कांग्रेसको अवरोध हटाएर संसद अघि बढाउँछौं : उपाध्यक्ष पौडेल

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
oneplus_26633

चितवन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको अवरोध हटाएर संसद्लाई अगाडि बढाउने बताएका छन् । नेकपा (एमाले) चितवनको ११औं अधिवेशनलाई शनिबार उद्घाटन गर्दै पौडेलले कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने बताएका हुन् ।

‘कांग्रेसले बहुमतलाई बन्दक बनाएको छ । कुनै मर्यादा राखेन, सत्ता पक्षको ठाउँमा आएका हुलहुज्जत गर्‍यो,’ उनले भने, ‘कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्दक बनाउन दिँदैनौं ।’ उनले कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो नहुनेसमेत जिकिर गरे ।

उनले आगामी चुनावमा कांग्रेसलाई जसरी भए पनि परास्त पार्ने बताए । उनले २०८४ को चुनावसम्म यही गठबन्धन रहने दाबी गरे । ‘नेपाली कांग्रेस प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,’ उनले भने, ‘यसपटक कांग्रेसलाई प्रतिपक्षमा राखेर आउने निर्वाचनमा हामीले बहुमत ल्याउँछौँ ।’ उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताउँदै यो समीकरणलाई तोड्न नदिइने बताए ।

पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतिबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे ।

कांग्रेसले बहुमतलाई बन्धक बनाएर संसद्लाई अवरोध गरेको भन्दै उपाध्यक्ष पौडेलले संसद् चलाउन सहमत नभए व्यवधान पन्छाएर अघि बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेको बेलामा मिलेर बजेट ल्याउनुपर्नेमा कांग्रेसमा अवरोध गर्न खोजिरहेको उनले बताए ।

‘नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । मैले त त्यो अवस्था भोगेको छु,’ पाण्डेले भने, ‘अध्यादेशमार्फत् बजेट ल्याउनुपर्ने पनि हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ ।’ शनिबारबाट सुरु भएको अधिवेशन जेठ १४ गतेसम्म चल्नेछ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।

न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति, सचिव प्रकाश खनाल ‘शैलेश’ को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन समिति बनाइएको छ । त्यस्तै, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति र भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको पार्टीले जनाएको छ ।

अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष न्यौपानेले बताए ।

एमाले चितवनको अध्यक्षमा न्यौपाने पुनः दोहोरिन चाहेका छन् । वर्तमान उपाध्यक्ष कमलराज पाठकले पनि अध्यक्षको लागि उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । निर्वाचनमै जान परे पनि उनले त्यसको तयारी गरेका छन् । अन्य केही नेताले पनि अध्यक्षको लागि दाबी गरिरहेको चर्चा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width