गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छाडे   

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
4876-monkeys-1296×728-header

फाइल तस्बिर

गण्डकी ।  कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।

“रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भन्नुभयो, “घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छ्रैनन् ।” लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उहाँले बताउनुभयो ।

“हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य रु सात हजारदेखि आठ हजारसम्म पर्दछ ।

गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भन्नुभयो, “अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो । अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन् ।”

विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आउनुभएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आउनुभएको छ ।

“बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो । यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ”, स्थानीय रामकुमारी गुरुङले भन्नुभयो । उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा रु १६ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

रामकुमारीले भन्नुभयो, “विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ ।” उहाँको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएका छन् ।

मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ ।”

मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोलीसहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • स्केटबोर्ड प्रतियोगितामा समीर प्रथम

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । विश्व स्केट बोर्ड दिवस अवसरमा नेपाल स्केट बोर्ड संघले पोखरामा शुक्रबार ११ औं जिल्लास्तरीय खुला स्केट बोर्ड प्रतियोगिता…
  • पोखरामा मनाइयो विश्व संगीत दिवस

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । पोखरामा शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित विश्व संगीत दिवस मनाइएको छ । तरेली सांस्कृतिक परिवारको आयोजना र गण्डकी प्रज्ञा–प्रतिष्ठानको…
  • फेवातालमा पौडिने क्रममा डुबेर मृत्यु

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका २,…
  • न्यू मोडलको फुटसलमा स्टेप बाइ स्टेप विजयी

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा । न्यू मोडल सेकेन्डरी स्कुलमा आयोजित फुटसल प्रतियोगिताको उपाधि स्टेप बाइ स्टेप माविले जितेको छ । शुक्रबार फाइनलमा विष्णु पादुका…
  • प्राइम सहकारी ठगीमा थप ३ जना प्रतिवादी पक्राउ

    आदर्श समाज सम्वाददाता असार ८, २०८१
    पोखरा। प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि.को बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा थप ३ जना प्रतिवादी पक्राउ परेका…

hero news full width