रवीविरुद्ध कास्कीमा परेको जाहेरी सर्वोच्चले मगायो

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
Supreme-Court

पोखरा । सहकारी ठगीका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जल्ला प्रहरीमा रहेको अभियोग पत्र र जाहेरीसहित इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पोखराको सूर्यदर्शन सहकारी, पोखरा उपमहानगरपालिकाले गरेको अध्ययन प्रतिवेदन र कास्कीमै दर्ता भएको उनी विरुद्धको जाहेरी समेत लिएर अर्को बहसमा उपस्थित हुन भनेको छ । सर्वोच्चले उक्त मुद्दालाई छिटो किनारा गर्नुपर्ने भन्दै अग्राधिकार पनि प्रदान गरेको छ । इजलासले उक्त मुद्दालाई गम्भीर रूपमा लिँदै अर्को सुनुवाइको मिति पनि तोकेको छ ।

सर्वोच्चले आफूमाथि लागेका ठगीको आरोपहरूमा लिखित जवाफ पेश गर्न गृहमन्त्री लामिछाने र उनलाई क्लिनचिट दिनेगरी पत्र लेखेको बारेमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई जवाफ दिन भनेको छ । ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सो को मनासिव आधार र कारण तथा भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयको हकमा आफै तथा अन्य विपक्षीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ’ आदेशमा भनिएको छ ।

सर्वोच्चले अन्तरिम आदेशको विषयमा भने अर्को सुनुवाइपछि मात्र निर्णय गर्ने भनेको छ । ‘साथै अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरेतर्फ विचार गर्दा यसमा महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएको चनं ३२७५ मिति २०८१ वैशाख २४ को पत्र र सोसम्बन्धी कारबाही समेत कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाउन माग गरेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निलम्बन गर्न भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरी पाउन दाबी लिइएको देखिन्छ ।’

सर्वोच्चले यो विषयमा दुवै पक्षको राय सुन्नुपर्ने आफ्नो आदेशमा भनेको छ । त्यस्तै सर्वोच्चले उनीसँग जोडिएका केही विवादका फाइलहरू भने मगाउने आदेश गरेको छ ।
‘प्रस्तुत निवेदनसाथ पेस हुन आएको कृष्णप्रसाद जैसी समेतले जिल्ला प्रहरी कार्यालय कास्कीमा पेस गरेको ठगी सम्बन्धी कसुरको जाहेरी दरखास्तमा कसुर गर्ने व्यक्तिको नाम, थर, ठेगानामा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने लालचन्द्र लामिछानेको छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सूर्य दर्शन सहकारीमा खाता नंम्बर १०३९०००६६७५७० भन्ने उल्लेख भएको देखियो,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘तर विवादमा ल्याइएको महान्यायाधिवक्ताको कार्यालयको चनं ३२७५ को पत्र मिति २०८१।०१।२४ मा लेख्दा निज रवि लामिछाने उपर कास्कीको सूर्य दर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयलाई लिएर कुनै उजुरी÷जाहेरी परेको नदेखिएको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ ।’

प्रस्तुत रिट निवेदनमा उठाइएको विषय र रिट निवेदकका तर्फबाट संलग्न गरिएको जाहेरी दरखास्तको सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८१ वैशाख २४ मा लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको दनं ०८०–८१–०४२६/१२९ मिति २०८० माघ २२ को जाहेरी बेहोराको थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न मनासिब हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्चले सुनुवाइलाई अग्राधिकार दिई मिति २०८१ जेठ २८ गतेका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको चनं ३२७५ मिति २०८१ वैशाख २४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेस गरिएको भनिएको ठगी सम्बन्धी कसुरको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो बेहोराको सूचना विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्न आदेश गरेको छ ।

सहकारी ठगीमा क्लिनचिट दिने गरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि यो विवाद संसद् हुँदै अदालत पुगेको थियो । महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेस गरेका थिए । रिटमा लामिछाने सहकारी ठगीमा संलग्न भएको विभिन्न जाहेरी र अभियोगपत्रले देखाएकाले निलम्बन गर्नुपर्ने माग रिटमा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width