बहाकोट भन्ज्याङमा ७४ औं क्रान्ति दिवस’

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Kranti Diwas

स्याङ्जा । पुतलीबजार नगरपालिका ८ बहाकोटमा क्रान्ति दिवस मनाइएको छ । बहाकोट भन्ज्याङमा भएको आक्रमणविरुद्ध यहाँका मुक्ति सेनाको साहसिक कार्यको स्मरण गर्दै प्रत्येक वर्ष यहाँ क्रान्ति दिवस मनाउने गरिन्छ ।

तत्कालीन राणा शासक फौजको आक्रमणबिरुद्ध मुक्ति सेनाको प्रतिकारबाट भगाउन सफल भएको स्मरण गर्दै बर्सेनि जेठ ११ गतेका दिन यहाँ क्रान्ति दिवस मनाउने गरिएको हो ।

राणा शासनविरुद्ध र प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ नेपाली कांग्रेसले खडा गरेको मुक्ति सेनालाई परास्त गर्ने उदेश्यले २००७ जेठ ११ गते राणा फौजले बहाकोटमा आक्रमण गरेको थियो । त्यसबेला मुक्ति सेनाको कमान्डर होविर आले थिए । आलेको नेतृत्वमा क्रान्ति सुरु भएको हो ।

होबिर आलेको अभियानलाई यहाँका स्थानीयबासी दुतप्रसाद गुरुङ, थानबहादुर सिंह, गौकुमारी मल्ल, कोठे सार्कीलगायत दर्जनौं व्यक्तिको समूह प्रतिकारमा उत्रेर विपक्षी फौजलाई भगाउन सफल भएको वडाअध्यक्ष इमबहादुर सेनले जानकारी दिए ।
दिवसको उदघाटन गर्दे नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना कुमारले होविर आले बहाकोटको मात्र योद्धा नभएको भन्दै उनको योगदान र बलिदानलाई राष्ट्रले स्मरण गर्नुपर्ने बताए ।

प्रजातन्त्र र लोकतन्त्रका कुशल संगठक आलेका योगदानको चर्चा गरे । रैतीबाट नागरिक बनाउने अभियानमा होविर आलेको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउदै प्रजातन्त्रका निम्ति आफनै जीउ धन नै अर्पण गर्ने होविर आलेलगायत वीर वीरंगानाको योगदानलाई कसैले पनि बिर्सन नहुनेमा जोड दिए ।
दिवसमा पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले हातहतियारसहित तत्कालीन राणा फौजसँगकोे लडाइँमा आफ्नो जीउ ज्यान होमिने स्थानीयबासी सधैंभरि मनमस्तिस्कमा रहिरहने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक चर्तिमगर, नेपाली कांग्रेस महासमिति सदस्य तारा मल्ल, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रीय उपाध्यक्ष मोतीप्रसाद आले, पुतलीबजार १ का सदस्य विष्णुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापति प्रेमबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सभापति रामबहादुर गुरुङ, नेसनल मंगोल अर्गनाइजेसनका जिल्ला सदस्य सूर्यबहादुर थापा, कार्यवाहक वडाअध्यक्ष टोलमाया थापा, सदस्य रवि सेन, वडा सचिव कुलप्रसाद मरासिनी लगायतले उनीहरुका योगदानको चर्चा परिचर्चा गरे ।

मुक्ति मोर्चाका कमान्डरको स्मरण गर्दै आक्रमण स्थल बहाकोटको भन्ज्याङमा होविर आलेको अर्धकदको मूर्ति राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width