व्यास नगरपालिकाको मतगणना असार २ गते गराउन उच्च अदालतको आदेश – फैसलासहित

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
high court pokhara

पोखरा । व्यास नगरपालिकामा पुनः मतगणना यही असार २ गते १० बजेबाट गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा गत मंगलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो । त्यहि फैसलाको पूर्णपाठ आज सार्वजनिक गरिएको हो ।

फैसला कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गरिएको उच्च अदालत पोखरका रजिस्ट्रार अच्युत कुइँकेलले जानकारी दिए ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा जेठ २ गते फैसला सुनाएको थियो ।
मतगणनामा धाँधली भएको भन्दै जोशीले २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत ५ जनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए । जोशीका पक्षमा ५ जना अधिवक्ताले बहस गरेका थिए ।
स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका थिए ।

फैसलामा भनिएको छ :

स्थानीय तह निर्वाचन ( मतगणना) निर्देशिका, २०७८ को दफा २५ को उपदफा (३) बमोजिम प्रत्येक उम्मदेवारले प्राप्त गरेको मत संङ्ख्या स्थानिय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची-५६ बमोजिमको मतगणना फारमना चढाउनु पर्नेछ भन्ने कानूनी प्रवधान रहेकोमा, प्रमाणका रुपमा प्राप्त अनुसूची- ५६ को मतगणना फारममा धर्का तानेर उम्मेदवारले प्राप्त गरेको मतलाई इंकित गरिएको पाइएको भए तापनि सोही अनुसूची – ५६ मा बदर मत के कति हो भनी उल्लेख गर्नका लागि कोठा समेत छुट्टाइएकोमा, उक्त गणना गरिएको मत के कति संख्यामा बदर भएका हुन् भन्ने सम्बन्धमा वडा नं. ४ र ९ लगायतको मत गणना फारममा कही कतै उल्लेख नगरिएको र वडा नं. ७ र ११ को मतगणना फारममा आंशिक रुपमा उल्लेख गरेको पाइयो ।

त्यसैगरी, एकिकृत मतगणना फारममा बदर मत संख्या भनी उल्लेख गरेको देखिए तापनि सोको पुष्टयाई देखिन आएन। एकीकृत मतगणना फारममा बदर मत भनी उल्लेख गरेको संख्या र परिणाम प्रकाशन गर्दा उक्त वडाको बदर मत भनी उल्लेख गरेको संख्या एक आपसमा भिडेको देखिंदैन।

वडा नं.९ को एकीकृत मतगणना फारममा बदर मत र पूर्ण बंदर मत भनी आंशिक रुपमा उल्लेख भएको पाइए तापनि अन्तिममा अनुसूची – ५८ अन्तर्गतको एकीकृत मतगणना फारममा उल्लेख गरिएको नगर प्रमुख पदको बदर मत र पूर्ण बदर मत मिल्न आएको देखिएन, त्यसैगरी,वडा नं. ११ को एकीकृत मतगणना फारममा बदर मत र पूर्ण बदर मत उल्लेख गरिएकोमा अनुसूची-५८ अनुसार तयार पारिएको नगर प्रमुख पदको एकीकृत मतगणना फारममा उल्लेख गरिएको तथ्याकंसँग मिलेको देखिन आएन ।

त्यसैगरी, वडा नं. ४ को एकिकृत मतगणना फारममा बदर मत र पूर्ण बदर मत अन्त्यमा तयार पारिएको अनुसूची – ५८ अन्तरर्गतको नगर प्रमुख पदको एकीकृत मतगणना फारममा उल्लेख गरिएको तथ्याकंसँग मिल्न आएको देखिएन । यसरी, एकै वडाबाट नगर प्रमुखको पदको लागि खसेको मत बदर र पूर्ण बदर भएको तथ्याकं फरक फरक ठाउँमा फरक फरक उल्लेख हुनुलाई रितपूर्वक भएको भन्न मिल्ने देखिएन ।

यसैगरी, मतगणना सम्बन्धी फारम र एकिकृत मतगणना फारमलाई एक अर्कासँग भिडाउँदा, ब्यास नगरपालिका वडा नं. १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा निवेदकले ३० मत प्राप्त गरेको देखिएकोमा सो मत एकिकृत फारममा समावेश गरेको नदेखिई सो मत निजले प्राप्त गरेको कुल मतमा जोडेको देखिएन । उक्त अनुसूची- ५६ को मतगणना फारमबाट निवेदकले ‍‍सो वडाबाट ९६८ मत प्राप्त गरेको देखिएकोमा एकीकृत मतगणना फारममा ९३८ संख्या मात्र जोडेको देखिई सो ३० मत निवेदकको प्राप्त मतसंख्यामा कम भएको देखियो ।

