एसओएसमा सम्मानसहित वार्षिक पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८१
SOS GANDAKI

पोखरा । एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भएको छ । कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले ग्रहण गरेकी थिइन् ।

समारोहमा शैक्षिक सत्र–२०८० मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका जम्मा ८६ विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि सीता सुन्दास, एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

उक्त समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवंगत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा सर्वाेत्कृष्टता हासिल गर्ने एकजना विद्यार्थीलाई प्रदान गरिने २५ हजार रकमराशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०८० मा कक्षा ५ का प्रज्ञान बराल पुरस्कृत भएका छन् ।

बालबालिकाहरूसँग ३ दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्वर्गीय मातापिताका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवं संरक्षक बरालले बताइन् ।

त्यस्तै कक्षा ८ को महानगरस्तरीय आधारभूत शिक्षा परीक्षामा विद्यालयका तर्फबाट गत शैक्षिक सत्रमा ४ जिपिए ल्याउने विद्यार्थीत्रय प्रज्ज्वल क्षेत्री, सुरभ तिवारी र स्मारिका न्यौपानेलाई जनही ५ हजार नगद पुरस्कारसहित सम्मान गरियो । एसओएस बालग्राम गण्डकीकी पूर्वआमा शारदा पराजुलीद्वारा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै विद्यालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कक्षा २ मा अध्ययनरत कृषिका विकलाई विशेष शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले एसओएस गण्डकीमा अध्ययनरत विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गर्दै आइरहेको सफलता आफैँमा गौरवपूर्ण विषय भएको बताइन् । ‘अभिभावकले घरमा प्रदान गर्ने वातावरण, विद्यार्थीको लगनशीलता र शिक्षकहरूमा भएको दक्षताका कारण शैक्षिक क्षेत्रमा एसओएस देशकै अग्रणी संस्थाका रूपमा स्थापित छ ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गरे ।

प्रधानाध्यापक चूडामणि सुवेदीले विषयगत उत्कृष्टता हासिल गर्ने सम्पूर्ण विद्यार्थीप्रति बधाई ज्ञापन गर्दै हरेक क्षेत्रमा उत्कृष्टताको परिचायक बन्दै आइरहेको एसओएस गण्डकीले आगामी दिनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा समेत वृद्धि गर्दै लैजाने बताए ।

पुरस्कार वितरण समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोप्साङ ग्याल्ट्सेन, एसओएस नेपालका वित्तीय उपनिर्देशक विपिन हाडा, एसओएस नेपालका अनुगमन र मूल्याङ्कन शाखाका संयोजक योगेस्ट चौधरी, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, एसओएस नेपाल प्रकार्यात्मक सेवा प्रदायक शाखाका संयोजक रबिन भट्टराई, गण्डकी प्रदेश समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकी कर्मचारी प्रतिनिधि मञ्जु ढुङ्गाना, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले गरेका थिए ।

विद्यालयका सहप्राचार्य प्रभास पौडेलले सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त, उद्देश्य र गतिविधिमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width