स्वर्गद्वारी सिंढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, भगवान् श्रीगणेशद्वारा परिक्रमा गरिरहने मोनोरेल, सुमेरु पर्वतमा कुमार पार्वतीको मूर्ति, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउड बाल, २ सय मिटर पक्की पहुँचमार्ग लगायत संरचना निर्माण सम्पन्न भइसकेको उनले बताए । पशुपतिनाथको प्रतिमूर्ति झल्कने स्वर्गद्वारी गेट र भक्तपुरे झ्यालसहितको पार्किङ गेटसँगै दानदाताको शिला स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width