त्यसैगरी, वडा नं. ४ को एकिकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दा सम्मको भनी विभिन्न निर्वाचन चिन्हहरुमा जम्मा ४५३ मत उल्लेख भएको देखिएको र उक्त फारममा बदर मतको हरफमा कुनै अंक उल्लेख भएको नदेखिंदा गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको हो भन्ने सम्बन्धमा स्पष्ट रुपमा खुलेको देखिंदैन ।

यस्तै, वडा नं. १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरुले २५६७ मत प्राप्त गरेको र ४७५ बदर मत भनी मतगणना सम्बन्धी अनुसूची – ५८ को एकिकृत फारममा उल्लेख भएको देखिएकोमा सो वडाको मतगणनाको आधारको रुपमा रहेको अनुसूची- ५६ को मतगणना फारममा गणना भई जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरिएको देखिंदा अनुसूची- ५८ को फारममा बदर मत भनी उल्लेख भएको ४७५ मत पुष्टि हुन आएको देखिंदैन ।

त्यसैगरी, स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा नगरपालिकाका विभिन्न पदहरुको निर्वाचनका लागि मत संकेत गर्ने व्यवस्था भई पदका आधारमा मतगणना गर्दा कुनै पदको मत सदर हुने र कुनै पदको मत बदर हुन सक्ने प्रचलित निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेको देखिन्छ। अनुसूची- ५८ को फारमबाट ब्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३०,१८३ मत खसेको देखिएकोमा सो पदका उम्मेदवारहरुले २५,५९५ मत प्राप्त गरेको र ४,५८८ मत बदर भएको भन्ने देखिन्छ। सो बदर मत मतगणना सम्बन्धी अनुसूची- ५६ को फारममा उल्लेख भएको बदर मतसँग मिल्न भिड्न आएको देखिएन ।

साथै, उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भनी उल्लेख भएको ३०, १८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४४५ मत थप उल्लेख भएको देखिंदा सो समेत जोड गर्दा खसेको मत भन्दा बढी मत हुन जाने देखिन्छ। अतः प्रस्तुत मतगणनाको कार्य कानून बमोजिम भएको भन्न मिल्ने देखिएन।

.तसर्थ, स्थानिय तह निर्वाचन ( मतगणना ) निर्देशिका, २०७८ ले उल्लेख गरेको प्रावधानलाई पूर्ण रुपमा पालना नगरी, मतगणना फारममा उल्लेख गर्नुपर्ने सम्पूर्ण व्यहोरालाई प्रष्ट रुपमा उल्लेख नगरी कति मत बदर र कति मत पूर्ण बदर भएका हुन्, त्यसको प्रष्टरुपमा हिसाब नगरी तयार गरिएको एकिकृत मतगणना फारम र सो फारममा समेत निवेदकले प्राप्त गरेको कुल मतसंख्या जोड गरेको देखिन नआएको समेतका उल्लिखित बस्तुनिष्ठ प्रमाणबाट विपक्षीहरुले स्थानिय तह निर्वाचन निर्देशिका,२०७८ र स्थानिय तह निर्वाचन ( मतगणना ) निर्देशिका, २०७८ अनुसार मतगणनाको कार्य रितपूर्वक गरेको भन्ने नदेखिंदा माग बमोजिमको आदेश जारी हुने देखियो । मौकामा पुनः मतगणना गरिपाउँ भनी उजुर नगरेको आधारमा मात्र निवेदक दिपकराज जोशीको निवेदन खारेज गरिपाउँ भनी विपक्षीका तर्फबाट बहस गर्नुहुने विद्वान वरिष्ठ अधिवक्ता एवमं सहायक न्यायधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।

अतः माथि विवेचित आधार र कारणबाट निवेदक दिपकराज जोशीको निवेदन दावीका सम्बन्धमा विपक्षीहरुबाट प्राप्त लिखित जवाफ सहित विपक्षी जिल्ला निर्वाचन कार्यालय, तनहुँबाट प्राप्त ब्यास नगरपालिका तनहुँको प्रमुख पदको निर्वाचन सम्बन्ध भएको मतगणना सम्बन्धी अनुसूची- ५६  फारम तथा एकीकृत मतगणना फारम समेतको अध्ययन गरी हेर्दा, ब्यास नगरपालिका वडा नं. १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा निवेदकले ३० मत प्राप्त गरेको देखिएकोमा सो मत एकिकृत फारममा समावेश गरेको नदेखिई सो मत निजले प्राप्त गरेको कूल मतमा जोडेको देखिएन।

