व्यक्तिगत गाली–गलौज बन्द गरी वामपन्थी शक्ति एक हुन मुख्यमन्त्री अधिकारीको आग्रह

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
puspal janma satabdi prgff

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन् ।

पोखरामा सोमबार आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा मुख्यमन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन् । ‘वैचारिक बहस गरौं, व्यक्तिगत गाली–गलौज बन्द गरौं, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्,’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्षसमेत रहेका अधिकारीले भने ।

पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिस्टहरू नै भौतारिँदा समस्या देखिएको उनको भनाइ छ । ‘म कसैको टिप्पणी गर्न चाहन्नँ, यत्रो त्याग, तपस्या र समर्पणबाट यहाँसम्म आउनुभएको छ, निरन्तर त्यसमा निष्ठापूर्वक लाग्नुभएको छ, र पुष्पलालको बाटो ठिक हो भनेर हामी हिँडिरहेका छौं तर भौतारियौं, भङ्गालै भङ्गाला हिँड्नुपर्ने कारण के?’ उनको प्रश्न थियो ।

कम्युनिस्टहरूमा रणनीतिक रुपमा दुविधा नभए पनि कार्यनीतिका कारण पछाडि परेको उनले बताए । ‘हामी कार्यनीतिका कारण पछाडि प¥यौं, रणनीतिकरुपमा दुविधा छैन, अहिलेको परिस्थितिमा कसरी जाँदा ठिक ठाउँमा जान्छौं, त्यसको विश्लेषण गरौँ,’ उनको आग्रह थियो ।

इतिहासको बखान गरेर मात्र रमाउन कम्युनिस्टहरू नहुनेमा उनको जोड छ । ‘कम्युनिस्टहरूले इतिहासको भजनकीर्तन गरेर बस्ने होइन, वर्तमानमा उभिएर भविष्य निर्माण गर्ने हो,’ उनले भने ।

यसभन्दा अगाडिसम्म कम्युनिस्टहरूले सिद्धान्तको आधारमा संगठन गर्ने तथा त्यो संगठन संर्घषको लागि हो भनेर भन्ने गरेकोमा अहिले त्यसमा शैली र मनोविज्ञान थप्नुपर्ने अवस्था आएको उनले बताए । कार्यशैली र व्यक्तिको मनोविज्ञानले समेत लक्ष्यलाई असर पु¥याउने गरेको अनुभव उनले सुनाए ।

पुष्पलाल जन्मशताब्दी समारोह समिति काठमाडौंको आयोजना तथा पुष्पलाल अध्ययन केन्द्र कास्कीको सहआयोजनामा भएको कार्यक्रममा कम्युनिस्ट आन्दोलनलगायत पुष्पलालको योगदान विषयमा वाम बुद्धिजिवी तथा लेखक रामराज रेग्मी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र रामबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेको कार्यपत्रमाथि दधिराज सुवेदी, गोपीरमण उपाध्याय, विश्वबन्धु भण्डारी टिप्पणी गरे ।

कार्यक्रममा पुष्पलाल अध्ययन केन्द्र कास्कीका उपाध्यक्ष सोमनाथ अधिकारी प्यासी, महासचिव भीम कार्की, नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज रामजी बराल जीवन, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपा नेतृ सावित्रा दुरा आस्था र डा. मनीष भट्टराईले समेत पुष्पलालको योगदानको बारेमा चर्चा गरेका थिए । पुष्पलाल जन्मशताब्दी समारोह २०८१ का संयोजक लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्यप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width