पोखराका सहकारी पीडितले आज विरोध प्रदर्शन गर्ने, भन्छन्ः गृहमन्त्रीविरुद्ध जाहेरी ताम्रपत्रमा लेखेर दिनुपर्ने हो ?

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
sahakari pidit

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पनि छानविन गर्न पोखराका सहकारी पीडितहरुले माग गरेका छन् । सामाजिक सञ्जालहरुमा सूर्यदर्शन सहकारीका पुर्व अध्यक्ष जीवि राई (गीतेन्द्रबाबू) राईसँग जोडेर प्रश्न आएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई समेत छानविन हुनुपर्ने बताए । ‘आगो नबली धुवाँ कसरी निस्किन्छ ? हावा नचली पात हल्लिँदैन होला नि । उहाँको पनि (गृहमन्त्री रवी लामिछाने) नाम आइरहेको छ । छानबिन गर्नै नहुने हो र ?,’ उनीहरुले भने, ‘छानबिन त प्रचण्डमाथि पनि हुनुपर्छ । सामाजिक सञ्जालमा प्रचण्डले पनि जीवी राईसँग पैसा पैसा खाएको भन्ने हल्ला आइरहेको छ ।’

सहकारी पीडितहरुले गृहमन्त्री विरुद्ध दिएको जाहेरी प्रहरीले लिएपनि लामिछानेले कतै जाहेरी नपरेको दावी गरेको आरोप लगाए । ‘जाहेरी कतै छैन भनेर हल्ला भइरहेको छ । हामीले प्रहरीलाई बुझाएकै हो,’ सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘ताम्रपत्रमा लेखेर दिनुपर्ने हो र ? कि सुनौलो अक्षरमा लेखेर पठाउने हो ? कागजमै लेखेर दिएका हौं त ।’ पीडकहरूलाई पनि फरक नजरले हेर्ने गरेको गुनासो पीडितहरूको छ । ‘एउटै मुद्दामा एक जना पक्राउ पर्ने, अर्को नपर्ने भयो । यता पनि उस्तै छ,’ उनीहरुले थपे ।

छानबिनका क्रममा राज्यका सबै निकाय दबाब र प्रभावमा परेको पीडितहरूको आरोप छ । ‘सबै ठाउँमा प्रभाव परेको छ । प्रहरीमै प्रभाव परेको छ, प्रशासन, न्यायालय पनि प्रभावमा छ,’ श्रेष्ठले अघि भने, ‘रकम डुब्नु एकातिर छ, सरकारको तर्फबाट झन् पीडित बनेका छौँ । पीडितहरू दिन प्रतिदिन मरेका छन् । सरकार चुपचाप छ । धेरै दुख पायौं ।’ पीडितहरूले तत्कालै छानबिन समिति गठन गर्न माग गरेका छन् । बचत फिर्ताको माग गर्दै उनीहरुले बचत पीडित संघर्ष समिति गठन गरेका हुन् । पोखराका मुख्य ७ सहकारीका पीडितहरूले संयुक्त समिति बनाएका छन् ।

समितिले आइतबार छानबिन समितिको माग गर्दै प्रदर्शन गर्ने भएका छन् । १२ बजे सृजनाचोक देखि पृथ्वीचोकसम्म प्रदर्शन गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । सूर्यदर्शन सहकारी, इमेज, शिव शिखर, मित्रमिलन, प्राइम, बलिदानी र विन्ध्यवासिनी सहकारीका पीडितहरू एकजुट भएका हुन् । उनीहरुले छानबिन समिति गठन नगरेको, बचतकर्ताको बचत सुरक्षा गर्न पहल नगरेको, पीडकहरू पक्राउ नगरेको, कारबाहीको स्पष्ट नीति निर्माण नगरेको लगायतका गुनासो गरेका छन् । पोखराका सात सहकारीका करिब सात अर्ब रकम हिनामिना भएको छ भने झन्डै ४० हजार बचतकर्ता पीडित बनेका छन् ।

केही सहकारी समस्या ग्रस्त अवस्थामा छन् । ‘भित्री रूपमा दर्जनौँ सहकारीले बचत फिर्ता नगरी कार्यालय बन्द गरेका छन् । पीडितहरूले ठुला सहकारीको विषयमा राज्यले लिने नीति हेरिरहेका छन्,’ समितिले भनेको छ, ‘देवकुमार नेपाली, जीवी राई कुरिरहेका छन् । उनीहरू पक्राउ परेर बचत फिर्ता भएपछि अरू पीडितहरू खुल्छन् । हामीसँग सँधै सम्पर्कमा हुनुहुन्छ ।’ समितिले तत्कालै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएको छ । त्यसमा गृहमन्त्री वा कुनै नेताले रोकछेक गर्न नमिल्ने भन्दै छानबिनमा कोही जोडिए तुरुन्त राजीनामा दिन समेत सङ्घर्ष समितिले आग्रह गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सूर्यदर्शन सहकारीको पूरक अनुसन्धान जेठ १५ सम्म थप अनुसन्धान गरेर प्रहरीले सरकारी वकिललाई हस्तान्तरण गर्ने तयारी गरेको छ । संगठित भएका ७ सहकारी मध्ये ४ वटा प्रदेश मातहतका छन् भने बाँकी ३ वटा पोखरा महानगर मातहतका छन् । दर्जनौं सहकारी अहिले पनि समस्याग्रस्त अवस्थामा छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width