त्यसैगरी, अनुसूची- ५८ को फारममा व्यास नगरपालिकाको प्रमुख पदमा सम्पूर्ण वडाहरुबाट जम्मा ३०,१८३ मत खसेको देखिएकोमा सो पदका प्रत्यासीहरुले २५,५९५ मत प्राप्त गरेको ४,५८८ मत बदर भएको भन्ने देखिन्छ। सो बदर मत मतगणना सम्बन्धी अनुसूची-५६ को फारममा उल्लेख भएको बदर मतसँग मिल्न भिड्न आएको नदेखिनुका अतिरिक्त उम्मेदवारले पाएको मत र बदर मतको संख्याले जम्मा खसेको मत भनी उल्लेख भएको ३०,१८३ मत पूरा भएको अवस्थामा पूर्ण बदर मत भनी ४४५ मत उल्लेख भएको देखिंदा सो समेत जोडजम्मा गर्दा खसेको मत भन्दा बढी हुन जाने देखिएको समेतको आधार- कारणबाट निवेदन दावी बमोजिम निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ४४ को उपदफा (१)/ बमोजिम कानून बमोजिम मतगणना भएको नदेखिंदा सोही ऐनको दफा ४४ को उपदफा (२) बमोजिम ब्यास नगरपालिका तनहुँको नगर प्रमुखको पदमा स्थानीय तह निर्वाचन २०७९ मा भएको निर्वाचनको मतगणना कार्य बदर गरी दोहोर्याई मतगणना गर्ने आदेश गरिदिइएको छ ।

उपरोक्त अनुसार दोहोर्याई मतगणना गर्ने कार्यको लागि मिति २०८१/०३/०२ बिहान १०:०० बजे सुरु हुने जानकारी सहित प्रस्तुत आदेशको प्रतिलिपी निवेदक र विपक्षीहरुलाई समेत दिई पुनः– मतगणना गर्ने प्रयोजनार्थ लाग्ने खर्च व्यवस्थापन र आवश्यक सहयोगका लागी निर्वाचन आयोग, काठमाण्डौमा लेखी पठाई पुनः मतगणनाको कार्य संचालन गर्न आवश्यक पर्ने जनशक्ति, स्थान समेतको व्यवस्थापन गरी मतगणनाको कार्य सम्पन्न गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ४४ को उपदफा (५) बमोजिमको मतगणनाको तालिका सहितको प्रतिवेदन पेश गर्न यस अदालतका रजिष्ट्रारका नाममा समेत आदेश गरिदिएको छ। अरुमा तपसिल बमोजिम गर्नू।

तपसिल खण्ड
माथि आदेश खण्डमा लेखिए बमोजिम दोहोर्‍याइ  मतगणना गर्ने गरी आदेश भएकोले पुनः मतगणना गर्ने प्रयोजनार्थ सम्बन्धित कागजहरु सहितका सिलबन्दी मतपत्रहरु झिकाई लाग्ने खर्च व्यवस्थापन र आवश्यक सहकार्यका लागि प्रस्तुत आदेशको प्रमाणित प्रतिलिपि साथै राखी निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालय, तनहुँलाई जानकारी दिनू.. .

माथि आदेश खण्डमा लेखिए बमोजिम दोहोर्‍याइ  मतगणना गर्ने गरी आदेश भएकोले पुनः मतगणनाको सम्बन्धमा आवश्यक व्यवस्थापन गरी प्रचलित कानून बमोजिम मतगणनाको कार्य गरी आदेशानुसार पुनः मतगणनाको प्रतिवेदन इजलास समक्ष पेश गर्नु भनी यस अदालतका रजिष्ट्रारलाई प्रस्तुत आदेशको प्रतिलिपि साथै राखी जानकारी दिनू …

प्रस्तुत आदेशको प्रतिलिपि साथै राखी दोहो-याइ मत गणना गर्ने कार्य मिति २०८१/०३/०२ गते बिहान १०:०० बजे सुरु हुने व्यहोरा जानकारी लागि निवेदक तथा विपक्षी बैकुण्ठनाथ न्यौपाने तथा जिल्ला निर्वाचन कार्यालय, तनहुँलाई दिनू..

प्रस्तुत आदेशको प्रतिलिपि साथै राखी आदेशको जानकारी उच्च सरकारी वकील कार्यालय, पोखरालाई दिनू..

आदेशानुसार प्राप्त फाइलहरु र सिलबन्दी मतपत्रहरु सहितका सम्बन्धित कागजातहरु पुनः मतगणना सम्पन्न भई सके पश्चात् सम्बन्धित कार्यालयमा फिर्ता पठाइदिनू

प्रस्तुत आदेशको नक्कल माग्न आएमा सरोकारवालाहरुलाई नियमानुसार गरी नक्कल दिनू…….

प्रस्तुत आदेशको विद्युतिय प्रति वेवसाइटमा आपलोड गरी यस अदालतको सूचना पाटीमा समेत प्रकाशन गर्नू…………….

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width